सन्तोष गहतराज
पाल्पा
जिल्लाको तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ रेडाले तानसेन नगरपालिकालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरी मासुमा आत्मनिर्भर बनाउनका लागि बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ । तानसेन नगरपालिकाको ७५ प्रतिशत अनुदान र ग्रामीण आर्थिक विकास संघ रेडाको २५ प्रतिशत गरी कृषकहरूलाई सत प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हो ।
तानसेन नगरपालिकाले बाख्रा पकेट क्षेत्रको विकास गर्न सकिने सम्भावित वडाहरूको अध्ययन गरी उन्नत जातको बाख्रा, खोर निर्माणका लागि अनुदान, उन्नत जातको घाँसको बीउ वितरण गरेको छ । बाख्रा पकेट क्षेत्र कार्यक्रमअन्तर्गत मूल समूहका सदस्यहरूलाई प्रदान गरिएको बाख्राबाट उत्पादित भएका बाख्राहरू उपसमूहका सदस्यहरूलाई वितरण गर्ने कार्य गरेका छन् । नगरपालिका र रेडाको सहकार्यमा वैदेशिक रोजगारीमा भौतारिरहेका युवा, कोभिडका कारण स्वदेश फर्किएका युवा एवम् महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोडी आत्मनिर्भर बनाउनका लागि बाख्रा पकेट क्षेत्र कार्यक्रम, सहुलियत दरमा विना धितो ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका बाख्रा उपहार कार्यक्रमअन्तर्गत पहिलो चरणमा तानसेन वडा नं. १२ का महिला समूहलाई बाख्रा वितरण गरेको थियो भने दोस्रो चरणमा तानसेन वडा नं. ५ का आदर्श स्वालम्बन मूल महिला समूहले ३ वटा उपसमूहलाई बाख्रा प्रदान गरेका हुन् ।
तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले तानसेन नगरपालिकाले नगरका महिला तथा युवाहरूलाई उत्पादनमूलक कार्यबाट स्वरोजगार बनाउनका लागि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गरेको बताए । आगामी दिनमा अन्य पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गरि मासु, दूध तरकारीमा आत्मनिर्भर बनाउने योजनाका साथ नगरपालिका अगाडि बढेको उनले बताए । तानसेन नगरपालिकाले बाख्रा पालन पकेट क्षेत्र कार्यक्रमअन्तर्गत ४ हजार ५ सय बाख्रा वितरण गरिएको उनले बताए ।
आदर्श स्वालम्बन महिला समूहकी सचिव विमला विष्टले प्रतिवेदन प्रस्तृत गर्दै २०७६ जम्मा २८ सदस्यहरूले बाख्रा पालन कार्यक्रम सुरु गरेको बताइन । नगरपालिकाले बाख्रा खोर निर्माणको लागि १ लाख ४५ हजार रकम प्रदान गरेको उनले बताइन् । संस्थाले ३ उपहार बहिनी समूह गठन, जाडोको कपडा वितरण, सुरुवाती चरणमा १ सय ५० बाट बाख्रा पालन सुरु गरिएकोमा हाल ३ सय ३२ वटा पुगेको छ । उन्नत जातको घाँस वितरण, तरकारी खेती प्रवद्र्धन तथा तालिम प्राप्त गरेपछि व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुगेको उनले बताइन् ।
स्थानीय कविता गैरेले स्वदेशमा रोजगारीको अवसर नहुँदा रोजगारीको लागि वैदेशिक रोजगारको गन्तव्य खोजीरहेका बेला तानसेन नगरपालिका र रेडाको साझेदारीमा बाख्रा पालन कार्यक्रम ल्याएपछि स्वदेशमा नै रोजगारी पाउन सफल भएको बताइन । गैरेले तालिम र अनुदान प्रदान गरेपछि आयआर्जन मुलक कार्यमा जोडिन सहयोग पुगेको बताइन ।
स्थानीय तिम्बला विष्टले नगरपालिका र रेडाको समन्वयमा तालिम पाएपछि आर्थिक उपार्जनको साथै व्यक्तित्व र नेतृत्व विकासमा समेत टेवा पुगेको बताइन् । तालिम र अनुदान प्राप्त गरेपछि श्रीमानको कमाइको आशामा बस्न नपरेको उनले बताइन् ।
हेफर इन्टरनेशनका निर्देशक तिर्थ राज रेग्मीले सामग्र पाल्पा जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन एवम् स्वदेशमा युवा शक्तिलाई स्वरोजगार बनाउनका लागि जिल्लाका १० वटै स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्ने योजना साथ संस्थाले अगाडि बढेको बताए । युवाहरूलाई स्वरोजगार मुलक कार्यक्रममा आबद्व गरी आर्थिक सबलीकरणको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनका लागि कार्य सञ्चालन गरेको उनले बताए । पाल्पा जिल्लाका १० वट स्थानीय तह मध्ये ८ वडामा कार्यक्रम सञ्चालन रहेकोमा आगामी दिनमा कार्य क्षेत्रलाई विस्तार गरी १० वटै स्थानीय तहमा पुग्ने उनले बताए ।
आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले बाख्रा पालन गर्ने कृषकहरूलाई बाख्रा उपहार, प्राविधिक सहयोग, घाँस खेती विस्तारको लागि सहयोग, सामूहिक बजारीकरणको लागि संस्थाले सहयोग पु¥याउँदै आएको बताए ।