चतुर्भुज आत्रेय
म नेपाली, मेरो देश नेपाल । हिमाल, पहाड र तराईका भू–भागमा बस्ने जनता जो दुःख निवारण गर्न पसिना बगाएर परिवार पाल्ने र आफू बाँच्ने सोंचमा कष्टसाध्य जीवन बाँचिरहेका छन् । ती सबै मेरा आफन्ती, आफ्ना मान्छे । मेरा आफन्ती जनहरु । सबैले यो मातृभूमि नेपालको र त्यसको समाधानका लागि सामूहिक प्रयत्न गरुन् र यो मेरो आकांक्षा । सचेत जनताको कर्मभूमि होस् देश मेरो चाहना हो ।
हो, बाहिर बाहिर सतहबाट नियाल्दा मेरो देशको परिस्थिति त्यति विष्फोटक नदेखिएको हुन सक्छ तर जब म गम्भीर बनी गहिरिएर विचार गर्छु मेरो देशको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, नैतिक, चारित्रिक सबै परिस्थितिहरु धमिरोले खाएका खाँबा जस्ता छन् । राजनीतिक क्षेत्रमा छलकपटको साम्राज्य छ । सामाजिक क्षेत्र यो पार्टी र त्यो पार्टी, यो गुट र त्यो गुटको दुर्भावनाले ग्रसित ।
आर्थिक क्षेत्र अराजकताले बेहाल देख्छु । अनि जब आधा मिनेट आँखा चिम्लेर मेरो देशको प्रशासनिक स्थिति र अवस्थातर्फ नियाल्ने कोसिस गर्छु, फोहोरमैलाका डंगुरले देशको प्रशासनिक लुट–खसोकका चित्र र चित्रणहरुले आफूलाई फोहरमैैलाका चारैतिरबाट परिवेष्ठित अवस्थामा रहेको महसुस हुन्छ । अनि जब तल्लो ओंठ टोकेर एकैछिन निधार खुम्चाउँछु नैतिक ह्रासको झन कहाली लाग्दो विचलनका परिदृश्यहरु मेरो मानसपटलमा एक एक गर्दै थुप्रिएको महसुस गर्दा आङ सिरिङ हुन्छ । गोडा लग्लगी काप्छन्, कम्पायमान हुन्छ शरीर । कहाँ छन् त असल चरित्रहरु भन्दै जब खोज्ने प्रयास गर्छु लुम्बिनी प्रादेशिक अस्पतालको डाइलेसिस कक्षमा निष्प्राण मूढो झैं पल्टिरहेको बेला सिष्टरहरुको मसिनो स्वर मेरो कानमा पस्छ–‘सरी है बुबा !’
म हप्ताको दुई दिन डाइलेसिसमा छु –सोमबार वृस्पतिबार हरेक सोमबार र बिहीबारलाई मैले मेरो देशको असल चरित्रहरु भेट्टाउने अवसर पाएको अनुभूत गर्छु । यसो त डाइलेसिस वार्डमा प्रवेश गर्छु जब सिष्टरहरुलाई देख्दा गृहकार्य नगरेको विद्यार्थी कक्षा कोठामा प्रवेश गरेको स्थिति जस्तो हुन्छ । मेरो दाहिने पाखुरो ललाकलुलुक बन्ने गर्छ प्रत्येक डाइलेसिसको बेला । मोटामोटा दुई–दुई वटा सुइराहरु खिरिलो पाखुरामा घुसारिदा उग्र पीडाले एक छिन छटपटाउँछु तर ती नानीहरुले बिरामीप्रति देखाएको सद्भावबाट पोखिएको कोमल भावनामा मेरो पीडादायी पीडा त्यसै धाममा बरफ बनिदिन्छ । निःसन्देह उनीहरुले पूरा गरिरहेको दायित्व र दायित्वपूर्ण जिम्मेवारीको चित्रले मेरो मस्तिष्कमा एउटा आकारको रुप लिन्छ । र भन्छु मनमनै यस्तै चरित्रका बनुन् आम पेशाकर्मीहरु । कति इमान्दार र कति असल छन् यी नानीहरु ।
