कृष्ण पोखरेल
पाल्पा
कोभिडको समयमा पर्यटक आगमन बन्द भए पनि पाल्पामा पर्यटकीय पूर्वाधार निर्माणको काम भने धमाधम भएका छन् । पहाडकी रानी भनेर चिनिने पाल्पामा धमाधम पर्यटकीय पूर्वाधारहरू थपिंदै गएका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको छ ।
लुम्बिनी प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको छ । प्रदेश सरकारले तानसेन नगरपालिका वडा नंं. ५ कैलाशनगर र तिनाउ गाउँपालिका वडा नंं. २ नुवाकोटमा सांस्कृतिक डबली निर्माण गरेको हो । लुम्बिनी प्रदेश सरकारले पाल्पाको पर्यटकीय विकासलाई प्राथमिकता दिई चिसो मौसममा पर्यटकहरूको बसाइ लम्बाउन डबलीहरू निर्माण गरेको हो । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाडांैले निर्माण गरेको छ भने तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भइरहेको साँस्कृतिक डबली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गर्दै आएका छन् । साँस्कृती डबली निर्माण स्थानीय कला संस्कृतिको संरक्षण जर्गेना हुने, पाल्पामा पर्यटकहरूको बसाई लम्बिने र जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुग्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए ।
दुबै स्थानमा निर्माण भइरहेको खुला सांस्कृतिक डबली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अबको दुई महिनाभित्र सम्पूर्ण निर्माण काम सकिने निर्माण व्यवसायीले जनाएका छन् । अहिलेसम्म भौतिक पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिएको अन्तिम फिनिसिङ्गका कामहरू भइरहेको छ । खुल्ला साँस्कृतिक डबलीमा स्टेज, स्टेज अगाडि हरियो दुवोसहितको दर्शक कक्ष, कलाकारहरूको चेन्जिङ्ग रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको सांस्कृतिक डबली निर्माण गरिएको प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाडांैका कम्पनी प्रतिनिधि दिपकबहादुर पालले बताए ।
तिनाउ गाउँपालिको नुवाकोट डबलीमा २ सय ५० जना र सदरमुकाम तानसेन कैलाशनगरमा रहेको डबलीमा पाँच सय जना अट्ने क्षमता रहेको छ । पाल्पामा निर्माण भइरहेको खुला साँस्कृतिक डबली नेपालमै नमूना साँस्कृतिक डबली रूपमा निर्माण गरिएको हो । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वासका साथ सदरमुकाम तानसेनमा सुविधा सम्पन्न होटलहरू थपिदै गएका छन् । कोभिड–१९ को कारण थला परेका होटल रेष्टुराँहरू सांस्कृतिक डबलीको निर्माणसंगै पर्यटकको आगमन बढ्ने होटल श्रीनगर प्रा.लि.का म्यानेजर अशोक थापाले बताए ।
भारतीय नाका सुनौलीबाट ३० किलोमिटर, बुटवलबाट ५ किलोमिटरको दुरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भइरहेको डबलीले यस क्षेत्रकै कला संस्कृतिको जर्गेना गर्ने छ । तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ ।
अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसंगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचार प्रसाई भई पर्यटन विकास थप टेवा पुग्ने तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।
पाल्पालाई लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न निर्माण भइरहेको खुला सांस्कृतिक डबलीले टेवा पुगेको छ । कोभिड–१९ को कारण घर घरमै थुनिएका आन्तरिक तथा बाह्य पर्यटकहरूले दुई वर्षको अवधिमा पाल्पा घुम्ने क्रममा नयाँ अनुभव लिन पाउने छन् । पाल्पामा दर्जनौ मगरी, नेवारी, गन्धर्वहरूको सांस्कृतिक गतिविधि लोकप्रिय रहेको छ ।