बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौंको शंकरापुर नगरपालिकाबीच आपसी सहकार्य सम्बन्धी सम्झौता भएको छ । शैक्षिक विकास, अध्ययन अनुसन्धानका विषयमा एकआपसमा मिलेर काम गर्ने उद्धेश्यसहित दुई पक्षीय सम्झौता भएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे । शंकरापुर नगरपालिका बौद्ध समुदायको प्राचिन र ऐतिहासिक थलो हो । नगरपालिकाले बौद्ध स्थलको अध्ययन अनुसन्धान र बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने योजनासहित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नगर क्षेत्रमा रहेका ऐतिहासिक विहारसहित अन्य बौद्ध क्षेत्रको अध्ययनमा विश्वविद्यालयले सघाउने जनाए ।

त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि विश्वविद्यालयले सरकारी निकायसंग सहकार्य गर्ने नीति लिएको बताए । सोही नीति अनुरुप सहकार्य गर्ने स्थानीय सरकारमध्ये शंकरापुर दोस्रो भएको बताए । यसअघि दाङको तुल्सीपुर उपमहानगरसंग शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको थियो ।

शंकरापुरस्थित भाग्योदय बहुमुखी क्याम्पसका प्रमुख बौद्धराज निरौलाले बौद्ध दर्शनसंग जोडेर आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

सो कार्यक्रममा शंकरपुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, उकेशराज भुजु, प्रा.डा. रामचन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।