कृष्ण पोखरेल
पाल्पा
रूपन्देहीको बुटवल, भैरहवा जस्ता शहर हेर्न पर्यटकहरू पाल्पा पुग्ने गरेका छन् । कोभिड–१९ संक्रमण दर घट्दै गएपछि आन्तरिक पर्यटकहरू घुमघाममा निस्कन थालेका हुन् ।
बुटवल, भैरहवा जस्ता शहर बजारको बीचमा लावा लस्कर गाडी हिंडेका छन् । बुटवल शहरकै बीचमा बगिरहेको नदीले सुन्दरता बढाएको छ । बुटवल बजारकै किनारमा रहेका हरिया जंगलले सुन्दरता थपेको छ । डाँडाकाँडा, वनजंगल, नदीनालादेखि समथर फाँटको दृश्यले सबैको मन लोभ्याउने गरेको छ । यस्तै बुटवल भैरहवाको सुन्दरता हेर्न पर्यटकहरू पाल्पा पुग्ने गरेका छन् । कामको बोझले थकित भएका दिमागहरूलाई पुनर्ताजगी बनाउन, युवा युवतीको जीवनलाई प्रेममय बनाउन, नयाँ–नयाँ सोंच, विचार, रूचीलाई जगाउन, मनमोहक दृश्य हेर्नकै लागि पर्यटकहरू पाल्पा पुग्ने गरेका छन् ।
पाल्पा तिनाउ गाउँपालिका वडा नंं. २ दोभान नुवाकोट क्षेत्र बुटवल, भैरहवा पुग्ने पर्यटकहरूको लागि नयाँ गन्तव्यको रूपमा विकास भएको छ । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट बेलवासबाट १० किलोमिटर बुटवल–तानसेन सडक खण्डको दोभानबाट ४ किलोमिटर दुरीमा नुवाकोट क्षेत्र पुग्न सकिन्छ । बुटवल क्षेत्रबाट जाडो महिनामा घाम ताप्न र गर्मी महिनामा शितल हावा खादै तराईका समथर फाँट, रूपन्देही नवलपरासीका विभिन्न शहरहरूको दृश्यावलोकन गर्दै भारतको सुनौली, नौतनुवासम्मको भू–भाग हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पाल्पाको नुवाकोटमा पुग्ने गरेका छन् । पाल्पाको नुवाकोटबाट बुटवलदेखि भैरहवासम्मको सबै दृश्यहरू देखिन्छ, डाँडाबाट प्राकृतिक आनन्द लिनको लागि यस क्षेत्रमा घुम्न आएको बुटवलका रामचन्द्र सुनारले बताए
नुवाकोट डाँडा पर्यटकहरूको लागि सेल्फी डाँडा बनेको छ । तराईका फाँटदेखि बुटवलको घना बस्ती क्यामेरामा कैद गर्न चलचित्र तथा वृत्तचित्र निर्माताहरू नुवाकोट डाँडामा पुग्ने गरेका छन् ।
नुवाकोट डाँडाबाट बुटवल शहर बस्ती विकासको अवस्था, तिनाउ नदीको सुन्दरता, चुरे क्षेत्रको अवस्था, वन वातावरणको अवस्था, बढ्दै गएको शहरीकरणको बारेमा सही योजना बनाउन सकिन्छ । हालै चुरे क्षेत्रको स्खलनबाट बुटवलका विभिन्न क्षेत्रमा पु¥याएको क्षतीको सही मूल्याङ्कन, भू–बनोटको अवस्था पत्ता लगाउँदै रोकथामको लागि भावी योजना बनाउन समेत भू–गर्भविद तथा इञ्जिनियरहरूको लागि नुवाकोट डाँडा महत्वपूर्ण स्थान बनेको छ ।
पर्यटकहरूको आगमन बढेपछि नुवाकोड डाँडामा दृश्यावलोकनको लागि तिनाउ गाउँपालिकाले भ्यू प्वाइन्ट, सुरक्षाको लागि रेलिङबार तथा वनभोज स्थल निर्माण गरेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । सबैको आकर्षणको केन्द्र तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित हँुदै गएपछि बुटवल फूलबारीदेखि नुवाकोटसम्मको केवलकार निर्माणको काम समेत सुरु भएको छ । केवलकार निर्माण भएपछि बुटवलका पर्यटकहरू पाँच मिनेटमै नुवाकोट पुग्ने छन् ।
नुवाकोट आफैमा ऐतिहासिक तथा पुरातात्विक महत्वको ठाउँ भएकोले गाउँपालिका तथा प्रदेश सरकारले अन्य पूर्वाधार निर्माणमा जुटेको छ । नेपाल अंग्रेज युद्धस्थल भएकोले नुवाकोट गढीको अवलोकन गर्न ईतिहासविददेखि विद्यालय तथा विश्वविद्यालयमा अध्यनरत हजारांै विद्यार्थीहरू पुग्ने गरेका छन् ।