श्रीराम ज्ञवाली
विश्व मानचित्रमा नेपाल भौगोलिक रुपमा सानो रहेता पनि नेपालको प्राकृतिक, सांस्कृतिक, मौलिकताजस्ता महत्वपूर्ण क्षेत्रमा नेपाल अगाडि छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश नेपाल हो । यहाँका प्राकृतिक सम्पदाहरु सर्वाेच्च शिखर सगरमाथाजस्ता अनेकन हिमालहरु, हावापानीका हिसाबले अत्यन्त मानव अनुकूल हावापानी, मौसम, यहाँको सांस्कृतिक, भातृत्व शान्तिनायक गौतम बुद्धको देश जस्ता अनेकन पक्षबाट नेपाल विश्वकै महत्वपूर्ण राष्ट्र हो ।
हामी यी पक्षहरुलाई उपयोग गरेर नैतिक, भौतिक रुपमा माथि उठ्ने प्रशस्तै आधारहरु छन् । हामी स्वदेशी साधन, स्रोत र जनशक्तिलाई उपयोग गरी सम्पन्न मुलुक र विकसित मुलुक बनाउन सक्छौं । बगिरहेका नदीनालाबाट विद्युत्, सिंचाई गरी यहाँको भौगोलिक स्वरुपलाई पर्यटकीय रुपमा व्यवस्थित गर्न सकिन्छ । हाम्रा मौलिकताहरुबाट आफू आत्मनिर्भर हुने एवं पर्यटक भित्र्याउन सकिन्छ । गौतम बुद्धका सन्देशहरु अवलम्बन गरी भातृत्व विकाससँगै मानवीयता प्रदर्शन भएको मुलुक बनाउन सक्छौं ।
बहुआयमिक क्षेत्रबाट हामी सम्पन्न हुँदाहुँदै पनि आज हामी पछाडि परिरहेका छौं । हामी जसरी कस्तुरी मृगले आफ्नो शरीरको सुगन्ध पछ्याउन भौतारिरहेको हुन्छ, त्यसैगरी हामी भौतारिरहेका छौं । यसलाई हामी समयमै चिन्न सकिएन भने अहिलेभन्दा पनि दर्दनाक अवस्थामा पुग्न सक्छौं । यसका लागि हामी क्रमिक रुपमा आफू परिवार समाज र राष्ट्रको लागि लाग्नु आवश्यक छ ।यसका लागि राज्यले नीति निर्माण गर्दा, हरेक योजनाहरु बनाउँदा परनिर्भर नभई आत्मनिर्भर बन्न प्रेरित गर्ने गरी कार्य योजना बनाउनु पर्छ । देशमा प्रमुख भूमिका राजनीतिको हुन्छ, र राजनीतिज्ञले स्वावलम्बी देश बनाउन सोच्नु आवश्यक छ । कार्यपालिका, न्यायपालिका सरकारका हरेक अंग, संघ, संस्था, पेशा, व्यवसाय सम्पूर्ण क्षेत्रमा स्वावलम्बनको योजना अनुसार अगाडि बढ्नुपर्छ । पहिलो कुरा त हामी स्वावलम्बी बन्न हरसम्भव प्रयास गर्नुपर्छ । यसका लागि अल्पकालीन योजनादेखि दीर्घकालीन योजनाहरु पूरा गर्नका लागि स्थिरता आवश्यक छ ।
हाम्रो देशको सबैभन्दा ठूलो समस्या नै अस्थिरता देखिएको छ । सरकारको कुरा गर्नु पर्दा एउटा सरकार निर्वाचित भएर आउँदा कम्तीमा ५ वर्ष रहनु पर्छ । पाँच वर्षसम्म कार्ययोजनाहरु नीति निर्माणका कार्यक्रमहरु निर्माण गरी र लागू गर्न समय लाग्छ ।
पाँच वर्षमा परिणाममुखी कामहरु भएमा पुनः उही सरकारलाई प्राथमिकता दिनुपर्छ र परिणाम आएन भने अर्काेलाई मौका दिनुपर्छ । तर हाम्रो देशमा दुर्भाग्य नै मान्नुपर्छ राम्रोले राम्रो ग¥यो भने उसको लोकप्रियता बढ्छ, म ओझेलमा पर्छु भन्ने खराब सोचबाट ग्रसित समाज छ । राम्रोले राम्रो ग¥यो भने हामीलाई पनि राम्र्रो हुन्छ । भन्ने चेतनास्तर बढाउनु प्रमुख आवश्यकता देखिन्छ । समाजमा एनिहाउ पैसा कमाउ भन्ने गैरपूँजीवादी संसकार हावी छ । अर्काको ठगी, चोरी, हत्या, हिंसा जसरी हुन्छ । कमाउने भन्ने संस्कार नै आजको समाजको गम्भीर प्रश्न हो ।
हो, पूँजी आवश्यक छ । यो क्रमिक रुपमा बढाउँदै लैजानु पर्छ, रातारात पूँजी जम्मा हुन्न यो हुनु भनेको समाज हिंसातर्फ जानु हो भन्ने प्रमुख कुरा आजको समाजले गम्भीर रुपमा लिनु पर्छ । समाजमा ठगी गरेका, चोरी गरेका, हत्या, हिंसाबाट रातारात धनी हुने खराब चिन्तनधारीहरुलाई समाजले तिरस्कार गर्नुपर्छ र तिनीहरुलाई सबैले घृणाकोे रुपबाट हेर्नुपर्छ । दण्डित गर्नुपर्छ । क्रमिक रुपमा अगाडि बढेका सुपात्रहरुलाई सम्मान गर्नुपर्छ । महत्व दिनुपर्छ । जसले शारीरिक एवं मानसिक रुपले महेनत गरेर क्रमिक रुपमा माथि उठ्छ, उनीहरुको मार्गबाट समाज अगाडि बढ्नुपर्छ ।
हामीले समाजवादको सपना लिएर संघर्ष गरिरहँदा गैरपूँजीवादलाई परास्त गर्नेतर्फ ध्यान पु¥याउनु पर्छ । हामीले पूँजीवादी मुलुकहरु देखि ,सुनिरहेका छौं । त्यहाँ न सुख छ, न शान्ति छ, ठगी, चोरी, हत्या, हिंसा मात्र पाउने गर्छौ । त्यसैले मानव जीवनयापनका आधारहरु खाना, नाना, छाना, शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा लिएर आ–आफ्नो महत्वकांक्षा कुलशतामा रहेर आफू, परिवार, समाजका लागि लाग्नु आजको आवश्यकता हो ।