सी डिभिजन छनौटमा भिडेको बुद्धभूमि
दिपक न्यौपाने

बुटवल
रूपन्देहीको सैनामैनामा रहेको बुद्धभूमि फुटबल एकेडेमीले शहीद स्मारक सी डिभिजन लिग छनौटको लक्ष्य बनाएर आफ्नो यात्रालाई अगाडि बढाएको त छ । तर, चरम आर्थिक समस्याका कारण एकेडेमी अप्ठ्यारोमा भने परेको छ ।
आर्थिक अभावका बीचमा आफ्नो रफ्तारलाई अगाडि बढाइरहँदा पनि एन्फा शहीद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता खेल्न काठमाडांै पुगेको टोली अभावका बाबजुद पनि दाबेदारीमा उभिएको छ ।
१ वर्ष अगाडि स्थापना भएको क्लबले रूपन्देही आसपासका विभिन्न प्रतियोगितामा सहभागिता जनाएर आफ्नो पहिचानको दायरालाई यसअघिनै फराकिलो पारिसकेको थियो । क्लब अब सी डिभिजनमा छनौट हुनका लागि केबल ३ खेलमात्र टाढा छ ।
२१ जना खेलाडी लिएर काठमाडांैको गोल्पुटारमा प्रशिक्षण गरिरहेको क्लबले सोंचेजस्तो आर्थिक संकलन नभएपछि मानसिक तनाब समेत व्यहोरेको छ । ‘हामी फुटबलमै केही गर्छांै भनेर लागेका हौ,’ बुद्धभूमि फुटबल एकेडेमीका अध्यक्ष मुकेश थापा भन्छन्–‘तर नगरस्तर र जिल्लास्तरका खेलकुदका संघ संस्थाहरूले सहयोग नगर्दा दुःख लागेको छ । सैनामैना नगरपालिकाले ६ लाख रुपैयाँ दिने भन्ने कुरा थियो ।
कार्यपालिकाबाट निर्णय समेत भैसकेको थियो तर अहिले उक्त रकम पनि अलपत्र छ । हामीहरूलाई उत्साह दिनुको सट्टा हतोत्साही बनाउने प्रयास भएको छ । तै पनि फुटबललाई माया गर्ने देश विदेशका खेलाडी तथा शुभचिन्तकबाट जनतन आएको थोरैधेरै रकमले खर्च टारिरहेका छौं ।’
एकेडेमीले झापादेखि धनगढीसम्मका खेलाडीहरूलाई जम्मा पारेर समग्र जिल्ला र नगरको पहिचान बढाउन क्लबको नाम पनि बुद्धको जन्मभूमिको जिल्लाको हिसाबले बुद्धभूमि फुटबल एकेडेमी राखेको बताइएको छ । अहिलेसम्म झन्डै ८ लाख रुपैयाँ खर्च भैसकेको क्लबले नगरपालिकाले दिने भनेको ६ लाख रुपैयाँ दिए आर्थिक संकट टर्ने बताएको छ । ‘ऋण खोजेर खेलाडीलाई खुवाउनेदेखि होटल, मैदानसम्मको खर्चको जोहो गरिरहेका छौ,’ क्लबका निर्देशक एवम् फिफा रेफ्रि विष्णु पौडेल भन्छन्–‘फुटबलमा केही गरांै भनेर मोफसलबाट सहभागी भएका हौ । तर घोषणा गरेको सहयोग नगर्दा खेलकुदको विकासका लागि भनेर लागेका सघंसस्थाहरूको नियत बुझ्ने मौका पाएका छौं ।’
सी डिभिजन छनौटमा लुम्बिनी प्रदेशबाट सहभागी २ टोलीमध्ये बुद्धभूमि एक टोली हो जसले निरन्तर जितका साथ छनौटमा राम्रो सम्भावना बनाएको छ ।
स्थानीय फुटबलप्रेमी तथा खेलकुदकर्मी विष्णु पान्डेले स्थानीयस्तरबाट प्रतिनिधित्व गरेर अघि बढेका जुनसुकै क्लब र समुहलाई सम्बन्धित खेलकुदका संस्थाहरूले सहयोग गर्नुपर्ने धारणा राख्छन् । उनले क्लबले यसैक्षेत्रका खेलाडीहरूलाई समेत समेट्दै अघि बढे भोलीका दिनमा अझै राम्रो सन्देश जाने बताउँछन् ।