नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । कोरोना कारण गतवर्ष खुलेर दसैं मनाउन नपाएकाहरु यसपालि दसैं मनाउन पहाड जानेको लर्काे छ । कोरोना महामारीको प्रवाह नगरी मानिसहरु बजारमा किनमेल गर्ने गरेका छन् । कोरोना संक्रमण दर कम हुनु र कोरोनाविरुद्धको खोप कतिपयले लगाएका कारण भीड बढेको हो । दसैंको चहलपहल बढेसँगै बजारमा किनमेल गर्नेको भीड लाग्न थालेको छ । गतवर्ष दसैंका बेला लकडाउन थियो । कसैमा उत्साह थिएन । मान्छेहरु घरभित्रै थुनिए । मान्यजनबाट टीका र जमरा थाप्न पनि डराउनु पर्ने अवस्था थियो ।
तर अहिले देसैं भित्रिएसँगै बजारमा कोरोना संक्रमण नभएको अवस्था जस्तै छ । बजार कोरोना महामारी अघिको अवस्थामा छ । यस्तो अवस्था हुनुको मुख्य कुरा कोरोनाविरुद्धको खोपले हो । जोखिममा रहेका धेरै खोप लगाएका छन् । उनीहरुलाई संक्रमित भइहाले पनि मरिदैन भन्ने साहस पैदा भएको छ । लकडाउन र कोरोनाको त्रासले दिक्क भएका नागरिक खुलेर हिंड्न थालेका छन् । यसपटक मानिसहरु सहज रुपमा बाहिर निस्केर किनमेल गर्ने र यात्रा गर्न लागेका छन् ।
दसैंमा गाउँघरमा छुट्टै आनन्द हुन्छ । वर्षांै भेट नभएका आफन्तसँग भेट हुन्छ । आफू जन्मे हुर्केका ठाउँका साथीसँगीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ । पाखा पखेरा घुम्दै रमाइलो लाग्छ । त्यसमा पनि सामाजिक सञ्जालले सबैलाई एकै टिनमा जोड्छ । देश विदेशमा भएकाहरुले तत्कालै गाउँको अवस्था थाहा पाउन सक्दछन् । त्यसैले आज भोली गाउँको महत्व बढ्दै गएको छ । यातायातको सुविधा नभएका प्रायः गाउँ छैनन् । दसैंमा गाउँघरमा रमाइलो हुनु स्वाभाविक हो ।
यद्यपि दसैंलाई भव्य रुपमा मनाउने कुरालाई जायज मानिए पनि कोरोना संक्रमणको जोखिम हटेको छैन भन्ने कुरा कसैले भुल्नु हुँदैन । संक्रमण दर स्थिर रहे पनि दिनहुँ संक्रमित व्यक्ति फेला परिरहेका छन् । मृत्यु दर घटे पनि दैनिक नागरिकको जीवन गइरहेको छ । चाडपर्वलाई कोरोना संक्रमणको ‘हट स्पट’ नबनाउन सबैले स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । कम्तीमा हरेकले मेरा कारणले कसैलाई कोरोना संक्रमण नहोस् भन्ने कुरामा सचेत हुनै पर्दछ ।
कोरोना महामारी भन्दै लामो समय देशमा लकडाउन गरियो । राज्यले आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्नु प¥यो । व्यापार, व्यवसाय, यातायातलगायतका क्षेत्रमा आर्थिक रुपमा नकारात्मक असर प¥यो । अब लकडाउनको अवस्थाबाट मुलुक खुल्ला समाजमा आइपुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर कम गर्न लकडाउनले पनि एउटा भूमिका खेल्यो । तर सधै लकडाउन सम्भव थिएन र छैन । त्यसैले अहिले चौतर्फी खुल्ला भएको छ । कोरोना संक्रमण हुनबाट जोगिदै र जोगाउँदै हाम्रा दैनिकी चल्नु पर्दछ । कोरोनाको खोप लगाएकाले पनि लापरबाही गर्नु हुँदैन ।
यातायातका साधनमा ओहोर दोहोर गर्दा भौतिक दुरी कायम गर्न असम्भव भए पनि अनिवार्य मास्क लगाउनु पर्दछ । ह्याण्ड सेनिटाइजर बेला–बेलामा प्रयोग गरियो भने पनि कोरोनाबाट जोगिन सकिन्छ । मुख्यतः मुख, नाक र आँखामा हात लैजानु अघि सेनिटाइजरले हात सफा गर्नुपर्दछ । दसैं भव्य रुपमा मनाऔं तर सुरक्षित भएर मनाऔं । सावधानी घट्यो भने दुर्घटना घट्छ भन्ने कुरा कसैले नभुलौ । नभुलौ । दुर्घटना घट्यो भने पनि आफ्नै कारणले घट्ने हो । लापरबाही गरिएन भने सजिलै कोरोनासँग जोगिन सकिन्छ । तसर्थ कोही कसैले पनि कोरोनासँ खेलाची नगरौं ।