सर्वसम्मत बनाउने कसरत, नेताहरूलाई हम्मेहम्मे
लुम्बिनी संवाददाता
बुटवल
देशभरका करिव ६ हजार वडाअधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेलाई स्थानीय तहको नेतृत्व चयनमा भने कठिन भएको छ । आकांक्षीहरूको संख्या धेरै भएपछि सहमतिमा नेतृत्व चयन कठिन बनेको हो ।
रूपन्देहीका १६ स्थानीय तहमध्ये धेरैमा नेतृत्व चयन पेचिलो बनेको छ । पार्टीमा एकताको सन्देश दिनेगरी केन्द्रीय नेतृत्वले सर्वसम्मत अधिवेशन टुंग्याउन निर्देशन दिएको छ । वडामा सफल बनेको एमालेको स्थानीय तहको अधिवेशन मंगलबार हँुदैछ । रूपन्देहीमा एकाध स्थानीय तहबाहेक अन्य तहमा नेतृत्वका आकांक्षी धेरै देखिएका छन् । रूपन्देही एमालेका प्रभावशाली नेताहरू उप–महासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृह जिल्ला हो । एमालेको गढका रूपमा स्थापित हँुदै गरेको स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत जारी रहेको छ ।
उम्मेद्वारी दर्ता गरेपछि पनि सर्वसम्मतका लागि कसरत जारी रहने नेताहरूले जनाएका छन् । एमाले रूपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईंले सहमतिमै नेतृत्व चयन गर्न प्रयास भइरहेको बताए ।
रूपन्देहीमा बुटवल उप–महानगर र पाँच नगरहरूमा नेतृत्व चयन थप पेचिलो छ । १० गाउँपालिकाहरूमा आकांक्षीको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । बुटवल उप–महानगरपालिकामा अध्यक्ष पदका लागि ६ जना मैदानमा देखिएका छन् । वर्तमान नगर अध्यक्ष बाबुराम पन्थीले फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । यस्तै पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्षसमेत रहेका पार्टी उप–महासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव किसन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकाल पनि आकांक्षी रहेका छन् । पुरानो नेतृत्व दोहोराउनेभन्दा पनि नयाँलाई अवसर दिने रणनीति एमालेमा देखिएको छ । कतिपय आकांक्षीले जिल्ला सदस्यमा सुनिश्चित भए मैदान छाड्ने योजना समेत बनाएका छन् । आकांक्षीमध्ये पन्थी, ज्ञवाली र ढकाल बुटवल बहुमुखीको स्ववियुमा एकै पटक काम गरेका हस्ती हुन् ।
तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका चार जनाको आकांक्षा रहेको छ । हालका अध्यक्ष चापागार्इं जिल्ला सचिवालयमा छन् । उनले नयाँलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् । आगामी नेतृत्वका लागि मीनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्र श्री विश्वकर्मा, तामनाथ पाण्डेले लविङ गरिरहेका छन् ।
सैनामैना नगर कमिटी अध्यक्षका लागि बाहालवाला नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दाबी पेश गर्ने योजना बनाएका छन् ।
सिद्धार्थनगर नगर कमिटीको अध्यक्षका लागि ध्रुव अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले दाबी प्रस्तुत गरेका छन् । वर्तमान नगर अध्यक्ष रहेका चोपलाल आचार्य फेरि दोहोरिने मनस्थितिमा छैनन् ।
देवदह नगरपालिकामा नगर कमिटी अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । हालका अध्यक्ष प्रकाश अर्यालले फेरि दोहोरिन खोजेका छन् भने टीकाराम चापागार्इंले पनि दाबी प्रस्तुत गरेका छन् । उनी यसअघिको स्थानीय निर्वाचनमा नगर प्रमुखमा थोरै मतले पराजित भएका थिए । यस्तै विष्णु पौडेल र गुमानसिंह कुँवरले पनि देवदह नगर कमिटी अध्यक्ष बन्न लविङ गरिरहेका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा नगर अध्यक्षमा प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव, विनोद कहार अध्यक्ष पदका दावेदार छन् । वर्तमान अध्यक्ष रामचन्द्र यादवले नदोहोरिने साेंच बनाएपछि मैदान खाली भएको हो ।
कञ्चन गाउँपालिकामा वर्तमान अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको छ । अन्यले हालसम्म आकांक्षा देखाएका छैनन् । गैडहवा गाउँकमिटी अध्यक्षमा विद्यार्थी नेता सन्दिप गुप्तासँगै भुवन राना, नगेन्द्रप्रताप कुर्मी अध्यक्षका आकांक्षी देखिएका छन् ।