विन बहादुर कुंवर
दसैँको रमझम सकिएको छ । फेरि दीपावली तिहारको रमझम आउँदै छ । गतसाल कोरोना भाइरसको महामारीले गर्दा हिन्दू धर्मावलम्बी नेपाली जनताहरुले यी सबै चाडपर्वहरुमा त्यस्तो रमझम र उत्सव मनाउन पाएनन् । तर यसपटक भने कोरोना भाइरसको केही कमीले गर्दा यस्तो उत्सव अलि बढी मनाइएको छ । तर दुःखको कुरा यही पर्वकै लागि आफ्नो घरपरिवारमा आवतजावत गर्ने केही नागरिकहरूको गाडी दुर्घटनाका कारण मृत्यु भएको छ । लामो समयदेखि यातायातका साधनहरु सञ्चालन गर्न नपाएका मालिक तथा चालकहरुलाई त यसले केही राहत पुराएको छ । तर यही मौका छोपी अत्याधिक क्षमताभन्दा बढी यात्रु बोकी हिँड्ने गर्दा धेरै ठाउँमा गाडी दुर्घटना भएको छ । न यसप्रति सरकार नै सचेत छ न यातायात मालिक र चालकहरु नै । खाली मौकामा चौका मर्ने दाउमा छन् । यी सबै । यसको अनुगमन गर्ने प्रमुख निकाय सरकारको स्थानीय प्रशासन हो । तर उनीहरूको बेवास्ताले गर्दा सडकमा बसेका ट्राफिक प्रहरीहरुलाई केही रकम बुझाए यहाँ जे गर्दापनि छुट हुने गरेको छ । यही गाडी मालिक चालक र स्थानीय प्रशासनको बदमासी र लापरबाहीले गर्दा सबैभन्दा बढी दुर्घटना हुने र थुप्रै नागरिकहरूको हताहत हुने गरेको छ ।
सडक दुर्घटनाको अर्को कारण जथाभावी सडक निर्माण र विस्तार पनि भएको छ । अहिले गाउँमा सडक विस्तारको होडबाजी नै चलेको छ । केन्द्र प्रदेश र स्थानीय निकाय सबैले राज्यको ठूलो बजेट यसैमा लगानी गर्दै आएका छन् । गाउँ गाउँमा सडक विस्तार हुनु हो र यातायातको सुविधा हुनु राम्रो कुरा हो । तर सडक विस्तारको नाममा जथाभावी सडक विस्तार गर्दै जानु तर त्यसको कुनै खास प्रबन्ध नपु¥याई एकाएक फेरि गाडी सञ्चालनमा तछाडमछाड गरिनु पनि दुर्घटनाको अर्को कारण भएको छ । सडक निर्माण र विस्तार प्राविधिक कुरा हो । यसमा लापरबाही र व्यवस्था नगरी जथाभावी सडक निर्माण गर्दा न त्यहाँ भू–बनोटको नै अध्ययन हुन्छ, न कुनै प्राविधिक तयारी र निरक्षण नै खाली केही नेता र स्थानीय जनताको तजविजमा हुने त्यस्ता सडकहरुको कारण पनि दुर्घटना हुने गरेका छन् । यसपटक अलि बढी वर्ष भएको र बाढी पहिरोको कारण पहाडी क्षेत्रमा त्यस्ता थुप्रै सडकहरु पहिरोले पुरिएका र भत्किएका छन् । ती सडकहरुलाई सम्बन्धित सरकारी निकायले तुरुन्त निर्माण गरे सञ्चालन गराउनुपर्नेमा यसमा बेवास्ताका कारण गाडी सञ्चालकहरूले आफ्नो ढंगले जसरी हुन्छ गाडी चलाइ आर्थिक फाइदाका कारण पनि यस्ता दुःखद दुर्घटनाहरु भइरहेका छन् । यस प्रति न केन्द्रीय सरकार, न प्रान्तीय र स्थानीय सरकार नै सचेत छ । खाली गाडी मालिक र चालकहरुकै मन लागि कै कारण यस्ता धेरै दुर्घटनाहरु हुने गरेका छन् । हुन त यसमा स्वयम् यात्रुहरु पनि सचेत हुनुपर्ने हो । तर विवशता र बाध्यता उनीहरुमा छ । त्यस्तै गाडी भाडामा पनि आ–आफ्नै मन लागि छ । न कसैको यसमा अनुगमन नै छ ।
