देवीनगरको रंगशाला नजिकै तिनाउ कोरिडोरको छेउमै खुलामञ्च निर्माण हुनेछ । यसले बुटवलको व्यस्त बजारलाई असर समेत गर्नेछैन ।
लुम्बिनी संवाददाता
बुटवल
बुटवलमा खुलामञ्च निर्माण हुने भएको छ । सार्वजनिक जग्गाको अभाव भइरहेका बेला बुटवल उप–महानगरले देवीनगरको फुटबल रंगशाला नजिकै खुलामञ्च निर्माण गर्न लागेको हो ।
खाली र खुला ठाउँको अभाव महसुश भइरहेका बेलामा उप–महानगरले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उप–महानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
खुलामञ्चको प्रस्तावित करिब १४ विगाह क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माणकार्य सुरु हुनेगरी तयारी भइरहेको प्रमुख सुवेदीले बताए ।
बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो ।
जनघनत्व, सवारी चाँप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।
बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्दार स्थलरुपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए । उप–महानगरका वरिष्ठ इञ्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इञ्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी आर्किटेक इञ्जिनियर प्रभा पाण्डेसहितको प्राविधिकहरुको टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव संकलन गरिरहेको छ ।
गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसंग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडा अध्यक्ष रामचन्द्र क्षेत्री र उप–महानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहेका छन् ।
यस्तो हुनेछ बुटवल खुलामञ्च
करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्नेगरी खुला मैदान बनाइने छ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ । मैदान प्रवेश र निकासका अलग अलग द्वार र आपतकालिन द्वार बन्नेछन् ।
एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्नेगरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसंगै पछाडि भागमा आठ वटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन् ।
खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहने छ । खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इञ्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपूर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताइन । उनले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र शौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताइन ।
एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुलाक्षेत्रको चौर रहने छ भने त्यतिको संख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ ।
भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुबैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ ।
गुरुयोजनाअनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ । यसको डीपीआर इको इञ्जिनियरिङ तिलोत्तमाले बनाएको हो ।