लुम्बिनी संवाददाता
बुटवल
एमालेका जारी अधिवेशनले युवा नेतृत्वलाई प्रश्रय दिएको छ । एकताको सन्देश दिनेगरी भइरहेको अधिवेशनमा अधिकांश नेतृत्व सहमतिमा टुंगिएको छ । नेताहरूले लामो कसरत गरेर नेतृत्व टुंग्याएका छन् । रूपन्देहीका १६ पालिकामध्ये अधिकांशमा युवा अनुहार नेतृत्वमा आएको छ । २० वर्ष मुनिका युवाले वडामा नेतृत्व लिएका छन् ।
बुटवल उप–महानगरमा किसन ज्ञवाली अध्यक्ष भएका छन् । शोभाखर पोख्रेल उपाध्यक्ष चयन भएका छन् । ६ जना आकांक्षीमध्ये ज्ञवाली सहमतिमा अध्यक्ष चुनिएका हुन् ।
नेकपा एमाले देवदह नगरपालिकाको अध्यक्षमा टिकाराम चापागाईं चयन भएका छन् । मंगलबारदेखि सुरु भएको अधिवेशनले लामो छलफलपछि चापागाईंलाई अध्यक्ष बनाउने गरी सहमति गरेको हो । उनी स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । एमालेको आगामी मंसिरमा हुने १० औं महाधिवेशनका लागि देशव्यापी रूपमा भइरहेको पालिका अधिवेशनअन्तरगत देवदहमा उपाध्यक्षका लागि हिरा थापा चयन भएका छन् ।
लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटीको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । मंगलबारदेखि सुरु भएको अधिवेशनमा नेतृत्वका आंकक्षीहरू धेरै भएपछि बुधबार बिहानैदेखि आन्तरिक छलफलमा रहेको एमालेले सहमतिमै नेतृत्व टुङ्ग्याउन सफल भएको हो ।
उपाध्यक्षमा नेत्र वन, सचिवमा मीनप्रसाद पोखरेल तथा दुईवटा उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरूङ चयन भएको एमाले रूपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।
रूपन्देहीका १६ स्थानीय तहमध्ये बुधबार रातिसम्म १४ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १६ स्थानीय तहमध्ये सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बुटवल उप–महानगरपालिकामा अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । अध्यक्षका लागि ६ जना आकांक्षी रहेका थिए । त्यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चुनिएका छन् ।
सचिव र उप–सचिवमा भने अझै सहमति जुट्न नसकेको एमाले रूपन्देही सचिवालय सदस्य तेजेन्द्र केसीले बताए ।
त्यस्तै सैनामैना नगरपालिकामा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । त्यस्तै शुद्धोधन गाउँपालिका कमिटीमा विष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिए ।
गैडहवा र कञ्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिए । गैडहवामा भुवन रानाको अध्यक्षता र कञ्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिए ।
मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेको छैन । कतिपय पालिकामा सचिव र उपसचिवमा सहमति हुन सकेको छैन । सिद्धार्थनगरमा मतदान नै भएको छ ।