भण्डारी परिवारबाट ७६ लाख रुपैयाँ क्याम्पसलाई सहयोग

प्रेम सुनार
गुल्मी ।
केही दिनअघि गुल्मी घमिरका कुलबहादुर विश्वकर्माले तराजुको एक पल्लामा आफु र अर्को पल्लामा पैसा तौलेर पण्डितलाई तुलादान गर्दै आफ्नो चौरासी पूजा गरे । सात दिनसम्म गरिएको चौरासी पूजामा लाखौं रुपैयाँ खर्च गरे विश्वकर्माका छोराहरूले ।
तर उनकै गाउँ नजिकै पर्ने गुल्मी कै वस्तु निवासी ८२ वर्षीया पार्वतीदेवी शर्मा भण्डारीले उच्च शिक्षाको पहुँचमा नभएका दलित र अन्य समुदायका गरिबका छोरा छोरीहरूलाई उच्च शिक्षाको पहुँचमा पुराउनका लागि आफ्नो चौरासी पूजामा खर्च गर्ने रकम त्यहाँको एक क्याम्पसलाई दान गरेकी छन् ।
भण्डारीले आइतबार धुर्कोट गाउँपलिका वडा नम्बर ५ वस्तुमा रहेको धुर्कोट परमानन्द बहुमुखी क्याम्पसलाई त्यसको ११ औं वार्षिकोत्सवको अवसरमा १५ लाख रुपैयाँ दान गरेकी हुन् । उनले अब छिट्टै अफ्नो चौरासी पूजा गर्दैछिन् त्यसमा दान÷खर्च गर्ने रकम बराबरको १५ लाख रुपैयाँ गरिबका छोरा छोरीलाई उच्च शिक्षाको पहुँचमा पुराउनका लागि त्यस क्याम्पसलाई दान गर्ने ईच्छा जाहेर गरे पछि त्यसो गरिएको उनका छोरा कृष्णप्रसाद भण्डारीले बताए । आमाले त्यही ईच्छा प्रकट गरी भण्डारीले भनिन्–‘चौरासी पूजामा पण्डितलगातयलाई दान÷ खर्च गर्नुभन्दा गरिवका छोरा छोरीलाई उच्च शिक्षा दिन पाउनु त्योभन्दा ठुलो पूजा र पुण्य अरू के हुन सक्छ ?
उनका श्रीमानले पनि त्यसै गरेका थिए
यस्तो जनप्रिय र पवित्र कार्यको बाटो देखाउने प्रेरणादायि ब्यक्ति थिए उनै पार्वतिदेवी भण्डारीका श्रीमान परमानन्द शर्मा भण्डारी । उनले पनि ८२ वर्षको उमेरमा आफ्नो चौसारी पूजामा खर्च गर्ने रकम त्यसै क्याम्पसलाई १० लाख रुपैयाँ दान गरेका थिए । उनको मृत्यु पश्चात पार्वतिदेवीले पनि त्यसै गरिन । कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता गणेश श्रीपालीले छोटो प्रतिकृया दिँदै भने–‘वाह.. यस्तो पो चौरासी पूजा । कार्यक्रमा रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले स्वर्गिय परमानन्द शर्मा भण्डारी जिल्लाको शैक्षिक विकासका धरोहर रहेको स्मरण गर्दै जिल्लाको पहिलो रेसुङ्गा बहुमुखी क्याम्पस स्थापना गर्नेे उनको अग्रणी भूमिका रहेको बताए ।
पूजा अर्चना , दान दक्षिणमा खर्च गर्ने रकम शैक्षिक क्षेत्रमा खर्चिनु योभन्दा पवित्र कार्य अरू के हुन सक्छ ? –रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले यस्तो प्रतिप्रश्न गरे । परमानन्द भण्डारी कै अगुवाईमा त्यस धुर्कोट परमानन्द बहुमुखी क्याम्पस पनि स्थापना भएको थियो ।
पिताको मृत्यु पश्चात ५१ लाख रुपैयाँ छोराहरू क्रमशः भुवनेश्वरप्रसाद भण्डारी, कृष्णप्रसाद भण्डारी र कान्छा दयानिधी भण्डारीलगायतको परिवारले त्यस क्याम्पसलाई दान गरेका थिए । हालसम्म भण्डारी एउटै परिवारबाट ७६ लाख रुपैयाँ त्यस क्याम्सलाई सहयोग प्रदान भएको छ । जसका कारण हालसम्म त्यस क्याम्पसको बैंक खातामा १ करोड ७२ लाख ९० हजार ६ सय ७७ रुपैयाँ रहेको छ ।
त्यसैको ब्याजबाट सबै विद्यार्थीहरूले निःशुल्क अध्यान गर्न पाएका छन् भने टाढाबाट आउने विद्यार्थीहरूलाई आवास सुविधा समेत निःशुल्क गरिंदै आएको छ । २०५० सालतिर राज्यले समेत दलित, गरिब र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति नदिने गरेको अवस्थामा उनै प्रमानन्द भण्डारीले वस्तुसहित हालको धुर्कोट गाउँपालिका भित्रका विद्यालयहरूमा छात्रवृत्ति उपलब्ध गराउने पहल गरेका थिए । विशेषगरी दलित र अन्य समुदायका गरिबका छोरा छोरीलाई शिक्षाको पहुँच पुराउनु पर्छ भन्ने सुरुदेखि सोंच राख्दै आएको भण्डारीले रेसुङ्गा बहुमुखी क्याम्पस स्थापना गर्दा आफ्नो घडेरी दिएर पनि नपुगे पछि थप जमिन आफैले किनेर क्याम्पसको भवन निर्माण गरेका थिए ।
तत्कालिन नेकपा एमालेबाट जिल्ला उपसभापति भएका भण्डारी, नेपाली कांग्रेसबाट सांसद बनेका स्वर्गिय रूद्रमणी शर्मा भण्डारी, तत्कालिन एमालेबाट सांसद बनेका जैसीथोकका टंक पोखरेल, तत्कालिन एमालेका जिल्ला पार्टी अध्यक्ष स्वर्गिय टोमपाल पाण्डे र ढुण्डिराज शर्मा भण्डारीलगायतका अगुवाहरू कै पहलमा धुर्कोट बहुमुखी क्याम्पस स्थापनादेखि यस क्षेत्रको शैक्षिक विकासले गति लिंदै आएको छ ।
स्वर्गिय परमानन्दका छोरा कृष्णप्रसाद भण्डारी क्याम्पस सञ्चाक समितिको अध्यक्ष भएर क्याम्पसको विकासमा योगदान पुराउँदै आएका छन् । अर्का कृष्णप्रसाद भण्डारी स–शुल्कमा क्याम्पस प्रमुख जिम्मेवारीसहित पढाउँदै आएका छन् । अधिकांश विध्वानहरूले पनि न्यून वेतनमा पढाउँदै आएका छन् ।
स्थापनाको साढे तीन वर्षसम्म पूर्व सांसद रूद्रमणी शर्मा भण्डारीकी श्रीमति डाक्टर नातिमैया मानन्धर शर्मा भण्डारीले निःशुल्क क्याम्पस प्रमुखको जिम्मेवारीसहित काठमाडांैबाट आएर पढाएकी थिईन । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्ट , मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख लक्ष्मण पराजुलीलगायतका वक्ताहरूले पनि योगदान पुराउने ति सबै जनाको स्मरण गर्दैं उच्च सम्मान प्रकट गरे ।