प्रहरी भन्छ – ‘सीताको आत्महत्या हो, माइती भन्छन्–हत्या हो’
लुम्बिनी संवाददाता
बुटवल
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा एक परिवार न्यायका लागि लडेको सातादिन नाघ्यो । न्याय दिने निकाय नै चुप बसेपछि पीडामाथि पीडा बढ्दै गएको छ । न्याय दिने निकायले घटनाको अनुसन्धान नगरी बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी चित्कारमाथि दमन गरिरहेको हो ।
आइतबार साँझ ६ बजेतिर रुपन्देहीको मणिग्राम चोकमा करिव एक सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएका थिए । जनपद र सशस्त्रका हतियारी प्रहरीले भण्डारी परिवारले न्यायका लागि गरिरहेको गुहार दबाउन खोजिरहेका थिए । पीडितहरु प्रशासनले आफ्नो आवाज नसुनेको भन्दै सडकमै उत्रिएका थिए ।
घटना भदौ २० गते बिहान साढे ४ बजेको हो । दुई वर्षअघि विवाह गरेकी २८ वर्षीया युवती सीता भण्डारी पौडेलको मृत्यु भयो । उनले ‘आत्महत्या’ गरेको दाबी प्रहरीको छ । उनका माइती पक्ष भने यो स्वीकार्ने पक्षमा छैनन्, छोरीको ‘हत्या’ नै भएको दाबी गर्छन् ।
सीताको संकास्पद मृत्युपछि आफन्तले छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । तिलोत्तमा–८ मणिग्राम चार नम्बरमा २ वर्षअघि विवाह भएकी सीताको आफ्नै घरमा हत्या भएको भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
यही भदौ १९ गते राति हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न गए पनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका थिए । सीताका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा छोरीले ज्यान गुमाउनुपरेको बताए ।
पाल्पामा दरबार रिसोर्ट सञ्चालन गरेका सीताका श्रीमान ४३ वर्षीय टीका पौडेलको परिवारले योजनाबद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि आग्रह गरेका हुन् । ‘भदौ १९ गते रातिको घटना माइतिपक्षलाई भोलि बिहान ५ बजेमात्रै जानकारी दिइएको थियो ।’ घटनाको विवरण सुनाउँदै माइती पक्षले भने परिवार र प्रहरीले भने यस घटनालाई ‘आत्महत्या’ हो भन्दै वास्तविकता लुकाउन खोजेका छन् ।
घटनाको छानविनको माग गर्दै माइती पक्षले आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले युवतीको शव पोस्टमार्टममा आत्म हत्या भन्ने रिपोर्ट आएको जनाएको छ । प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पीडितका तर्फबाट परेको जाहेरीका आधारमा सीताका श्रीमान र आमाजुलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको बताए ।
पीडित पक्षले भदौ २२ गते दिएको जाहेरीका आधारमा श्रीमान टिका पौडेल र आमाजु विष्णु पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुस्साहनको जाहेरी परेको छ । प्रहरीले मृतक र निजका श्रीमानको मोबाइल टेक्निकल अध्ययनका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको जनाएको छ ।
प्रहरीले आत्महत्या भने पनि सीताको शरीरमा देखिएका अन्य निलडामको विषयमा केही खुलाएको छैन । माइती परिवारले भने उनलाई कुटपिट गरी हत्या गरिएको दाबी बारम्बार गरिरहेका छन् ।
एमालेले भन्यो–छानविन गर
नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको बैठकले तिलोत्तमा नगरपालिका वडा नं.–५ का टिका पौडेलको घरमा भाद्र २० गते २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्युप्रति दुःख व्यक्त गरेको छ ।
बैठकपछि प्रचार विभाग प्रमुख मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा घटनाको निस्पक्ष र विस्वसनीय अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गरी पीडित पक्षलाई समेत विस्वस्त बनाउन गृह प्रशासनसँग माग गरिएको छ ।
नगरपालिको ग¥यो छानविनको आग्रह
तिलोत्तमा नगरपालिकाले घटनाको छानविन गर्न सम्बद्ध निकायसंग माग गरेको छ । घटनाको छानविनका लागि सघाउन नगरपालिका तयार रहेको भन्दै प्रवक्ता सुरेन्द्र श्रीले पीडितलाई न्याय दिनका लागि माग गरिएको छ ।
नगरपालिकाले आन्दोलनमा संयमता अपाउन पीडित परिवारलाई समेत आग्रह गरेको छ ।