आज विश्व पशु दिवस, हरेक वर्ष अक्टोबर महिनाको ४ तारिकमा विश्वभर पशु दिवस मनाउने गरिन्छ । पशुका अधिकार र तिनीहरुप्रति गरिने मानवीय व्यवहारलाई सकारात्मक रुपमा ल्याउन दिवसले भूमिका खेल्ने विश्वास गरिन्छ । खासगरी कुनै पनि पशुको बाँच्न पाउने हक सुनिश्चित गर्न विश्व पशु दिवस मनाउन सुरु गरिएको हो । विश्वमा लोप हुँदै गएका जनावरहरुको रक्षा गर्दै मानवीयसम्बन्ध मजबुत बनाउन दिवसको उद्देश्य रहेको छ ।
भनिन्छ की विश्व पशु दिवस पहिलो पटक जर्मन लेखक हेनरिक जिर्मनले मनाएका थिए । यस दिवस मनाउने सुरुवात सन् १९३१ मा इटलीको फ्लोरेंसमा गरिएको थियो । संयुक्त राष्ट्रसंघले पशु अधिकारको रक्षाको लागि अभियानका रुपमा दिवस मनाउन सुरु गरेको थियो । अहिले विश्वका अधिकांश देशमा यो दिवस मनाउने गरिन्छ ।
घर होस् या जंगलमा होस्, मानव जातिका लागि पशु विशिष्ट र अति महत्वपूर्ण छन् । मानिसले पशुलाई खानादेखि औषधिको रुपमा समेत प्रयोग गर्दै आएका छन् । पशुहरुकै कारण मानवीय जीवन चक्र चलिरहेको छ । यदि पशु नहुने हो भने वातावरणीय चक्रमा समेत ठूलो प्रभाव पर्न जान्छ । पशुहरुसंग मानव जीवन जोडिएको छ । घर पालुवा जनावर होस् या जंगली जनावर, तिनले मानिसलाई बाँच्नका लागि ठूलो सघाउ पु¥याउने गरेका छन् । नेपालमा हिन्दू धर्मावलम्बीहरुले पशुलाई पूजाआजा समेत गर्ने गर्दछन् ।
नेपालमा गाईलाई बध गर्न निषेध गरिएको छ । चाडपर्वमा पशुहरुको पूजा गरिन्छ । कुकुर तिहार, गाई तिहारलगायतका चाडहरुले जनावरहरुको सुरक्षामा बल पु¥याएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसोलगायत भगवानका बाहनहरु जनावरका रुपमा पूज्य छन् ।
जनावरहरुका आ–आफ्नै खानपान र रहनसहन रहेको हुन्छ । जंगली जनावर बाघलगायत मांसहारीले साना जनावर मारेर खान्छन् । घर पालुवा गाई, भैंसीलगायतले मानिसका लागि दूध दिन्छन् । जे होस् मानिसका लागि जनावर अनिवार्य आवश्यकता बन्न पुगेका छन् । यिनको अभावमा मानव जीवन जीउन गाह्रो हुन्छ ।
जनावर कै कारण मानिसले अर्थ उपार्जन गर्न सक्दछन् । नेपालमा लोपोन्मुख बाघदेखि धेरै प्रकारका हेर्न लायक जंगली जनावर छन् । यिनलाई हेर्न र देख्न पाउँदा बेग्लै अनुभव हुन्छ । यिनै जनावर हेर्न र जंगल सफारी गर्न नेपालमा विश्वका विभिन्न देशबाट पर्यटक आउने गर्दछन् । जंगली जनावर कै कारण पर्यटकले बसाई लम्बाउने गर्दछन् । यसले विदेशी मुद्रा नेपालमा भित्र्याउन मद्दत गर्दछ ।
यसरी हेर्दा साँस्कृतिक, पर्यटन, जैविक विविधता, व्यापारलगायतका क्षेत्रसंग पशु जोडिएका छन् । पशुसंग मानवीय दायित्व र सम्बन्ध अन्तरनिर्भरता रहेको छ । जसरी मानवले बाँच्न पाउने अधिकार प्राप्त गरेका छन्, त्यसैगरी पशुले पनि बाँच्न पाउनु पर्दछ । मानवले जनावरप्रति गर्ने क्रुर व्यवहार सच्याई पशुसम्बन्धी कल्याणकारी कामलाई बढावा दिनु यो दिवसको मुख्य सन्देश रहेको छ । वास्तवमा जनावर मानव जातिका असल मित्र हुन् । उनीहरुको व्यवहारअनुसार मानिसले सम्बन्ध जोड्नु पर्दछ । पृश्वीमा बस्ने अधिकार सबैलाई छ, पशुलाई माया गर्ने बानीको विकास गरौं ।