नेपालमा दैनिक रुपमा दुर्घटना हुने गरेका छन् । देशका विभिन्न भेगका दैनिक रुपमा बढ्दै गएको दुर्घटनाले मानवीय क्षतिका साथै आर्थिक रुपमा समेत ठूलो क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले राजमार्गमा दैनिक रुपमा सुरक्षा चेकजाँच गरिरहे पनि दुर्घटनामा कमी हुनुको साटो बढ्दै गएको छ । प्रहरीले सवारी चालक, सहयोगी र यात्रुहरुका लागि बेला–बेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हुन्छ । छड्के चेकजाँच गरेको हुन्छ तर पनि दुर्घटनामा कमी आएको छैन ।
दैनिक रुपमा भइरहेका दुर्घटनाले भयानक रुप लिइरहेको छ । राजमार्गमा असीमित गति र लापरबाहीका कारण नै बढी दुर्घटना भएका देखिन्छन् । सार्वजनिक बसलगायतका सवारीमा बढी यात्रुको चाप, ओभरटेक र कतिपय अवस्थामा चालक निदाउने समस्याका कारण दुर्घटना बढेका छन् । चाडपर्वका बेलामा बसहरुमा क्षमताभन्दा अत्यधिक धेरै यात्रुलाई बसभित्र कोचिन्छ । प्रहरीले कुनै वास्ता गरेको हुन्न । किनकि त्यहाँ लिनदेनको विषय जोडिन्छ । ओभरलोडकै कारण चाडपर्वको वरिपरि दुर्घटना हुन्छन् ।
खासगरी ग्रामीण क्षेत्रमा दुर्घटना भयानक हुने गर्दछ । ग्रामीण क्षेत्रमा सवारी साधन सीमित चल्ने गर्दछन् । तर यात्रुहरु क्षमताभन्दा धेरै हुने गर्दछन् । सवारी साधन सीमित हुने भएकाले यात्रुलाई भीडमा कोचिएर जानुको विकल्प हुँदैन । यसरी कोचिएर जाने सवारी साधनको मर्मत र चेकजाँच समयमा भएको हुँदैन । अझै चाडपर्वको बेलामा पैसा कमाउने ध्याउन्नमा मर्मत गर्न ध्यान दिँदैनन् । हेलचेत्र्mयाई गर्दछन् । यही कारण चाडपर्वको बेलामा दुर्घटना बढी हुने गरेको छ । हरेक वर्ष यो क्रम दोहोरिएको छ ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्यांक भेटिन्छ । यसमा चालकको लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको छ । अत्यधिक गति र अन्य सवारी साधनको बेवास्ताका कारण बढी क्षति भएको देखिन्छ । तर दुर्घटना बढी भए पनि यसमा हुने मृत्युदर भने कम छ । किनकि ठूला सवारी साधन दुर्घटना हुँदा क्षति पनि ठूलो हुने गरेको छ । त्यसमा पनि प्रमुख राजमार्गहरुमा भन्दा पहाडका साना सडक र ग्रामीण कच्ची सडकहरुमा दुर्घटना बढी भइरहेको छ । यात्रुबाहक बस र जीप दुर्घटना हुँदा मानवीय क्षति बढी हुने गरेको छ ।
सडकमा नियमसंगत रुपमा सवारी चलाउनेहरु समेत अन्य चालकहरुको असावधानीका कारण दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । एक जनाले सही ढंगले सवारी चलाएर मात्रै दुर्घटनाबाट बच्ने अवस्था छैन । अर्काेको लापरबाहीले नियम कानूनसंगत सवारी सञ्चालन गर्नेहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । पहाडी क्षेत्रमा जति पनि दुर्घटना भएका छन्, ती सडक वर्षौंदेखि सुधार भएका छैनन् । सवारी साधन थपिदै जाने तर सडकमा सुधार नहुँदा दुर्घटना बढ्दो छ ।
सडक सुरक्षाका लागि शहरी व्यस्त सडकमा ट्राफिक बत्तीहरु र देशका सबै सडकमा ट्राफिक संकेत रेखा तथा चिन्हहरु हुनुपर्ने हो । तर मुख्य राजमार्गहरुमा समेत पर्याप्त सुरक्षा संकेत चिन्हहरु राखेको पाइदैन । पहाडी सडकमा त झन छैन । सडक सुरक्षामा बेवास्ता गरिएका कारण पनि दुर्घटना बढिरहेका छन् । नेपालमा धेरै कर उठ्ने मध्ये सवारी कर पनि अग्रस्थानमा आउँछ । तर राजमार्ग टालटुल गरेर बजेट खर्च गर्ने सरकारले ग्रामीण क्षेत्रमा सडकको ट्रयाक खोल्ने बाहेक सडक सुधार्न ध्यान दिएको देखिंदैन । कम्तीमा उठाएको सवारी कर सडक मर्मत र निर्माणमा लगाउने हो भने दुर्घटनामा कमी आउने थियो । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।