कोरोना भाइरसले आजित भएको मानव समुदायलाई फेरि निपाह भाइरसले झस्काएको छ । निपाह भाइरस कोरोना भाइरसभन्दा निकै घातक देखिएको छ । यो भाइरस बढी संक्रामक पनि छ । निपाह भाइरस संसारको धेरै जनसंख्या भएका देशहरुमध्ये छिमेकी देश भारतको केरलामा देखिएको छ । र, यो कोरोना भाइरसका विभिन्न स्वरुपभन्दा बढी भयावह मानिएको छ । भारतको केरलामा देखिएको भाइरसको संक्रमणको फैलावट के–कस्तो अवस्थामा छ भन्ने कुरा सार्वजनिक गरिएको छैन ।
निपाह भाइरस मानिसका लागि खतरनाक रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेदेखि नै सचेत रहन आग्रह गरेको छ । भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै सतर्क गराएको छ । नेपाल र भारतबीच खुला सीमा भएकाले सबै नागरिक सतर्क रहन जरुरी छ । नेपालमा अहिलेसम्म उक्त भाइरसका संक्रमित फेला नपरे पनि हेलचेक्र्याई भने गर्नु हुँदैन । कोरोना भाइरस पहिलो पटक चीनमा देखिदा त्यसले विश्वजगतलाई नै तहस नहस पार्छ भनेर कसैले कल्पना गरेको थिएन ।
निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिक रुपमा ‘फूट व्याट’ भन्ने प्रजातिकोे चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेराबाट सुंगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा सर्दछ । यस्तै संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।
निपाह भाइरस बढी जोखिमपूर्ण रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यो भाइरसको रोकथाम र संक्रमण हुन नदिन बढी सर्तक रहन विश्व स्वास्थ्य संगठनले अपिल समेत गरेको छ । पहिलो चरणमा दक्षिण एसिया बढी जोखिममा छ । त्यसमा पनि भारत छिमेकी देश र खुला सीमाना भएकाले नेपाल झन् बढी जोखिममा छ । भारतमा लाखौं नेपाली रोजीरोटीका लागि गएका छन् । उनीहरु संक्रमित भएर नेपाल आए भने संक्रमण फैलिने उच्च जोखिम छ ।
निपाह भाइरसबाट संक्रमित नहुन सावधानी अपनाउनु पहिलो प्राथमिकता हुनु पर्दछ । त्यसका साथै यसको लक्षणबारे सबैले जान्न जरुरी छ । यो भाइरस संक्रमण भएमा ज्वरो आउने रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने र टन्सिलाइटिस देखिने गर्दछ । निपाह भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्व स्वास्थ्य संगठनले निपाह भाइरसबाट सर्ने रोगलाई विश्व १० प्राणघातक रोगमध्ये एक मानेको छ ।
निपाह भाइरसबाट बच्न सम्भव छ तर त्यो व्यक्तिको आनीबानी र व्यवहारमा भर पर्दछ । यसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खानुपर्दछ । तरकारी पकाएर खाने, गाइवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुन पानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गरियो भने निपाह भाइरसबाट जोगिन सकिन्छ ।
निपाह भाइरस संसारकै लागि नितान्त नयाँ र बढी संक्रामक भएकाले विशेष सतर्क रहनै पर्दछ । समयमै उच्च सतर्कता नअपनाउने हो भने भोली महामारी निम्तिने उच्च जोखिम छ । सरकारीस्तरबाट यो भाइरसबारे जनचेतना जगाउन तत्काल पहलकदमी लिनु पर्दछ । तिनै तहका सरकारले निपाह भाइरसबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिला गर्नु हुँदैन । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु उत्तम हुनेछ ।