मुलुकका प्रमुख तीन राजनीतिक दल महाधिवेशनको तयारीमा छन् । नेकपा एमालेको महाधिवेशन यही मंसिर १०–१२ गते चितवनमा हुँदैछ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडा, क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछन् । एउटा राजनीतिक दल र त्यसका नेता कार्यकर्ताका लागि महाधिवेशन भनेको महान् पर्व हो । महाधिवेशनमार्फत् वैचारिक बहस गर्दै राजनीतिक कार्यनीति र कार्यदिशा पारित गरेर पार्टीलाई थप सुदृढ बनाउन बल पुग्दछ ।
प्रमुख राजनीतिक दलहरुको महाधिवेशनको अर्काे महत्वपूर्ण पाटो भनेको नयाँ नेतृत्व चयन हो । कुन नेतालाई कुन जिम्मेवारी सुम्पिने भन्ने टुंगो महाधिवेशनले लगाउने गर्दछ । एमाले र कांग्रेसका जिल्ला र क्षेत्रका अधिवेशन हुँदै गर्दा केही नयाँ बिम्ब देखिएका छन् । २०÷२१ वर्षका युवा समेत केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यसले राजनीतिमा युवाहरुको नेतृत्व गर्न सक्ने क्षमता र आकर्षण देखाउँदछ ।
नेपाली कांग्रेस र एमालेले विगतमा नयाँ नेतृत्वका लागि मतदानको अभ्यास गरेका छन् । तर नेकपा माओवादी केन्द्र भने पहिलो पटक त्यस्तो प्रक्रियामा सहभागी भएको छ । कतिपय वडा अधिवेशनहरुमा मतदान भएका समाचार सार्वजनिक भएका छन् । यसरी हेर्दा तीन मुख्य दल लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने अभ्यासमा लागेका छन् । तर केन्द्रमा भने नेतृत्व जाम छ । नयाँ र युवाले मुख्य पदमा नेतृत्व गर्न पाउने अवस्था देखिदैन ।
जेहोस् महाधिवेशन भनेको प्रतिनिधिको राजनीतिक अधिकारको उच्चतम प्रयोग गर्ने थलो हो । महाधिवेशनमार्फत् आफ्ना नेता छानेर देश र समाजको नेतृत्व गर्न पठाउने गरिन्छ । त्यसैले नेता छान्दा पहिला नेता छान्ने मानिस सचेत हुनुपर्दछ । मनभित्र स्वार्थी भावना बोकेर राम्रो नेता छान्न सकिंदैन । त्यसैले प्रतिनिधि पहिला व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नै पर्दछ ।
महाधिवेशन भनेको लोकतान्त्रिक अभ्यासको उच्चतम थलो हो । कुन नेतालाई कुन जिम्मेवारीमा ल्याउने भन्ने निर्णय यही थलोमा हुने गर्दछ । त्यसैले नेता छान्दा कम्तीमा तीन वटा गुणको ख्याल गरिनु पर्दछ । क्षमता, क्रियाशीलता र इमान्दारिता भएको नेता छान्न कार्यकर्ताको ध्यान जानु पर्दछ । किनकी राम्रो गर्न नसक्ने भन्दा नराम्रो गर्ने बढी खतरनाक हुन्छन् । क्षमता भएका, इमान्दार र क्रियाशील नेताले मात्रै समाज र राष्ट्रको अगुवाई गर्न सक्दछन् ।
तसर्थ मुख्य तीन दलका केन्द्रीय प्रतिनिधिले आफूले अधिकार पाएको समयमा गलत नेता छान्ने र असल पाखा लाग्नुपर्ने अवस्था आएमा समाज र राष्ट्र अगाडि बढ्न अप्ठ्यारो हुनेछ । समाज र राष्ट्रलाई अगाडि बढाउने भनेको राजनीतिले नै हो, नेताले नै हो । त्यसैले जुनसुकै दलका कार्यकर्ताले सीमित व्यक्तिगत समस्या समाधान गरिदिने सहयोगी नेता नभई समय क्रममा सबै नागरिकले अधिकारको समान उपभोग गर्न सक्ने प्रणालीको द्रष्टा र नेतृत्वकर्ता जन्माउन आवश्यक छ ।