लुम्बिनी संवाददाता
बुटवल
नेकपा एमालेका उप–महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने दाबी गरेका छन् । तीनै तहको निर्वाचनमा एक बहुमत आउँदा मुलुक अस्थिरताको खेलमैदान हुनबाट जोगिने उनले बताए ।
अहिलेको पार्टी विभाजनले एमालेको हैसियत कमजोर नभएको दाबी गर्दै पौडेलले त्यसको पुष्टी निर्वाचनले गर्ने बताए । नेकपा एमाले तिलोत्तमा नगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अबको निर्वाचनमा एमाले विगतमा भन्दा गुणात्मक मतका साथ सबै तहमा जित हाँसिल गर्ने दाबी समेत गरे । ‘एमालेसँग अरू सबै दल मिलेर आउन वा एक्ला एक्लै लडुन । एमालेले एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्नेछ । त्यो लेखेर राखे हुन्छ ।’– पौडेलले दाबीका साथ भने ।
एमालेको शक्ति र जन संगठन देखेर सत्तारूढ गठबन्धन अत्तालिएको पौडेलले दाबी गरे । ‘विभाजनपछि पनि एमालेको शक्ति नघटेको सत्तारूढ दलका नेताहरूले समेत भन्न थालेका छन्,’ रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले भने– ‘एमाले कमजोर भएको छैन । एमालेलाई जित्न सकिँदैन भन्ने कुरा कांग्रेसका रामचन्द्र पौडेलले समेत भनिसकेका छन् । एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नैं अत्तालिएको छ ।’ एमाले विचार, संगठन र भूमिकामा सग्लो रहेको उनको भनाइ छ ।
गोदावरीमा भएको विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र बिर्सजनवादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ । उनले एमाले कमजोर भयो भनेर कसैले पत्याउनेवाला नरहेको बताए । एमालेबाट फुटेर गाएकाहरूलाई पानीको फोका जस्तै भएको बताए । ‘एमाले छाडेकाहरुलाई कसैले पत्याउनेवाला छैनन् । उनीहरू कांग्रेसको पुच्छर समातेर नदी तारिदिन्छ भन्ने ठानेका छन् । उनीहरू कसैले पत्याउनेवाला छैनन् ।’– पौडेलले भने । वडा र पालिका अधिवेशनले एमालेको फाउन्डेसन बलियो बनेको पौडेलले बताए ।
एमाले नगर अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।
रुपन्देही एमाले इञ्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे । त्यस्तै बुटवल उपमहानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गरेका हुन् ।
‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ,’ उनले भने–‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’ पार्टी कब्जा गर्ने र समाप्त गर्ने षड्यन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गरे । ‘एमाले विभाजित भएको छैन, एकताबद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ ।’– उनले भने ।