एकातिर यो चाडपर्वको बेलामा अत्याधिक सडक दुर्घटनामा थुप्रै मानिसहरुको मृत्यु भइरहेको छ भने अर्कोतिर यही समयमा अत्याधिक वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानले मानिसहरुको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । जताततै आपतविपत छ । भर्खर थन्काउने बेलामा खेत डुबानले गर्दा धान बालीहरु सकाप भएका छन् । अर्बौ बराबरको खेतीबाली नोक्सान भएको छ । उद्धार कतै कतैबाट पनि भए रहेको छैन । खाली सबै भगवान भरोसामा बाँच्न परिरहेको छ । यस्तो बेलामा सरकारका मन्त्रीहरुलाई आ–आफ्नै घरपरिवार इष्टमित्र सितको रमझम र भेटघाट भ्याई नभ्याई छ । स्वागत अबिर जात्रा माला लगाउनमा नै मख्ख छन् । त्यस्तै दल नेता र कार्यकर्ताहरूको पनि छ । तर अहिले जब प¥यो राति तब बुढी ताती भने जस्तै संघीय सरकारले यसमा केही राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तो वर्षा हुने सम्भावना केही दिन पहिलेदेखि नै धेरै मौसमविदहरुले यसको जानकारी गराएका थिए । त्यतिबेला नै यस प्रति ध्यान पु¥याउन सकेको भए यति धेरै क्षति हुँदैनथ्यो होला ।
करिब तीन महिनापछि मात्र यो सरकारले पूर्णता पाएको छ । यसमा प्रायःजसो सबै नयाँ अनुहारका छन् । कसैको आशिर्वाद धन पैसाको बलमा भएका यी सबै मन्त्रीहरुमा न कुनै कानुनी, प्रशासनिक र व्यवस्थापकीय दक्षता नै छ न कुनै व्यवहारिक अनुभव नै । खाली नाम र थापनाकालागि मात्र भएका यस्ता मन्त्रीहरुबाट जनताले के आशा गर्ने ? राहत दिने भने पनि समयमा नै पाउने स्थिति छैन । औषधि उपचार गर्ने भनेपनि घाइते बिरामी मरी सकेपछि मात्र त्यहाँ डाक्टर औषधि पुग्दछ । प्रधानमन्त्री शेरबहादुर देउवा यसैका लागि पश्चिम नेपालको भर्मणमा गए पनि त्यहाँका पीडित जनताले केही उद्धार र राहत पाउन सकेनन् । खाली आफ्नै पार्टी नेता र कार्यकर्ताहरु सित मात्र भेटघाट गरी फर्केको दुःखेसो त्यहाँका आम पीडित जनताको छ । हुनत यो सरकारका सबै यी मन्त्रीहरु खाली आफ्नै नाम, पद र कमाइका लागि मात्र भएका छन् । मन्त्री भए पनि आज हो कि भोली बर्खास्तीमा पर्ने हो कुनै ठेगाना छैन । एकजना मन्त्री प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाल त खाली तीन दिनका लागि मात्र मन्त्रि भइ बाहिरिए । यस्तो अवस्थामा जति दिन मन्त्री भनिन्छ त्यतिबेला गर्ने भनेको यही नाम, पद र कमाइ नै हो । पहिलेको चुनावी खर्च र अब हुने चुनावी खर्च अशुल उपर गर्ने बेला पनि यही हो । यो सामान्ती र नोकरशाही बुर्जुवा राज्यव्यवस्थाको मूल उपज नै यही हो ।