पश्चिम नवलपरासीमा ६ करोडभन्दा बढी उधारो उठ्न बाँकी
गौरीशंकर जयसवाल

परासी
पश्चिम नवलपरासीका होटल व्यवसायीहरु उधारोमा मारमा परेका छन् । लामो समय कोरोना कहरका कारण थलिएको होटल व्यवसाय क्षेत्र पछिल्ला केही महिना यता विस्तारै लयमा फर्किने क्रममा रहे पनि उधारो रकम उठाउन व्यवसायीले सास्ती बेहोरोका छन् ।
कोरोना कहरका कारण जारी लकडाउनकै कारण कतिपय व्यवसायीहरुले व्यवसायबाट सदाका लागि हात धुनुपरेको छ भने कतिपयले जेनतेन व्यवसायलाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन् ।
पश्चिम नवलपरासीका होटल व्यवसायीहरु पनि विस्तारै केही राहातको सास फेर्दै छन् । जिल्लामा झण्डै ६ सयको हाराहारीमा साना ठुला होटल तथा रेष्टुरेण्ट सञ्चालनमा रहेको होटल तथा रेष्टुरेण्ट संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आँकलन रहेको छ । जसमध्ये ३ सय ८० वटा होटल तथा रेष्टुरेण्ट संघमा आबद्ध रहेका छन् भने २ सय २० को हाराहारीमा रहेका होटल तथा रेष्टुरेण्ट संघमा आबद्ध भएका छैनन् ।
कोरोना कहरका कारण जति असर परेको छ त्यसको कयौं गुना बढी उधारोको मारमा होटल तथा रेष्टुरेण्टहरु परेको संघका जिल्ला अध्यक्ष ध्रुव भण्डारीले बताए । संघमा आबद्ध ३ सय ८० होटल तथा रेष्टुरेण्ट मध्येबाट हालसम्म ६ करोडभन्दा बढी उधारो रकम उठ्न बाँकी रहेको पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको छ ।
बर्दघाटमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमले पत्रकार सम्मेलन आयोजना गरी आफूहरु कोरोनाका कारणभन्दा बढी उधारोका कारण पीडित भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ध्रुव भण्डारीले होटल तथा रेष्टुरेण्ट व्यवसाय पहिला सेवा दिने र पछि भुक्तानी लिने व्यवसाय भएका कारण कतिपय व्यक्तिहरु पहिला खाने र पछि पैसा नतिर्ने गरेका कारण जिल्ला भरका होटल व्यवसायीको पाउनुपर्ने उधारो रकम जोड्दा ६ करोडभन्दा बढी पुगेको बताए । भण्डारीले यो रकम विगत ५ वर्ष देखिको भएको समेत बताए । उनले व्यवसायीहरुले राज्यलाई कर बुझाउने गरेको तर व्यवसायिक सुरक्षाका लागि राज्यको तर्फबाट ठोस पहल हुन नसकेको दुखेसो समेत पोखे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघको पहिलो प्राथमिकता उधारो रकम उठाउनका लागि पहल गर्ने रहेको संघका जिल्ला सह–सचिव जितेन्द्र श्रेष्ठले बताए । पहिलो चरणमा उधारो बाँकी रहेका व्यक्तिहरुलाई यथासिघ्र भुक्तानी गर्नका लागि आग्रह गरिने र भुक्तानी गर्न अटेरी गर्ने व्यक्तिहरुको नाम ठेगाना जिल्ला संघमार्फत सार्वजनिक गरिने श्रेष्ठको भनाइ छ । आवश्यक परे प्रशासनको समन्वयमा अगाडि बढिने उनले बताए ।
हालसम्म उधारो रहेको रकम व्यक्तिगत रुपमा मात्र रहेको र संघ संस्था र सरकारी निकायको भने त्यस्तो कुनै उधारो नरहेको जिल्ला संघले जनाएको छ । उधारोकै कारण झण्डै २० देखि २५ जना व्यवसायी होटल तथा रेष्टुरेण्ट व्यवसाय क्षेत्रबाट पलायन भएको संघले जनाएको छ ।
जिल्लामा ७ वटा पालिकामा सबैभन्दा बढी होटल व्यवसाय बर्दघाट नगरपालिकामा रहेको छ । बर्दघाट नगरपालिकामा १ सय १२, सुनवल नगरपालिकामा ७१, रामग्राम नगरपालिकामा ५१, सरावल गाउँपालिकामा २३, पाल्हीनन्दन गाउँपालिकामा ३९, सुस्तामा ५४ र प्रतापपुर गाउँपालिकामा ३० संघमा आबद्ध रहेका छन् ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि अन्तिम तयारी भैरहँदा त्यसलाई मध्यनजर गरेर पश्चिम नवलपरासीमा पनि ठुलो लगानीका सुविधा सम्पन्न होटलहरु निर्माण हुन थालेका छन् । जिल्लामा होटल व्यवसायमा जति लगानी भैरहेको छ त्यसअनुसार व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् ।