आज राष्ट्रिय बाल दिवस । नेपालमा विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाउने गरिन्छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । विक्रम सम्वत २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको बाल दिवस वि.स. २०६३ पछि भदौ २९ गते मनाउन सुरु गरिएको हो ।
संयुक्त राष्ट्र संघको महासभाबाट विश्वका सबैभन्दा बढी राष्ट्रले एकै पटक अनुमोदन गरेको महासन्धिले १८ वर्षभन्दा कम उमेरका सबै मानिसलाई बालबालिका मान्नुपर्छ भनी परिभाषित गरेको छ र उनीहरुको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व राज्यको हो भन्ने कुरा प्रष्ट रुपमा उल्लेख गरेको छ । यस महासन्धिले प्रत्येक बालबालिकाले विना कुनै भेदभाव नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पाउनु पर्ने र ती सबै अधिकार अविभाज्य रहनु पर्ने कुरालाई स्थापित गरेको छ ।
बाल दिवस मनाउनुको मुख्य उद्देश्य बालबालिकाले आफ्ना अधिकार सहज रुपमा प्राप्त गरुन् भन्ने हो । बालअधिकार भनेको बालबालिकाका लागि प्राप्त हुने विशेष अधिकार हो । गर्भदेखि बालक रहुञ्जेलसम्म उपभोग गर्न पाउने सबै अधिकारहरु बालअधिकार भित्र पर्दछन् । नाम र राष्ट्रियताको अधिकार, आमा बाबुसँग बसोबास गर्ने अधिकार, पारिवारिक पुनर्मिलनको अधिकार, बालबालिकाले विचार प्रकट गर्न पाउने अधिकार, शिक्षा, स्वास्थ्य आदिको अधिकार बालअधिकारभित्र पर्दछन् । १८ वर्ष उमेर नपुगेका सबै व्यक्तिले यस्तो अधिकार प्राप्त गरुन् भन्ने बाल दिवसको उद्देश्य हो ।
नेपालको संविधानले बालबालिकाको पहिचानसहित नामाकरण र जन्मदर्ताको हक, परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गिण व्यक्तित्व विकासको हक आदि प्रत्याभूत गरेको छ । यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने, बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने हक सुनिश्चित गरिएको छ । शारीरिक, मानसिक वा अन्य कुनै किसिमका यातना दिन नपाइने व्यवस्था संविधानमै छ ।
विगतको तुलनामा नेपालमा बालअधिकारको क्षेत्रमा महत्वपूर्ण कामहरु भए पनि सबै बालबालिकाले त्यस्तो अवसर प्राप्त गरेका छैनन् । अहिले पनि धेरै बालबालिका शिक्षाको पहुँचबाट बाहिर छन् । स्वास्थ्य उपचार सहज पाउन सकेका छैनन् । बालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सकिएको छैन । जोखिमपूर्ण काममा लगाउने र गैरकानूनी ओसारपसारमा रोक लगाउन सकिएको छैन । सडक बालबालिकाप्रति राज्यको ध्यान पुगेको देखिदैन । बालबालिकालाई कुलतमा फसाउने गरिएको छ । समाजका गलत दुष्चक्र तोड्न नसक्दा बालअधिकार सबैले प्राप्त गर्न सकेका छैनन् ।
नेपालमा बालबालिकाले थुप्रै हक प्रत्याभूत गरेतापनि कार्यान्वयनको पाटो फितलो भइदिँदा कैयौं बालबालिकाहरु आफ्नो हक अधिकारबाट वञ्चित भएका छन् । कानून राम्रो भएर मात्रै हुँदैन, कार्यान्वयन प्रभावकारी भए मात्रै त्यसले परिणाम देखाउँदछ । नभए कानून कागजमा सीमित हुन्छ । नेपालमा बालबालिकाको क्षेत्रमा सरकार र निजी क्षेत्रबाट केही प्रयास भए पनि त्यो पर्याप्त छैन । यही कारण बेलाबेलामा बालदिवसको औचित्य तथा सार्थकतामाथि प्रश्न उठ्ने गरेको छ । महासन्धि र नेपालको संविधानले व्यवस्था गरेको अधिकार उपभोग गर्न पाउनु बालबालिकाको अधिकार हो । त्यस्तो अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।