गुल्मी । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष नारायणप्रसाद ज्ञवालीले गुल्मीको विद्युत् सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजाने उद्घोष गरेका छन् ।
बुधबार सदरमुकाम तम्घासमा ‘सामुदायिक विद्युतिकरण तथा आर्वित कोष सञ्चालनसम्बन्धी अन्तरकृया’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले त्यस्तो उद्घोष गरेका हुन् ।
उनले भने –‘हामीले गुल्मीका प्रत्येक जनतालाई विद्युत् सेवा दिन सफल भएका छौं । सुरुमा हामीले वीरबासमा सवस्टेशन बनाऔं, रिडीमा पनि सवस्टेशन बनाऔं, अब किशानटारीको सवस्टेशन पनि चार्ज हुने अवस्थामा छ । निकट भविश्य मै उनायचौरमा १३२ केभिए सवस्टेशन बन्दै छ । त्यसपछि भने हामीले गुणस्तरीय विद्युत् सेवा दिन सक्ने छौं ।’
उनले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रलाई लक्षित गर्दै भने–‘उसले २०४९ सालदेखि विद्युतिकरणको काम थालेको हो, राज्यको साधन श्रोत खर्र्चे २०७८ सालसम्म आइपुग्दा उसका ग्राहकहरु ३२ हजार छन् । तर हामीले २०६० सालदेखि सुरु गरेका हौं यस अवधिमा हाम्रा ग्राहक ३० हजार पुगेका छन् । ’ उनले सामुदायिक विद्युत् उपभोक्ता महासंघले छोटो समयमै सफलता हाँसिल गरेको भन्दै सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।