कृष्ण पोखरेल
पाल्पा-बुटवल
प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका कांग्रेसमा देउवा पक्ष कमजोर देखिएको छ । साविक लुम्बिनी अञ्चलमा पौडेल पक्षले बलियो उपस्थिति जनाएको हो ।
रुपन्देही, नवलपरासी, पाल्पामा देउवा पक्षका प्रभावशाली नेताकै स्वकीय सचिवहरु पराजित भएका छन् । गृहमन्त्री वालकृष्ण खाँणको आफ्नै गृहजिल्लामा उनैका स्वकीय सचिव पराजित भए ।
कांग्रेसले प्रदेश संरचनापछि पहिलो पटक प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गरेको हो । रुपन्देहीको तीन प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षले चुनाव जितेका छन् । खाँणको निर्वाचन क्षेत्र नम्बर ३ हो । चार प्रदेश क्षेत्रमध्ये एउटामा विवाद भएको छ । क्षेत्र नम्बर २, ४ र ५ मा खाँण इतरको प्यानल बिजयी भएका छन् ।
पश्चिम नवलपरासी कांग्रेसमा देउवा इतर गुटको बर्चस्व देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले देउवा इतर गुट बलियो देखिएको हो । जिल्लामा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रका ४ प्रदेशसभा क्षेत्रमा भएको अधिवेशनमा देउवा गुटले १ क्षेत्र मात्र जितेको छ । अन्य सबैमा देउवा इतर गुटले बाजी मारेको छ । उनीहरु सबैले प्यानलै जितेका हुन् ।
जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् ।
मत परिणामअनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा देउवा इतरका सभापतिका उम्मेद्वार वेदप्रसाद शर्माले सुरज केसीलाई ७३ मत अन्तरले हराए । प्रदेश सभा ‘ख’ मा देउवा इतरका अनुरेश कलवारले अञ्जु चौधरीलाई १ सय ६ मत अन्तरले हराए । पराजित चौधरी प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष हुन् ।
त्यसैगरी निर्वाचन क्षेत्र २ ‘क’ मा देउवा इतरका सभापति पदका उम्मेद्वार यामप्रसाद भुषाल (दीपक) ले कृष्ण नारायण श्रेष्ठलाई १२ मतले हराए । प्रदेश सभा ‘ख’ मा देउवा गुटका सभापति उम्मेद्वार रामचन्द्र केवट (चन्दु) ले विनोद पाण्डेलाई १ सय ४३ मतले हराए ।
मत परिणामअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भने दुवै गुटले १÷१ वटा क्षेत्र जित्न सकिने देखिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा देउवा गुटले जित्ने देखिएको छ ।
जिल्लामा भने देउवा इतर गुट नै बलियो देखिएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतले उक्त गुट देउवा गुटभन्दा ४८ मतले अघि देखिएको छ ।
पाल्पामा देउवा निलजस्तै
प्रदेशसभा निर्वाचनमा पाल्पामा पौडेल पक्ष हावी भएको छ । पाल्पाका ४ प्रदेशसभामध्ये ३ वटा प्रदेश सभा निर्वाचनमा पौडेल पक्ष हाबी भएको छ भने देउवा पक्षले एक प्रतिनिधिमा समेत जित हासिल गर्न सकेन ।
प्रदेश १ ‘ख’ प्रदेश २ क, प्रदेश २ ख मा प्यानल बनाएरै निर्वाचन भएको थियो । प्रदेश एक ‘क’ मा भने सर्वसहमतीबाट नेतृत्व चयन भएकोले केही प्रतिनिधि मात्र हात पारेको छ अन्य ३ वटा निर्वाचन क्षेत्रमा पौडेल पक्षिय जिल्ला सभापति वीरबहादुर राना पक्षीय उम्मेद्वार प्यानलसहित विजयी भएका छन् ।
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेशसभा ‘क’ को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन् । उपसभापतिमा गोविन्दप्रसाद अर्याल र भिमबहादुर सिंह ठकुरी सचिवमा दानबहादुर हिस्की, भेषराज पोखरेल, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुला सदस्यहरुमा अम्बर गाहा र देवराज तिवारी, महिला सदस्यमा भगवती देवी खनाललाई निर्विरोध चयन भएका हुन् ।
