भलिबल प्रवद्र्धनमा लाफा समूहको पुनरागमन
दिपक न्यौपाने

बुटवल
भलिबल खेललाई औधी माया गर्ने दर्शकहरुका लागि रुपन्देहीमा लाफा समूह कुनै नौलो नाम होइन । जिल्लाभरी हुने विभिन्नस्तरका प्रतियोगितामा होस् या बाहिर, स्थानीय खेलाडी जम्मा पारेर टिम सहभागिताका लागि पुगिहाल्ने रुपन्देहीको अर्गानिक भलिबल टिम लाफा समूह नै हो भन्दा अत्युक्ति नहोला ।
२०६० सालमा ५ जनाको लाफा सांगीतिक समूहबाट स्थापना भएको संस्था लाफा समूहसम्म आइपुग्दा धेरै उतार चढाब बेहोरिसकेको छ । यद्यपि जिल्लामा भलिबल खेलको विकास र विस्तारमा भने यो समूहको योगदान बिर्सनै नसकिने छ ।
२०६७ सालबाट औपचारिक रुपमा भलिबल प्रतियोगितामा होमिएको लाफा समूहले २०७२ सालसम्म जिल्लामा निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गरेर आफूलाई एक नम्बरको क्लबका रुपमा उभ्याउने प्रयास ग¥यो । ०७२ पछि ७०८ सम्म आइपुुुग्दा समूहले कुनै प्रतियोगिता आयोजना त गरेन तर विभिन्न प्रकृतिका प्रतियोगितामा भने सहभागिता जनाइरह्यो ।
समूहले फेरि स्थानीयस्तरका खेलाडीहरुलाई प्राथमिकतामा राख्दै आउँदो असोजको दोस्रो हप्तादेखि “बी” लेभलको प्रतियोगिता आयोजना गर्दै छ । ‘हामी लामो समयदेखि भलिबल क्षेत्रको विकासका लागि लागिपरेका छांै,’ समूहका संस्थापक तथा हालका संरक्षक बासुदेव लामिछाने भन्छन् — ‘यहिबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल खेलाडीहरु उत्पादन पनि भएका छन् । कुलबहादुर थापा, चन्द्र कुँवर, हरि पाण्डे, नविन थापा, भरत थापा जस्ता नाम चलेका खेलाडीहरुले लाफा समूहबाट नै प्रतिनिधित्व गरेका थिए । लगातार ३ वटा संस्करणका पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छांै र महिला खेलाडी उत्पादनमा पनि विशेष ध्यान दिएर प्रशिक्षण थालेका छांै ।’
पछिल्लो संस्करणको पुरुष भलिबलको उपाधि एप्रियन्स क्लबले उचालेपछि समूह केही सुस्ताएको देखिन्छ । तर यसलाई मान्न तयार छैनन् क्लबका उपाध्यक्ष एम् खेलकुदप्रेमी बविन थापा । ‘हामीकहाँ स्थानीय सरकार र खेलकुदको सम्बन्धित निकायबाट पनि सक्दो सहयोग हुने गरेको छैन,’ थापा अगाडी थप्छन् — ‘मोफसलमा रहेर कुनै पनी प्रतियोगिता अयोजना गर्नु चानचुने कुरा होइन । क्लबको नियमीत आयस्रोत हुँदैन सधै चन्दाको भरमा मात्र प्रतियोगिता कसरी गर्न सकिन्छ होला त ?’ त्यसो त लाफा समूहले नाम चलेका राष्ट्रिय क्लबहरुलाई पनि पछि पार्दै विभिन्न ट्रफीहरु चुमेको छ ।
आफ्नै खेलाडीलाई कोर्टमा उतार्ने गरेको समूहले सालझण्डीको राष्ट्रिय प्रतियोगितादेखि कञ्चनमा अस्नैयाले गर्ने ग्रामीणस्तरका ठुला राशीका टुर्नामेन्टमा पनि पुरस्कार हत्याएको छ ।
यसकारण ‘बि’ लेभलको प्रतियोगिता
क्लबले झन्डै १० लाखको खर्चमा ‘बी’ लेभलको प्रतियोगिता आयोजना त गर्दै छ त्यसपछाडि केही कारण छन् । ठुलो राशी खर्च गरेर बी लेभलको प्रतियोगिता किन ? भन्ने हाम्रो प्रश्नमा क्लबका अध्यक्ष तारा रेश्मिमगर भन्छन् — ‘पहिलो लक्ष्य भनेकै स्थानीय र प्रतीभावान खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि ल्याउनु हो । लाफा समूहमा नियमीत रुपमा प्रशिक्षक विजय गुरुङबाट खेलाडीहरु प्रशिक्षीत भइरहेका छन् । जसले खास प्रतीभाहरु उजागर हुन्छन् र अन्य टिमका खेलाडीहरुलाई पनि यसैगरी उत्साहित हुन्छन् भन्ने उद्देश्यले केही वर्षको ग्यापमा प्रतियोगिता सञ्चालन गर्दै छौं ।’
क्लबले प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरुको उपस्थिति नरहने जनाएको छ । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दैै भलिबल प्रतीको क्रेज बढाउन विभिन्न जिल्लाका ३० भन्दा बढी टिमको सहभागिताको अपेक्षा समेत गरेको छ । समूहले दीपनगरमा हाल सञ्चालन गरेको एकेडेमीमा महिला पुरुष गरेर ५० जनाभन्दा बढीले प्रशिक्षण लिइरहेका छन् । क्लबका सचिब एसपाल चौतारेले पनी यस्तो विषम परिस्थितिमा सहयोग मागेर कार्यक्रम गर्न कठिनाइ भए पनि भलिबलको मायाले तानेर नै जोखीम मोलेको र प्रतियोगितालाई निरन्तरता दिने जनाए ।
यता भलिवलप्रेमी विष्णु पाण्डे भास्करले पुराने इतिहास बोकेको र भलिबलमै केही गर्छु भन्ने क्लबहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् । लाफा समूहले भलिबलका अतिरिक्त सामाजिक सेवालाई पनि अगाडि बढाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स खरिद, अनाथ वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानसंगै ब्याडमिन्टन खेलमा पनि फड्को मारेको छ ।