१५ सय जनाभन्दा धेरै बिरामी, नियन्त्रणमा नआएपछि साढे दुई लाख मात्रा खोप लगाइँदै
लुम्बिनी संवाददाता
कपिलवस्तु
कोरोना महामारीले थलिएको कपिलवस्तु हैजाले थप प्रभावित भएको छ । महिना दिनयता फैलिएको झाडापखाला हैजा पुष्टि भएको थियो । त्यो हैजा अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा कैयौ नागरिक प्रभावित बनेका छन् ।
कोरोना भाइरस न्यून हुँदै गर्दा झाडापखाला देखा परेको थियो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।
अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिले पनि दैनिक १० जना भन्दा बढी उपचाररत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा छ ।
‘केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८–१० जना बिरामी आउने गरेका छन्’, शिवराज अस्पतालका डा मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ ।’ गाउँमा बान्ता र पखलाका बिरामी अहिले पनि रहेका छन । शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । साढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए । पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
खानेपानीमा दिसा मिसिएपछि झाडापखाला शुरु भएको थियो । कपिलवस्तुका पानीका मुहान असुरक्षित छन् । जमिनमा गाडिएका ट्युवेलको गहिराई निकै कम भएका कारण सतहकै पानी मिसिने गरेको छ । भारी वर्षापछि सतहमा जमेको पानीका जिवाणु ट्युवेलको पानीमा मिसिएपछि समस्या थपिएको हो ।
कपिलवस्तु लुम्बिनी प्रदेशकै कमजोर स्वास्थ्य सूचक भएको जिल्लामा पर्छ । हालै प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशन गरेको तथ्यांकमा प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु ११ औं) स्थानमा रहेको छ । रुकुम पूर्वपछि स्वास्थ्य जटिलतामा कपिलवस्तु देखिएको हो । अशिक्षा, गरिवी, पछौटेपन जस्ता समस्या कपिलवस्तुमा छन् । अनियमितता, भ्रष्टाचारले सरकारी बजेटले उपायोगिता दिन सकेको छैन । लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै गैरसरकारी संस्था क्रियाशिल रहेको कपिलवस्तु स्वास्थ्य र शिक्षामा कमजोर छ । यहा गैरसरकारी संस्थाहरुले झोलामा कार्यालय खडा गरेर नागरिकका नाममा लाखौं कुम्ल्याउने गरेको स्थानीय बुद्धिजीवी बताउँछन् ।
स्थानीय तथा प्रदेश सरकारले पनि योजनाबद्ध काम गर्न सकेका छैनन् । स्थानीय सरकारले सडक निर्माणमात्रै विकास ठान्दा सामाजिक चेतना झन कमजोर भएको हो । शिक्षा र स्वास्थ्य सचेतना पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव सरोकारवालाहरुको छ ।