बुटवल । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरिएको छ ।
देवदह नगरपलिका वडा नं. ८ विशालनगरकी ८२ वर्षीया उत्तिमा न्यौपाने विगत १० वर्षदेखि पेट दुख्ने समस्याबाट पीडित भई उपचारको लागि तिलोत्तमा –५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएकी थिइन् ।
उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा निकै ठुलो ट्युमर देखिएको र बढ्दो उमेर अवस्था हेर्दा तत्काल अप्रेशन गर्न कठिनाइ हुनसक्ने चिकित्सकहरूले बताएका थिए ।
परिवारका सदस्यहरूसंगको सल्लाह र अनुरोधमा अस्पतालका जनरल सर्जन डा. सुदिप सापकोटा, डा. ज्ञानप्रसाद पोख्रेल र डा. विनेश आनन्द शाक्यसहितको टोलीद्वारा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरी निकालिएको हो । उक्त अप्रेशन पश्चात् बिरामीको अवस्थामा निकै सुधार आइसकेको छ भने बिरामीका आफन्तजनहरूले खुसी प्रकट गरेका छन् । आमाको उपचार यहींको अस्पतालबाट सम्भव भएकोमा बिरामीका छोरा मोतिलाल न्यौपानेले उपचारमा संलग्न चिकित्सक कर्मीको टोलीलाई धन्यबाद दिए