चतुर्भुज आत्रेय
बितेका वर्षहरुमा जस्तै यस पटक पनि हामीले दसैं मनायौं । पहिलो एक थरीले धुमधामसित मनाए । दोस्रो थरीले त्यति उमंगसित मनाउन नसके पनि यस राष्ट्रिय पर्वलाई उत्साहपूर्वक नै मनाए । तेस्रो दर्जाका नेपालीले दुःखम्–सुखम् गरेर भए पनि दसैंको रहर पूरा गरे । चौथो दर्जामा रहेका विपन्न नेपालीलाई दसैं मनाउन साह्रै कठिन भयो । अति विपन्नहरुलाई त टीका लगाउन चामलको अक्षता समेत जोहो गर्न धौ–धौ प¥यो । तै पनि दसैं मनाए । हुने खानेहरुले पञ्चवली चढाए अनि प्रसाद स्वरुपको मासुसित थरिथरिका पेय पक्वान्न खाद्यवस्तुहरुमा रमाए । हुँदाखानेहरु एकाधकिलो मासु ल्याएर त्यसैको झोलमा रमाए ! यसरी आ–आफ्ना गच्छेअनुसार कसैले विधिपूर्वक दुर्गा भवानीको पूजार्चना र आराधना गरे भने गरिब नेपालीले रित्तो हातले आराधना गरेर भए पनि दुर्गा भवानीप्रति श्रद्धार्पण गरेर गच्छेअनुसारका प्रसाद खाएर राष्ट्रिय सांस्कृतिक एवं धार्मिक पर्व मनाए ।
अल्पसंख्यक धनी मानी साहु महाजनको कुरा छाडौं तर बहुसंख्यक गरिब नेपालीलाई दसैं मनाउन कति गम्भीर आर्थिक कठिनाइको सामना गर्नुप¥यो भन्ने कुरा कि त भोग्नेलाई थाहा छ कि भावुक मनका संवेदनशील नेपालीलाई थाहा छ । सरकारलाई थाहा छैन । सांसदहरुलाई थाहा छैन । नेता, मन्त्री, शासक, प्रशासक, साहु–महाजनका व्यपारी कसैलाई थाहा छैन । थाहा छैन भने हुनेखानेले हुँदा खानेप्रति संवेदनशील बनेर उनका पीर मर्का र स्थितिसित जानकर हुने संस्कार लोप भएको छ, त्यसैले थाहा छैन । हामीले हाम्रो सामथ्र्य र समृद्धिको स्रोतलाई बुझ्न सकेनौं । बुझेर पनि ती रत्नगर्भा पृथ्वीका अपरिचित साधन र अपार स्रोतहरुलाई परिचालन गर्नमा ध्यानै दिएनौ । यो हामी नेपालीको बेवकुफी पन हो । ‘पन’ मात्र होइन पनको पराकाष्ठा हो । त्यसैकारणले हमी बहुसंख्यक नेपाली गरिब भएका हौैं । त्यही गरिबीको कारणले चाडपर्वहरु नआइदिए बरु जाति हुन्थ्यो भन्ने अभिभावकहरुको संख्या ठूलो छ– हेरी ल्याउँदा । यहाँसम्म दसैंका कुरा गरियो अब दशा र दुर्दशाको कुरा गरौं –
दसैंको मुखमा देशका विभिन्न ठाउँमा सवारी साधनहरु दुर्घटना भए । दुर्घटनामा धेरैको अकाल मृत्यु भयो । धेरैको अंगभंग भयो । ज्यान गुमाउनेले परिवारजनलाई शोकमा डुबाएर दिवंगत भए । ती शोकाकूल परिवारमा दसैं ‘दशा’ बनेर आयो । अनि दशालाई यथावतै राखी आफू बिदा भयो । त्यस्तै दुर्घटनाबाट अंगभंग भई अनिश्चित भविष्य बोकेर अस्पतालका शैयामा दुखाइको मार सहदै पीडादायी जीवन बाँचिरहेका घाइतेहरु र उनका परिवारजनमा आएको खल्लो पनालाई पनि यस पटकको दसैं दशाकै रुपमा चरितार्थ भएको मान्न सकिन्छ । त्यसैले दसैं कसैको लागि उमंग र कसैको लागि निराश बनेर बिदा भयो ।
जनप्रतिनिधि कि नरपशु ?