नेपाली कांग्रेस प्रदेशसभा पाल्पा १ ख को महाधिवेशनबाट सभापतिमा युवराज पौडेल निर्वाचित भएका छन् । उपसभापति कृष्णबहादुर सारु, शेरबहादुर गहराज, सचिवमा डिल बहादुर ढेंगा निलकण्ठ देवकोटा, निर्विरोध चयन भएका छन् । सह–सचिवमा राजदिप सारु र रमेश पछाई निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्र नंं. २ क प्रदेशसभा सभापतिमा लक्ष्मीप्रसाद अधिकारी २६३ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्द्वीमा राधेश्याम ज्ञवालीले ९८ मत मात्र ल्याएका थिए । उपसभापतिमा जुद्ध वीर सोमरे र पेमा चिदी, सचिवमा प्रकाश पाण्डे र रमेश न्यौपाने, सह–सचिवमा मालती पौडेल र सीता भुसाल, निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नंं. २ ‘ख’ प्रदेशमा सभा सभापतीमा रुकमागत भट्टराई निर्वाचित भएका छन् । निर्वाचनमा विजयी भएका भट्टराईले २०३ मत र उनका प्रतिद्वन्द्वी दमबहादुर कार्कीले ११० मत ल्याएका थिए । यसै गरी उप सभापतिमा दानबहादुर गाँहा र शेरबहादुर दर्लामी, सचिवमा शंकर भण्डारी पदमलाल शाक्य र सह–सचिवमा सुभाष पल्ली र गीता कौशल निर्वाचित भएका छन् ।

गृहमन्त्रीका स्वकीय सचिव नै पराजित
कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री खाँणका स्वकीय सचिव नै प्रदेशको प्रतिनिधिमा पराजित भएका छन् ।
रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ क बाट लुम्बिनी प्रदेश प्रतिनिधिको रुपमा उम्मेद्वार बनेका गृहमन्त्रीका स्वकीय सचिव बिजेश न्यौपाने पराजित भएका हुन् ।
गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको ठानिने रुपन्देहीको बुटवल उप–महानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटिएको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसंगै खाँण समूहको प्यानल नै पराजित भएको छ ।
सोही निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेका लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन् ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि गठित निर्वाचन आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रबाट खड्कबहादुर महत नेतृत्वको पौडेल समूहको प्यानलका दुई जना बाहेकका सबै निर्वाचित भएका छन् ।
त्यसैगरी रुपन्देहीको क्षेत्र नं. २ ‘ख’ बाट समेत खाँण समूहमाथि पौडेल समूह हाबी भएको छ । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । उक्त निर्वाचन क्षेत्रमा ढकालले जित्दा खाँण निकट रामेश्वर श्रेष्ठ पराजित भए ।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ ’क’ बाट नविन राज आचार्यको समूह र क्षेत्र नं. १ ख बाट मदनप्रसाद पोखरेलको प्यानल नै विजयी भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहले जितेको छ ।
३ ‘ख’ मा पनि देउवा समूहका घनश्याम चालिसे नेतृत्वको प्यानलका उम्मेद्वारहरु सेट नै निर्वाचित भएको छ ।
यता प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ ‘क’ मा शिवकुमार यादव र ४ ‘ख’ मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ । उनीहरु दुवै संस्थापन इतरका हुन् ।
यता प्रदेशसभा निर्वाचन क्षेत्र नं ५ का ‘क’ र ‘ख’ का दुवै निर्वाचन क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेद्वारहरु विजयी भएका छन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ, भने ‘ख’ बाट यसअघि नै शाह निकट समूह निर्विरोध निर्वाचित भएको छ