कति सहयोगको भावना छ यी देवीहरुमा । मैले फ्रोरेन्स नाइटेंगलको बारेमा केही पढेको थिएँ । ‘लेडी विथ छ ल्याम्प’ नाइटेंगलप्रति बिराामीहरुको धारणा । यही धारणालाई आधार बनाएर यो डाइलेसिस कक्षका सिस्टरहरुको र अन्य कर्मचारी एवं डाक्टरहरुको काम गराइलाई गहिर बनेर विचार गरें । मनबाट आफै निस्क्यो – दे आर रोलमोडल । थ्यांक्यू देम ।
आज अनेक प्रकारका छद्म भेषमा विभिन्न नामका थरिथरि व्यवसायीहरुले मेरो देशलाई चुसिरहेका छन् । नेताले चुसेका छन् । मन्त्री प्रधानमन्त्रीको पगरी गुथ्नेहरुले चुसिरहेका छन्, व्यापारीहरुले चुसिरहेका छन्, नेताका झोलेहरुले चुसेका छन् । अनेक प्रकार लाम्खुटे, उपियाँ, उडुसहरुले चुसेका छन् । ओहदामा बसेर आफ्नो कर्तव्य पालन गर्ने साँपहरु गोमन सर्प, हरिया सर्प, करेत सर्पाहरु संसद भवन र सिंहदरबारमा छिरेर देशलाई विभाजन गर्ने र कथित एमसीसी नामधारी अमेरिकी अजिंगरको मुखमा छलेर रमिता हेर्न चाहने बज्रस्वाठहरुले यो वा त्यो रुपका अनेक वितण्डा र बबालबीच चोर बाटोबाट काम फत्ते गर्ने सुरमा छन्, बौलाहाहरु । त्यसैले सरकार र जनताको बीचमा सु–सम्बन्ध छैन । बौलाहाहरु र सद्धे सचेत नागरिक बीचमा सु–सम्बन्ध छैन, दुराचारी भ्रष्ट, नीच, पतित, ‘आचि’ खाने गद्दार र स्वाभिमानी नेपाली जनताका बीच हार्दिक सम्बन्ध र पारस्परिक मैत्रीभाव छैन । बौलाहाहरुका त्रुटीपूर्ण र अविस्वस्थ नीति नियम एवं त्यसलाई जबर्जस्ती पालना गर्नु पर्ने करकापमा परेर निरुत्साहितएको जनमत यही भन्दै छ– एमसीसी मुर्दावाद पथ भ्रष्टहरु मुर्दावाद ।
आम नेपाली जनताका मन मन्दिरमा देदीप्यमान विराट आकांक्षा थिए–लोकतन्त्र आएपछि हाम्रो प्यारो देश नेपाल राष्ट्रको भविष्य स्वर्णाक्षरमा लेखिन लायकको हुनेछ । सहिदहरुका स्वर्णिम सपनाहरुको प्रतिबिम्ब सिंह दरबारका कोठा कोठा र चोटा चोटामा चम्किने छ । किनकी लोकतन्त्रको युग जनताको हुनेछ । लोकतन्त्रका अगुवा पात्र विश्वासिला र भरपर्दा र जनमैत्री भावका हुनेछन् । मेरो राजनीतिक कार्यकर्ताको जीवन, भूमिगत जीवन, जेल जीवन, पत्रकारिताको जीवन शिक्षक हुँदाको जीवन पार गर्दै मृर्गौला रोगको पराकाष्ठा डाइलेसिस अवस्थाको जीवनसम्मको यात्रामा जे–जति तिता मिठा अनुभूति व्यहोरेर ती सबै अनुभव र अनुभूतिलाई फिका बनाई अमूल्य र अविस्मणीय अनुभव अहिले प्राप्त गर्दैछु । ‘सरी है बुबा !’ जय होस् यो देशको । जय होस् इमान्दार पेशाकर्मीको । जय होस् सुमन्नत सकल्प लिएर जागिरमा प्रवेश गरेपछि जागिरप्रति प्रवल विश्वास राखेर सेवाग्राहीहरुलाई उचित कदर गरेर आफ्नो महानता देखाउने राष्ट्रका गौरवहरुको । स्वास्थ्य जीवन मानवको आधारभूत कुरा हो । कोही पनि मान्छे बिरामी हुन चाहन्न । बिरामी हुनु उसको बाध्यता हो । यस कुरालाई हरेक स्वास्थ्यकर्मीहरुले आत्मबोध गरुन् मेरो शुभकामना !