कोरोनाले पेशा व्यवसायलाई नराम्रोसँग प्रभावित ग¥यो । धेरै नागरिकले जीवन धान्ने रोजगारी गुमाए । कोरोनाको पहिलो लहरमा देशबाहिर रहेका नागरिक जसरी भए पनि जन्मघर जाने भन्दै स्वदेशमा आए । परिवारसँग रमाए । तर विस्तारै उनीहरु आर्थिक रुपमा समस्यामा परेपछि देश छोड्न थाले । अहिले सीमाक्षेत्रबाट दिनहुँ भारत जानेको भीड छ । तेस्रो मुलुकमा जानका लागि भीसा लगाउनेको संख्या त्यत्तिकै छ । परिवारको लालनपालनका लागि कोरोनाको चिन्ता कम छ, भोकको चिन्ता बढी छ ।
कोरोना महामारीपछि गरिएको लकडाउनमा धेरै कृषकले कृषि उत्पादनमा जोड दिए । सदाको भन्दा उत्पादन पनि बढी गरे । तर त्यसले बजार भाउ पाउन सकेन । उनीहरुले उत्पादित सामग्री सिधै बजार लैजान सकेनन् । बिचौलियाले कृषकहरुबाट सस्तोमा लिने र महँगोमा बेच्ने गरेर मालामाल बने । तर त्यसको मारमा कृषक र उपभोक्ता परे । उपभोक्ताले चरम महँगोमा खरिद गर्नु प¥यो । अहिले फलफूल तरकारीमा मात्रै होइन, हरेक सामानको मूल्य आकाशिएको छ । सामान्य आम्दानी भएको नागरिकले जीवन धान्न निकै मुश्किल छ । बजार सहज भएपछि हरेक सामान सस्तो हुन्छ कि भन्ने आशा उपभोक्तालाई थियो । तर विडम्बना, तरकारीको मात्रै होइन, दैनिक उपभोग्य खाद्यवस्तुको पनि निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढी, पहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरेका छन् ।
नेपालीहरुका चाडपर्व भित्रिसकेका छन् । चेलीहरुको महान पर्व तीज भर्खरै सम्पन्न भएको छ । अब लगातार वडा दशैं, तिहार र छठ पर्व आउँदैछन् । यी चाडपर्वमा नेपाली उपभोक्ताले अन्य समयभन्दा धेरै सामान खरिद गर्ने गर्दछन् । यो बेला झन् महँगी बढाउने गरिन्छ । कतिपय अवस्थामा कृत्रिम अभाव सिर्जना गर्न खोजेर र कतिपय अवस्थामा अन्तर्राष्ट्रिय बजारको गलत तथ्यांक देखाएर मूल्यवृद्धि हुने गरेको छ ।
चाडपर्वको समयमा बजारमा महँगी अत्यधिक बढे पनि नियन्त्रण गर्दै संसदीय समितिहरु समेत निस्क्रिय छन् । पालिकाहरुले पनि त्यही सिको गरेका छन् र मौन बसेका छन् । व्यापारीले हदैसम्मको ठगी गरिरहँदा पनि सरकारले मूल्यवृद्धि थाहा नपाएको जस्तो गरिरहेको छ । अनुगमनकारी निकायहरु फिल्डमा जाँदा मात्रै पनि केही हदसम्म भए पनि मूल्यवृद्धि नियन्त्रण हुन सक्दथ्यो । तर विडम्बना अनुगमन हुँदैन । महँगी बढ्दै जाने, बजार अनियन्त्रित हुने र कालो बजारी समेत बढ्दै जानु भनेको गम्भीर विषय हो । यो सरकारका लागि लाजमर्दाे कुरा हो ।
अहिले विश्व नै कोरोनासँग लडिरहेको छ । मानिसको जीवनमा कोरोनाले बदलाव ल्याएको छ । अर्थतन्त्र अझै लयमा आउन सकेको छैन । व्यापार व्यवसाय भर्खरै तंग्रिदैछन् । यस्तो अवस्थामा नागरिकको कल्याण गर्नुपर्नेमा जसरी हुन्छ ‘लुट्ने’ कुरालाई जायज मान्न सकिदैन । एक हिसाबले भन्ने हो भने अहिले बजारमा अराजकता देखिएको छ । हरेक उपभोग्य वस्तु खरिदमा उपभोक्ता पीडित छन् । तर बजार मूल्य नियमन गर्ने सरकारी निकाय मूकदर्शक छ । मूल्य नियमनका लागि कुनै अग्रसरता नदेखाउनु विडम्बनापूर्ण कुरा हो । कम्तीमा सरकारले बजार मूल्य नियमनका लागि अनुगमन प्रणाली सशक्त बनाउनै पर्दछ । उपभोक्तालाई के कारणले मूल्य बढिरहेको छ भन्ने यथेष्ट जानकारी सरकारले दिनै पर्दछ ।