कृष्ण पोखरेल
पाल्पा
स्वस्थ्य, सफा, सुन्दर बनाउँदै आम मानिसलाई सुखी खुसी र निरोगी बनाउन रेडक्रसकर्मीहरू पाल्पाको गाउँगाउँमा खटिएका छन् । स्वच्छ सफा खानेपानीको व्यवस्था नभएको गाउँ–गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्दै घर–घरमा सरसफाइमा रेडक्रसकर्मीहरू पाल्पाको गाउँ–गाउँमा खटिएका हुन् । गाउँमा न्यून आयश्रोत भएका, गरिब, अशिक्षित, दलित र जनजाति परिवारहरूको सहयोगको लागि रेडक्रसकर्मीहरू खटिंदै आएका छन् । पाल्पाको दोभान र कचल गाउँका विभिन्न टोल टोलहरूमा पुगेर विगत दुई वर्षदेखि पाल्पाका रेडक्रसकर्मीहरू सरसफाइदेखि जनचेतननाको काममा परिचालित भएका छन् ।
अष्ट्रियन रेडक्रसको आर्थिक सहयोग, केन्द्र रेडक्रसको समन्वय र जिल्ला रेडक्रस पाल्पाको व्यवस्थापनमा तिनाउ गाउँपालिका वडा नंं. १ कचल र वडा नंं. २ दोभानका १ हजार ६ सय ८० घरपरिवारमा समावेशी खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पाका वरिष्ट कार्यक्रम अधिकृत बाबुराम कार्कीले बताए ।
स्वास्थ्यसम्बन्धी कार्यक्रम, पर्चा, पम्पलेट बोकेर रेडक्रसकर्मीहरू दोभान र कचलको घरघरमा पुगेका छन् । दुबै गाउँको खानेपानी सुविधा नभएका १ सय ८० घरपरिवारमा एक घर एक धारा निर्माण गरी वितरण भएको छ । खोलाको पानीमा निर्भर भएका दोभान र कचलका गरिब जनताहरू घर–घरमा निःशुल्क धारा आएपछि खुसी भएका छन् । स्वास्थ्यको स–साना कुराका लापरबाहीबाट नै स्वास्थ्य खराब हँुदै जाने भएकोले स्वच्छ खानेपानी, सफा शौचालय, जुठा तथा फोहोर भाँडाकँुडा माझ्ने तथा सुकाउने तरीका र स्थानको बारेमा रेडक्रसकर्मीहरूले सहयोग गरेको रेडक्रस पाल्पाका सुपरभाईजर बलबहादुर सिंह ठकुरीले बताए ।
रेडक्रसकर्मीले घर–घरमा मात्र होइन बालबालिकाहरूलाई लक्षित गरी विद्यालयहरूमा पनि सफा पानी र शौचालयको निर्माण गरेका छन् । घर–घरमा निर्माण भएका शौचालयको प्रयोग, शौचालय प्रयोगपछि साबुनपानीले मिचीमिची हातधुने तरिकाले गाउँ नै पूर्ण सरसफाइ उन्मुख भएको छ । शौचालयको सही प्रयोग र नियमित साबुनपानीले हातधुने अभियानकै कारण पछिल्लो दुई वर्षयता झाडापखालाजन्य रोगहरूमा कमी आएको तिनाउ गाउँपालिका दोभान नुवाकोटकी हरिकला कुमालले बताइन । शौचालय नभएका गरिब परिवारमा शौचालय निर्माणदेखि मर्मत सम्भारसम्मको सहयोग रेडक्रसकर्मीले गरेका छन् ।
रेडक्रसकर्मीहरूले परियोजनामार्फत सरसफाइ मात्र होइन अति न्यून आम्दानी भएका घरपरिवारको छनौट गरी आम्दानीका श्रोतहरूको व्यवस्थापन गरेका छन् । परियोजनाले १६ घरपरिवारमा बंगुर, ७ घरपरिवारमा बाख्रा, ३ घर परिवारमा स्थानीय जातका कुखुरा, युवती तथा महिलाको लागि सिलाई कटाई तथा श्रृङ्गार पसल सञ्चालनको लागि सहयोग गरेको छ । परियोजना सञ्चालनसंगै कोरोना संक्रमणले कुनै गाउँ घरपरिवार अछुतो नरहेको अवस्थामा जनचेतना, माईकिङ्ग, प्रर्चा, पम्पलेटसंगै मास्क, सेनिटाइजर, फोहरोे व्यवस्थापनको लागि वाल्टी वितरण गरी कोभिड नियन्त्रणमा समेत रेडक्रसकर्मी जुटेका छन् । कोरोनाको कारण कम आम्दानी भएका गरिब, जनजाति तथा दलित परिवारका दिर्घरोगीहरूको औषधि तथा पौष्टिक आहारको खरिदको लागि परियोजनाले दुई–दुई हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
बीमा नभएका, अस्पतालको बिरामी कार्डको आधारमा ५० वर्ष उमेर पार गरेका दिर्घरोगीहरूलाई परियोजनाले औषधि खरिदको लागि रकम सहयोग गरेको हो । कचल र दोभानका २ सय दिर्घरोगीहरूलाई दुई हजारका दरले औषधि खरिदको लागि रकम वितरण गरिएको रेडक्रस पाल्पाका लेखापाल सुवास तामाङले बताए । रेडक्रस पाल्पाले विभिन्न अस्पताल, सामुदायिक अस्पताल तथा गाउँघर क्लिनिक तथा स्वास्थ्य चौकीहरूमा मास्क, सेनिटाइजर, पञ्जा, पीपीई सेट, ज्वरो नाप्ने थर्माेमिटर, अक्सिजन प्लसलगायतका स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आएको छ ।