दसैंको मेसोमा बुटवलबाट गुल्मी मुसीकोट नगरपालिकातर्फ जाँदै गरेको जीप तम्घासमा दुर्घटना भई पल्टिदा केहीको ज्यान गयो भने केही सख्त घाइते भए । जीपमा सवार सुमित्रा सुनार र संगीता सुनार आमा छोरीमध्ये छोरी १९ वर्षीया संगीताको मृत्यु भएको र सख्त घाइते सुमित्रालाई लुम्बिनी मेडिकल कलेज पाल्पामा भर्ना गरिएको खबरले शोकमग्न भएका मुसीकोटबासीहरु धेरै संख्यामा घाइते र मृतकको घरमा आई शोकाकूल परिवारलाई सान्त्वना र समवेदना प्रकट गरेका तर आफूले भोट दिएर जिताएका पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायतका कुनै पनि ‘जनप्रतिनिधि’हरु घटनाको आठ दिन बितिसक्दा पनि सान्त्वना दिन नआएको र समवेदना स्वरुप एक कल फोन पनि नगरेकोमा आफूलाई दुःख लागेको छ भन्ने गुनासो पीडित परिवारको छ भन्ने समाचार सूत्रहरुको प्रतिक्रियाले देशको वर्तमान अवस्थामा जिम्मेवारीको पदमा आसिन भएका मूढमतीहरुको नालायकीपन कतिसम्म घटियास्तरमा गिरेको छ भन्ने बोध गराउँछ । केन्द्र र प्रदेश तहमा मात्र नभएर स्थानीय तहमा समेत सामाजिक सम्बन्ध र मानवीय भावनाका आधारहरु यसरी खुम्चिदै जाने हो भने हाम्रो सामाजिक धरातल खस्किदै–खस्किदै भताभुङ्ग भएपछि त्यसलाई समेल्न लर्तरो प्रयासले सम्भव हुँदैन । जनजीवनका सामाजिक सम्बन्धहरुलाई कँसिलो बनाउनले माध्यमहरु जनजीवनका सामाजिक व्यवहार अनि सामाजिक अन्तक्र्रिया हुन् ।
पहिले–पहिले गाउँघरमा बेलुकाको खानपिन सकिएपछि वल्लोघर पल्लोघरका मानिसहरु कहिले कुन छिमेकीको कहिले कुन छिमेकीको घरमा जम्मा भई यताउताका कुरा, देशविदेशका घटना, गाउँटोल र छरछिमेकका दुःखम्–सुखम्का कुरा गर्थे, गाउँका समस्या र समाधानका विषयमा आ–आफ्ना विचार र धारणाहरु आदानप्रदान गरिन्थे । तर्कवितर्क हुन्थ्यो । कुनै छिमेकीको घरमा आजापूजा, विवाह, ब्रतबन्ध, भात खुवाई, न्वारन, भजनकिर्तन हुँदैछ भने महिलाहरु चुल्हो, चौको, जुठोभाँडो सकेपछि त्यस घरमा जम्मा हुन्थे र दुनाटपरी बौता खोंचा खुट्दै, भुटुनाका कण्टेराबाट सिन्का चिर्दै आ–आफ्ना स्तर र किसिमका अन्तक्र्रियाहरु गरिरहँदा त्यसले हाम्रो समाजको अनादिकालदेखिको सीप, कला, सिर्जना, सभ्यता र संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आएको थियो । किरियापुत्रीहरुको घरमा रातिसम्म बस्ने र पालैपालो कहिले को कहिले को गरी एक जना कुरुवाले रातभरि साथ दिने प्रचलन थियो । अहिले यो प्रथा पनि दुब्लाउन थालेको छ । कतै कतै त हराइसकेको छ । समाजका सबै कुराहरुलाई राम्रोसँग जगेर्ना गर्ने र समस्याहरुका हरेक अप्ठेरापनलाई सही निकास दिने निकाय राजनीति हो । तर देशको राजनीति कचिंगल र किचलोको भूमरीमा गड्दै निस्कदै फेरि गुड्दै फेरि निस्कदै यति कुरामा मात्र सीमित छ । आफू आफ्नो झोलेझाम्टे, आफ्नो दल र आफ्ना नातापाता बाहेक देश, जनता, मतदाता, समाज एवं उनीप्रति आफ्नो दायित्व के हुने भन्ने चेतना नै गुमाएकाहरुले