कृष्ण पोखरेल
पाल्पा
पाल्पा जिल्लाभित्र सञ्चालन भएका एम्बुलेन्सहरू अक्सिजन सिलिण्डरयुक्त भएका छन् । नेपाल रेडक्रस सोसाइटी पाल्पाले अष्ट्रियन रेडक्रसको सहयोगमा वास कार्यक्रमअन्तरगत जिल्ला भित्र चल्ने सबै एम्वुलेन्सहरू लाई निःशुल्क रूपमा अक्सिजन सिलिण्डर वितरण गरी पाल्पा जिल्लाका एम्बुलेन्सहरूलाई अक्सिजनमय बनाएको हो ।
पाल्पामा सञ्चालन हँुदै आएका २२ वटा एम्बुलेन्सहरूलाई विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको सहभागितामा अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।
एम्बुलेन्समा अक्सिजन सिलिण्डर नहँुदा कयौ बिरामीहरूको अवस्था गम्भीर भएको र कयौ बिरामीहरूले अकालमा ज्यान फाल्नु परेको दुःखद परिस्थितिलाई मध्यनजर गरी जिल्ला रेडक्रस पाल्पाले जिल्लाभरी चल्ने एम्बुलेन्सहरूलाई अनिवार्य अक्सिजन राख्नुपर्ने व्यवस्था गरी पहिलो चरणमा निःशुल्क सिलिण्डर प्रदान गरेको हो । दम स्वासप्रश्वास र कोभिडका बिरामीको लागि अक्सिजन अमृत बराबर भएकोले बिरामीको ज्यान बचाउन ठुलो मद्दत पुग्ने भएकोले एम्वुलेन्स चालकहरूलाई निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरिएको रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले बताए । एम्बुलेन्स चालकहरूबाटै बिरामीहरूको आधा रोग ठिक हुने भएकोले, बिरामीसंग गर्नुपर्ने व्यवहार, बोलीचालीको साथै प्राथमिक उपचारसम्बन्धी तालिम रेडक्रस पाल्पाले प्रदान गरेको सभापति शर्माले बताए । यो अभियानबाट बिरामीले अक्सिजन प्रयोग गरेबापत अतिरिक्त शुल्क तिर्न नपर्ने, बिरामीलाई एम्बुलेन्स भाडा शुल्क बाहेक अन्य शुल्क नलाग्ने सभापति शर्माले बताए ।
जिल्लाभरका एम्बुलेन्स चालकहरूलाई एकमुष्ट निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले अबका दिनका जिल्लाभर सञ्चालन हुने एम्बुलेन्सले अनिवार्य रूपमा अक्सिजन सिलिण्डर नियमित रूपमा प्रयोग गर्न चालकहरूलाई अनुरोध गरे । एम्बुलेन्स भित्र सिलिण्डरको प्रयोग भए नभएको समय– सयममा रेडक्रसको सहयोगमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने प्रजिअ पाण्डेले बताए । पाल्पामा अहिले जिल्ला अस्पताल, मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएकोले चालकले आफूलाई पायक पर्ने स्थानमा, चाहेको समयमा खाली सिलिण्डर भर्न सक्नेछन् ।
जिल्लामा चल्ने सबै एम्बुलेन्सहरूमा अक्सिजन सिलिण्डर थिएनन्, रेडक्रसले जिल्लाका सबै एम्बुलेन्सहरूलाई निःशुल्क रूपमा अक्सिजनसहितको सिलिण्डर प्रदान गरेर बिरामीहरूको ज्यान बचाउन ठुलो सहयोग गरेको एम्बुलेन्स चालक सुरेश कार्कीले बताए । अबका दिनमा जिल्लाका सबै एम्बुलेन्सहरूमा नियमित रूपमा अक्सिजन सिलिण्डर हुुने कार्कीले बताए ।
रेडक्रस पाल्पाले एम्बुलेन्स चालकहरूलाई मास्क, सेनिटाइजर, पीपीई सेटहरू समय–समयमा सहयोग गर्दै आएको छ । रेडक्रस पाल्पाले वास कार्यक्रमअन्तरगत तिनाउ गाउँपालिकाको वडा नंं. १ कचल र वडा नंं. २ का १६ सय घरपरिवारमा सरसफाई, खानेपानी तथा कोभिड नियन्त्रण, वृद्ध वृद्धाहरूलाई औषधि खरिदको लागि सहयोग गर्दै आएको छ ।