“मलाई चित्रकला जादु जस्तो लाग्थ्यो । यसको कलेज हुन्छ भन्ने नै थाहा थिएन । थाहा पाउना साथ म भर्ना भए”

राम

सपना शाह सिर्जित भित्तेकला

प्रहरी तालिम केन्द्र बुटवलको परिसरमा बहुउद्देश्यीय हल निर्माण भएको छ । छिट्टै सञ्चालनमा आउन थालेको उक्त हलको सेतो भित्तामा ठूला–ठूला आकर्षक दुई चित्र देख्न सकिनेछ । एउटा चित्रमा परेवा, डाँफे, रानी महल, झोलुङ्गे पुल, हिमाल, नदी, जंगल र पहाडहरू देखिन्छ भने अर्को चित्रमा लुम्बिनी, सेतो स्तुप, बुद्ध, जाँदै भन्तेहरू आदि देख्न सकिन्छ । सेतो पृष्ठभूमिमा यी ठूला चित्रहरू निकै खुलेका छन् । चित्र सुन्दर छन् तर केवल सुन्दरमात्र छैनन् केही गम्भीर अर्थ बोकेका छन् । सबैभन्दा गम्भीर अर्थ प्रहरी परिसरभित्र परेवा र बुद्ध हुनु हो । उसो त प्रहरीलाई शान्ति र अमनचैन कायम गर्ने संस्थाको रूपमा स्वीकारिन्छ । तथापि प्रहरीसँग शस्त्र हुन्छ । शस्त्र हुने परिसरमा परेवा र बुद्ध हुनु के आफैमा गम्भीर छैन र ? के यसले महत्त्वपूर्ण सन्देश बोकेको छैन र ?

यी भित्ते चित्रहरूको सर्जक हुन् सपना शाह । शाह अहिले देशका विभिन्न प्रहरी परिसरमा यसरी नै भित्तै चित्रहरू बनाउँदै हिंडेकी छिन् । खासमा यो एउटा परियोजना अन्तर्गत हो । माओवादी द्वन्द्वका क्रममा आक्रमणमा परेका देशका विभिन्न प्रहरी चौकीमा युनओपीएसको सहयोगमा भौतिक निर्माणहरू भईरहेका छन् । ती नवनिर्मित भवनहरूका भित्ताहरूमा भित्ते चित्रहरू बनाइएका छन् । सपना अहिले यस्तै चित्र बनाउन व्यस्त छिन् । सुर्खेत, दैलेख, जाजरकोट, बाँके, बर्दिया, प्युठान र रूपन्देहीमा गरेर अहिलेसम्म उनले १३ वटा चित्रहरू बनाइसकेकी छन् । यी चित्रका विषयहरू फरक फरक छन् । उनलाई स्थानीय परिवेश, सम्बन्धित भूगोल, प्रदेश झल्काउने खालका बनाउन अनुरोध गरिएको थियो । तर, उनले यसमा विषय जोडेकी छन् । स्थानीय परिवेशहरू झल्काउँदै गर्दा शान्तिको सन्देश जोड्न छुटाएकी छैनन् । “मैले आफ्नो अवधारणा प्रस्तुत गरें उहाँहरू पनि खुसी हुनुभयो र स्वीकार्नु भयो । त्यसै अनुसार फरक फरक विषयका चित्रहरू बनाइरहेकी छु” चित्रको विविधताबारे सपनाले भनिन् । यी चित्रहरू उद्देश्यसँग गाँसिएका छन् ।

कलाकार सपना शाह

कतिपय ठाउँमा बेग्लै उद्देश्यका पनि छन् । जस्तो कि बर्दियाको एक प्रहरी चौकीमा १८ वर्षमुनिका बालबालिकालाई राख्ने कक्षको भित्तामा उनले अक्षरहरू राखेकि छन् । “त्यहाँको भित्ता विद्यालयको कक्षा जस्तो होस् भनेर अक्षर, अंक, शब्दको तस्वीर बनाएको छु । अक्षरहरूलाई शब्द र चित्र दुवैले सजाएको छु । कष्टडीको अनुभुति भन्दा पनि कक्षाको अनुभुति होस् भन्ने उद्देश्यले त्यस्तो बनाएको हो” उनले प्रष्ट पारिन् ।

सर्लाहीमा जन्मेकी सपनाले शुरुमा नर्सिङ पढिन् । साथै केही वर्ष नर्सिङ पेशा पनि अभ्यास गरिन् । नर्सिङ पढ्दा मानव शरीरको चित्रहरू बनाउने क्रममा उनलाई चित्रकलाप्रति अभिरुचि बढ्दै गयो । अनि उनले ललितकला क्याम्पसमा चित्रकला पढ्न थालिन् । शुरुमा उनलाई चित्रकलाको अध्ययन, अध्यापन हुन्छ भन्ने पनि थाहा रहेनछ । “मलाई चित्रकला जादु जस्तो लाग्थ्यो । यसको कलेज हुन्छ भन्ने नै थाहा थिएन । थाहा पाउना साथ म भर्ना भए” आफ्नो कलायात्राबारे उनले बताइन् । कहाँ नर्स कहाँ चित्रकला । तर, रुचि महत्त्वपूर्ण हुँदोरहेछ । घरपरिवारमा नभनिकन चित्रकलाको अध्ययन थालेकी सपनाले आफ्नो सपना पूरा गर्न घरपरिवारसँग संघर्ष गर्नुपर्‍यो । ३ वर्ष नर्सिङ पेशाको अनुभव त्यागेर सम्पूर्णरूपमा कलाको अध्ययनमा होमिनु सजिलो थिएन । त्यसको लागि घर त्यागेर काठमाडौं विश्वविद्यालयमा अध्ययन गरिन् । “मैले एक रूपैयाँ पनि घरबाट लिएन । स्केच गरेर, पेण्टिङ बेचेर पढें । पछिपछि त परिवारले पनि बुझ्न थाल्नुभयो अनि घर बोलाउनुभयो” आफ्नो संघर्षमय कथा भन्दै गर्दा उनको अनुहारमा सन्तोषको आभा झल्किन्थ्यो ।

अहिले सपना त्रिभुवन विश्वविद्यालयमा चित्रकला नै अध्यापन गर्छिन् । साथै फरक ढंंगले सबल केटाकेटीलाई मार्गदर्शन पनि गर्छिन् । त्यसको लागि उनी एउटा संस्थासँग जोडिएकी छन् । रोचक पक्ष, उनको यो प्रहरी चौकीका भित्तामा चित्र कोर्ने कला यात्रामा यस्तै फरक ढंगले सबल विद्यार्थीहरूले उनलाई साथ दिईरहेका छन् । कलायात्राको क्रममा पहाडी जिल्ला भ्रमण गर्दा तराईमा हुर्केकी शाहलाई सांस्कृतिक अन्तरक्रियाको आवश्यकता महसुस भएछ । शुक्रबार साँझ बुटवलका केही कलाप्रेमीसँग छलफल गर्दै गर्दा शाहले भनिन्— “धेरैभन्दा धेरै सांस्कृतिक अन्तरक्रियाको जरुरी छ ।”