गर्ने व्यवहार यस्तै हो । त्यसैले केन्द्र र प्रदेशस्तरको नेतृत्ववृत्तमा चुलिएको जनता र मतदाताप्रति अनास्थाको विम्ब स्थानीयस्तरमा पनि यसरी देख्न सकिन्छ । गुल्मी मुसीकोटको घटना त एउटा प्रतिनिधि घटना हो । यस्ता दुःखदायी घटना देशका धेरै ठाउँमा घटे र पीडित जनमाथि समवेदना र सहानुभूतिमा छुट्याइँका व्यवहार पनि यस्तै वा सर्वत्र यस्तै यस्तै रहे । यसको कारण के हो त ? यसको कारण हो कहिल्यै पनि समाधान नहुने राजनीतिक खिचलो र त्यसले सबै क्षेत्रमा पारेको फोहरको पाश्र्व प्रभाव ।
वर्षा, मानवीय क्षति र अन्नबालीको विनास
दसैंकै बेला देशव्यापी रुपमा भएको असमयको वर्षाले देशैभरि त्राहिमाम् मच्यायो । प्रदेशका विभिन्न पहाडी जिल्लामा पहिरो र नदी किनारका बस्तीहरुमा बाढीले सयौंका घरगोठ, चौपाया, मानिसहरु बगाएर बेपत्ता पा¥यो । बझाङ जिल्लामा एकै परिवारका २३ जना पहिरोमा पुरिएर बेपत्ता भएका मानिसहरुका पुरै लास निकाल्न अझै सकिएको छैन । कात्तिक १ देखि देशैभरि ३ दिनसम्म लगातार भएको वर्षाले ल्याएको बाढी र पहिरोको चपेटामा परी १ सयभन्दा बढी मानिसहरुको मृत्यु, सो भन्दा बढी घाइते र बेपत्ता भएका छन् भने हजारौं घरगोठहरु पहिरोमा पुरिंदा र बाढीले बगाउँदा विस्थापितहरुको अवस्था कोलाहलमय बनेको छ । विभिन्न सञ्चार माध्यमहरुले पस्केका स्थलगत रिपोर्टका विवरणहरुले यस्तै हृदयविदारक प्रतिक्रिया सिर्र्जना गरेका छन् । अधिराज्यका धेरै जसो जिल्लाहरुमा ३ दिनसम्मको लगातार वर्षा र पहिरो तथा बाढीले ल्याएको विनास तथा क्षतिको जुन विवरण हामीसामु छ त्यसले सबभन्दा पहिलो भयावह उदाहरण के प्रस्तुत गर्दछ भने नेपाल अधिराज्यका अन्नका केन्द्र मानिएका प्रायः सबै ठाउँमा बाढीले बाली मात्र बगाएको होइन कि मानिसका बसोबास तथा खानपिनका आधारसमेत खोसिदिएको छ ।
लुम्बिनी प्रदेशमा मात्रै तराईमा ३६ हजार हेक्टरको धानबाली नोक्सान भएको विवरण आएको छ भने उच्च पहाडी क्षेत्रमा भाँच्ने बेलामा मकै पानीसँगैको हावाहुरीले ढलाइदिंदा पोस्करसितका घुँगाहरु कुहिएर र टुँसाएर खानलायक छैनन् भन्ने स्रोतहरुको प्रतिक्रिया छ । यसैगरी सुदूरपश्चिमका कर्णाली र पूर्वका मेची, कोशी, सगरमाथा, जनकपुरका समस्त उब्जाउ क्षेत्रका धानबाली पनि बाढीले बगाएर विनष्ट पारिदिएको छ भने त्यही बाढीसित सँगसँगै आउने पाश्र्व प्रभाव पानीमा रुझेर चिसोले कठ्ठांग्रिएका बालबालिका तथा वृद्धवृद्धा एवं दीर्घरोगीहरुमा रुघाखोकी, निमोनिया, दमलगायत नाना भाँतिका संक्रामक रोगहरुको सिकार समेत बन्ने अनुमान यसै पनि लगाउन सकिन्छ । त्यसैले यस्तो दुःखग्रस्थ अवस्थामा पुगेका जनतालाई अन्न, बस्त्र, बास र औषधिको समेत समयमै बन्दोबस्त गरी सरकारले जनताको दुःखमा आफ्नो उपस्थिति जनाउनु पर्दछ ।
साथै अन्य विभिन्न व्यक्ति, समूह, समुदाय र सामाजिक संघसंस्थाहरुले पनि मुठ्ठी खोलेर दान गरी मान्छे भित्रको मानवता देखाउनु जरुरी छ ।