सन्तोष गहतराज
पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिकामा बनाइने बगनासे चाबी लोप हुने अवस्था पुगेको छ । घरको सुरक्षा गर्नका लागि मानिसहरूले स्थानीय स्रोत, सीप तथा साधनको प्रयोग गरी बनाएको चाबी ऐतिहासिक मानिन्छ ।
गाउँपालिकाको वडा नं. ९ बगनासमा बनाउने गरेको बगनासे चाबी पुस्ता हस्तान्तरण अभाव एवम् संरक्षणको अभावले गर्दा लोपन्मुख हुने अवस्था पुगेको छ । स्थानीयस्तरमा उपलब्ध हुने स्रोत तथा साधनहरूको प्रयोगबाट निर्माण गरिने उक्त चाबी सुरक्षाको हिसाबले बजारमा पाइने चाबीभन्दा सुरक्षित हुने गर्दछ । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे चाबीको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा बाहिर देशबाट आयातित साँचोले गर्दा उक्त बगनासे चाबीको माग घट्न गइ बजारमा करिब लापोन्मुख अवस्थामा पुगेको हो । साना–साना फलामको टुक्राहरूलाई जोडी निर्माण गरिने उक्त चाबी हेर्दा आकर्षक पनि देखिने गर्दछ ।
स्थानीय टेकबहादुर विश्वकर्मा अहिले ७३ वर्षका भए । सानै उमेरदेखि नै उनले आफ्नो बाबुबाजेसँगै बसेर आरनको काम सिके । उमेरले बुढेसकाल लागिसक्यो तर विश्वकर्माले भने आफ्नो परम्परागत पेशालाई निरन्तरता दिँदै आएका छन् । विश्वकर्माले परम्परागत पेशालाई निरन्तरता दिँदै हँसिया, कोदालो, बन्चरो, खुकुरीलगायतका सामग्री निर्माण गर्छन् । विश्वकर्माको अर्को महत्वपूर्ण सीप बगनासे साँचो निर्माण पनि हो । उनले हालसम्म बगनासे साँचो निर्माण गर्दै आएका छन् । आगामी दिनमा उक्त साँचो पुस्ता हस्तान्तरण अभावले लोप हुने हो कि भनेर चिन्ता लागेको उनी बताउँछन् ।
साँचो सुरक्षाको दृष्टिकोणले बलियो भए पनि निर्माण गर्न भने समय लाग्ने विश्वकर्माले बताए । उनले उमेर छंदा दैनिक २ वटासम्म साँचो तयार गर्ने गरे पनि हाल बुढेसकाल लागेको र काम गर्ने शक्ति पनि कम भएपछि दिनमा १ वटासम्म निर्माण गर्ने गरेको बताए । दिन भरिको मेहनत लाग्ने भएकोले एउटा साँचोको ५ सय रुपैयाँमा बेच्ने गरेको उनले बताए ।
सोही स्थानका रवीलाल विश्वकर्मा ७० वर्षका भए । उनले पनि आरनको कामलाई निरन्तरता दिँदै आएका छन् । उनले हँसिया, कोदालो, बन्चरोलगायत फूलबारी कार्यक्रमलाई आवश्यक पर्ने सामग्रीको निर्माण गर्छन् । रवीलालले पनि बगनासे साँचो बनाउँछन् । त्यस्तै उनले मर्चुङ्गा बाजा पनि निर्माण गर्छन् । बजारमा आयातित आधुनिक साँचोको प्रयोग बढेको र आफूहरूले उत्पादन गरेको परम्परागत बगनासे साँचोको प्रयोगमा कमी आउँदा अहिले साँचोहरूको उत्पादन हुन छाडेको उनले बताए । पछिल्लो समयमा स्थानीय सरकारले उक्त साँचोको संरक्षण गर्नका लागि आफूहरूलाई उत्साह दिने कार्य सञ्चालनको साथै पुस्ता हस्तान्तरणको लागि पहल गरिरहेको पनि उनले बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकामा पाइने बगनासे साँचो पाल्पा जिल्लाको एक पुरानो साँचो रहेको बताए । परम्परागत स्रोत तथा साधनहरूको प्रयोग गरी निर्माण गरिने उक्त साँचो स्थानीय सरकार आएसँगै प्रचार प्रसार गरी पर्यटकहरूलाई आकर्षित गर्नका लागि स्थानीयहरूसँग सहकार्य गरी उत्पादन कार्यलाई निरन्तरता दिने र पुस्ता हस्तान्तरण कार्य गरिएको उनले बताए । बजारमा पाइने साँचोको कारण झण्डै लोपन्मुख हुने अवस्था पुगेको बगनासे साँचोलाई संरक्षण गर्नका लागि साँचो निर्माण गर्ने नागरिकहरूलाई अनुदान प्रदान गरी उक्त साँचोको संरक्षण गर्नका लागि गाउँपालिका अगाडि बढेको उनले बताए ।
साँचो उत्पादन गर्नका लागि अनुदान, तालिम, साथै बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने गरी साँचोको उत्पादन र बजारीकरण लागि साँचो उत्पादन गर्ने संस्थासँग सहकार्य गरी केही परिमार्जन गरी आधुनिक किसिमबाट साँचोको उत्पादनमा र बिक्री वितरण गर्ने कार्य अगाडि बढाउनका लागि सहकार्य गरेको उनले बताए ।
पाल्पा जिल्लामा यस्ता धेरै परम्परागत रूपमा निर्माण गरिने बस्तुहरू रहेका छन् । यस्ता परम्परागत बस्तुहरूको संरक्षणका लागि पुस्ता हस्तान्तरणको साथै व्यवसायिक करण गर्न सकेमा देशमा स्वदेशी बस्तुको उपभोगमा वृद्धि, परम्परागत कला शैलिको संरक्षण पर्यटन प्रवद्र्धनको साथसाथै स्थानीय आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ ।