यो वर्ष असोज महिनासम्म निरन्तर सक्रिय रहेको वर्षापछिको बाढी–पहिरोले धेरै परिवारको खुसी चुडेको छ । लुम्बिनी प्रदेशमा मात्रै कम्तिमा ३४ जनाको मृत्यु भएको छ । दर्जनौं परिवार विस्थापित भएका छन् ।
प्रेम सुनार
गुल्मी
मध्यरातमा झरेको पहिरोले गुल्मीमा एकाघरका तीन जनाको ज्यान गएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ मा घरमाथिबाट खसेको पहिरोले स्थानीय तिलक परियारको घर बगाएको हो ।
राति पौने १२ बजेतिर झरेको पहिरोमा परी उनका तीन छोरीको मृत्यु भएको हो । परिवारका अन्य सदस्य भने पहिरोबाट बच्न सफल भएका छन् ।
रोल्पामा एकै दिन तीन जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा आमा छोरीसहित एक पुरूष रहेका छन् । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुन सोही ठाउँको हाङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
‘बारीबाट घरतर्फ जाने क्रममा पहाडबाट खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले भने–‘हामीलाई बिहान मात्रै खबर भयो र घटनास्थलमा पुग्दा शव भेटियो ।’ अर्को विहे भोज खाएर फर्किने क्रममा भिरबाट लड्दा मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षीय तिर्थलाल थापाको मृत्यु भएको छ ।
निभ्यो खुसीको दियो
गाउँको एक गरिब परिवारको व्यक्ति तर पछि कपडा सिलाउने पुख्र्यौली पेशाबाटै संघर्ष गरेर गुल्मीको सदरमुकाम तम्घासमा टेलर पसल र तम्घास मै पक्की घर बनाएर बस्न सफल व्यक्तिको नाम हो तिलक परियार । उनलाई तम्घासबासीले भावना टेलर पसलको साहुजीका रूपमा चिन्दछन् ।
कपडा सिलाउने पुख्र्यौली पेशाबाटै गरिबी र अभावबाट मुक्ति प्राप्त भइसकेका उनका हुर्के बढेका ५ छोरीहरूमध्ये एउटीको विवाह भइसकेको थियो । अन्य चार वटी छोरीहरूले पढ्दै र बाबुसंग कपडा सिलाउने काम सिक्दै पनि थिए । मंगलबार साँझ नसुत्ने बेलासम्म परिवारमा खुशीको दियो बली नै रहेको थियो । तर दुर्भाग्य खाना खाई मिठो निद्रा परिरहेको बेला एक्कासी वर्षासंगै माथिबाट आएको पहिरोले क्षणभरमै त्यस परिवारको खुशीको दियो झिपिक्कै निभाई दियो ।
झण्डै दुई दशकदेखि कपडा सिलाउने मेशिन झैं घोटिएर परिश्रम गर्दै एक सफल टेलर व्यवसायीको पंक्तिमा गनिन् सुरु गरेका तिलक परियार यति बेला छाँगाबाट खसे जस्तै भएका छन् । तम्घासको क्याम्पस रोडमा छोरीको नामबाट भावना टेलर्स पसल सञ्चालन गर्दै आएका परियारको अब पसलको नाम मात्रै भावना रहेको छ तर छोरी भावनासहित अन्य दुई छोरीहरूलाई मंगलबार रातिको पहिरोले चुँडेर लगेको छ । मंगलबार साँझसम्म छोरी भावनाले बाबुसंगै पसलमा कपडा सिलाउँथिन्, पसलबाट संगै साँझ घर आएर खानापछि परिवारका सबै सदस्य मिठो निद्रामा परे । उनीहरूलाई घर माथिबाट आएको पहिरोले च्याँपेको पत्तै भएन ।
बाबु आमा चिच्चाउँदै बाहिर निस्केर पल्लोकोठामा हेर्दा २१ वर्षीया छोरी भावना र १४ वर्षीया अन्य दुई जुम्लिया छोरी गंगा र जमुना बगिरहेकै निर्जिव ढुङ्गा माटो जस्तै भइरहेका थिए भने १७ वर्षीया साईली छोरी सुजतालाई भने बाबुले जिवितै उद्धार गर्न सके । अर्की जेठी छोरी सुस्मा विवाहित भएको र तल तम्घास बजारमा डेरा गरेर बसेकोले बाँच्न सफल भइन् । सुजाताले माध्यमिक तहको शिक्षा हासिल गर्दै बाबुसंगै कपडा सिलाउने र दुई छोरी गंगा र जमुनाले तम्घास कै महेन्द्र नमूना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम विश्वकर्माले बताए ।
त्यो परिवारको कोखैमा घर भएका ईश्वर बिक भन्छन् –‘हाम्रो र उहाँहरूको घर दुई चार मिटरभन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेट तिरको कुरा हो । मुसलधारे पानीसंगै हाम्रो घरको अगाडि पनि पहिरो बग्दै थियो । अन्धकार भएकाले केही देखिएन ।
पल्लो घरमा चिच्चाउँदै हुनुहुन्थ्यो । उहाँ चिच्चाउँदा चिच्चाउँदै एउटी छोरीलाई जीवितै उद्धार गर्न सक्नु भएछ । तीन वटी छोरीहरुको पुरिएर मृत्यु भइसकेको रहेछ, अरु त केही थाहा पाउनै सकनौं ।’ त्यस घरदेखि केही तल जिल्ला प्रहरी कार्यालय छ । अलिपर नेपाली सेनाको ब्यारेक छ । थाहा पाउन साथ दुबै सुरक्षा निकाय राति नै आयो र शव निकाल्दै र जीवितलाई उद्धार गरी घरदेखि तलको एक घरमा लगेर राख्यो । बुधबार बिहान त्यस घरको दलानमा बसेकी बाँच्न सफल छोरी र आमालाई छिमेकीहरुले सम्हाल्न खोज्दै थिए ।
एकाबिहानै उठ्ने साँझ अबेरसम्म तल पसलमा पुगेर कपडा सिलाउने काममा ब्यस्त हुने चिन्ताबहादुर परियारको पुख्र्याैली घर गुल्मीदरबार गाउँपालिका–२ झिरबास हो ।
रेसुङ्गा नगरपालिका–८, मुख्य सडकको केहीमाथि थुम्का टोलमा घडेरी किनेर करिव १२ वर्षअघि एक तले पक्की घर बनाएर बसेका थिए । छिमेकी ईश्वर बिकको घर, त्यसमाथि अन्य घर पनि पहिरोले जोखिममा पर्ने देखिएको छ । त्यस थुम्का गाउँ अधिकांस दलित बस्ती हो । त्योभन्दा अझ जोखिममा बुढिचौरको दलित बस्ती जोखिममा छ । त्यस वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित बस्तीमा उनीहरुलाई स्थान्तरण गर्न माथिल्लो तहका नेताहरुलाई समेत आग्रह गर्दै आएका छन् । गत वर्ष प्रदेश सांसद कमलराज श्रेष्ठ बुढिचौरस्थित दलितबस्तीको अवलोकन गर्न समेत पुगेका थिए ।