रूपन्देहीमा एमालेका ३७० जनप्रतिनिधिमध्ये ७ जनामात्रै समाजवादीमा गएका छन् । गुल्मीमा समाजवादी रोज्ने संख्या शून्य छ । पाल्पा र पश्चिम नवलपरासीमा एक÷एक जना मात्रै एमालेबाट टाढिएका छन् ।
प्रेम सुनार-कृष्ण पोखरेल-गौरीशंकर जयसवाल
गुल्मी-पाल्पा-नवलपरासी

नेकपा एमालेको गढ मानिने लुम्बिनी क्षेत्रमा पार्टी विभाजनको झिनो असर छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा निर्वाचित जनप्रतिनिधिहरू निकै कम गएका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये गुल्मीमा एक जनाले पनि समाजवादी रोजेनन् ।
रूपन्देहीमा स्थानीय तहका ७ जना जनप्रतिनिधीले मात्र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा समाजवादी कमजोर बनेको हो । प्रदेशसभामा एक जना रमा घर्तीले मात्रै समाजवादी रोजेकी छन् ।
निर्वाचित जनप्रतिनिधिमात्रै होइन, अन्य नेता कार्यकर्ता समेत समाजवादीमा लागेका छैनन् । माधव नेपाल खेमामा यसअघि खुलेका नेता कार्यकर्ता एमालेमै रहेका छन् ।
अध्यादेशबाट २० प्रतिशतको सीमा राखेर विभाजन भएको पार्टी रोज्न मंगलबारसम्म समयावधी थियो । निर्वाचन आयोगले दिएको मंगलबार साँझ ५ बजेको समय सीमाभित्र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा सनाखत गर्ने जन प्रतिनिधिको संख्या ७ पुगेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।
रूपन्देहीका १६ स्थानीय तहमा निर्वाचित ८४५ जना जनप्रतिनिधिमध्ये नेकपा एमालेबाट ३७० जनप्रतिनिधि निर्वाचित भएका थिए । तिमध्ये ७ जनाले मात्र नेकपा एमाले छोडेर एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एकिकृत समाजवादी रोज्नेमा सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमादेवी काफ्लेसहित बुटवल उप–महानगर पालिकाका ३ जना वडा सदस्य, तिलोत्तमा नगरपालिकाका १ जना वडा सदस्यले सोमबार सनाखत गरेका थिए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राजु गुरूङले निर्वाचन आयोगले दिएको समय मंगलबारसम्ममा एकिकृत समाजवादीमा प्रवेश गर्नेको संख्या निकै बढ्ने दाबी गरेका थिए ।
तर मंगलबार ५ बजेसम्म देवदह नगरपालिका वडा नं. ७ का महिला सदस्य सरस्वती पोखरेल र दलित महिला सदस्य सीतादेवी बिकले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी रूपन्देहीमा जनता समाजवादी पार्टी छोडेर १९ जनाले लोकतान्त्रिक समाजवादी पार्टी छन् ।
जिला निर्वाचन कार्यालयका अनुसार मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँ उपाध्यक्ष सुनिता कलवारसहित मायादेवी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र शुद्धोधन गाउँपालिकाका गरी १९ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादीका लागि सनाखत गरेका छन् ।
निर्वाचन आयोगले नेकपा एमाले विभाजन भएर भदौ १ गते निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु भएपछि विभाजित भएर बनेको एकिकृत नेकपा एकिकृत समाजवादी रोज्न र जनता समाजवादी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी रोज्नका लागि स्थानीय र प्रदेशका जनप्रतिनिधिका लागि भदौ २२ गतेसम्मको समयसीमा तोकेको थियो ।
पाल्पामा एक जना मात्र
निर्वाचन आयोगले मूल पार्टीबाट विभाजित भएका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्म दल रोज्न दिएको समय सीमाभित्र पाल्पामा एक जनाले मात्र नेकपा एस रोजेका छन् । रम्भा गाउँपालिका वडा नंं. ५ का वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले मात्र नेकपा एस रोजेका हुन् ।
जनप्रतिनिधि श्रेष्ठले मंगलबार दिउँसो पौनी ४ बजे जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगी नेकपा एमाले छोडी नेकपा एसमा प्रतिनिधि कायम गरिदिन निवेदन दिएका हुन् । पाल्पाको १० वटा स्थानीय तहमध्ये नेकपा एमालेबाट ६ वडा पालिकामा एक मेयरसहित ५ अध्यक्ष, ७ वटा पालिकामा उपाध्यक्ष, ४१ वडामा वडाअध्यक्षसहित २ सय ६५ जना स्थानीयतहमा निर्वाचित भएकोमा २ सय ६४ जना एमालेमै कायम रहेका छन् भने १ जना सदस्यले मात्र नेकपा एस रोजेका हुन् । यसैगरी जिल्ला समन्वय समितिमा कार्यवाहक प्रमुखसहित ८ जनाले नेकपा एमाले रोजेका छन् । समन्वय समितिका प्रमुखको निधन भइसकेकोले हाल कार्यवाहक प्रमुखसहित ८ जना मात्र जनप्रतिनिधि समन्वय समितिमा रहेका छन् ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट पाल्पाबाट ४ जना निर्वाचित र एक जना समानुपातिक सांसद रहेकोमा समानुपातिक सांसद रमा घर्तीले नेकपा एस रोजेकी छन् भने ४ जना एमालेमै कायम रहेका छन् ।
यसै गरी संघीय सांसदमा पाल्पामा २ जना नेकपा एमालेबाट निर्वाचित भएकोमा आधिकारिक रूपमा दुबै जना एमालेमा रहेको भए पनि सोमप्रसाद पाण्डेले नेकपा एसमा समावेश हुन निर्वाचन आयोगमा निवेदन दिए पनि निर्वाचन आयोगले अझै निर्णय दिएको छैन ।
गुल्मीमा कसैले रोजेनन् नेकपा समाजवादी
गुल्मीमा नेकपा एकिकृत समाजवादी पार्टी जनप्रतिनिधिका हिसाबले शून्य बनेको छ । निर्वाचन आयोगले दल रोज्न पाउन अन्तिम दिन भदौ २२ गते मंगलबार कार्यालय समय भर कुनै एक जना पनि जनप्रतिनिधि नेकपा समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन् । नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको जन्मथलो गुल्मीमा नेकपा एमालेबाट एक जना कार्यकर्ता समेत हालसम्म सो पार्टीमा छैनन् ।
जिल्ला निर्वाचन अधिकारी कुँवरले दिएको विवरणअनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा पालिकाहरूमध्ये ७ वटा पालिका प्रमुखमा एमालेका नेताहरू छन् । १० जना उपप्रमुख छन् । वडाध्यक्ष र वडा सदस्य ३ सय १३ जनासहित ३ सय ३० जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधिहरू रहेका छन् । जिल्ला निर्वाचन अधिकारी कुँवर भन्छिन्–‘ति मध्ये एक जना पनि दल रोज्न आउनु भएको छैन ।’
उनका अनुसार इस्मा गाउँपालिकामा गाउँपालिका प्रमुख उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य २५ सहित २७ जना एमालेबाट विजयी जनप्रतिनिधि छन् । चन्द्रकोट गाउँपालिकामा एक जना उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य २५ सहित २६ जना एमालेका जनप्रतिनिधि रहेका छन् । धुर्कोट गाउँपालिकामा ३ जना वडा अध्यक्षसहित १६ जना जनप्रतिनिधिहरू छन् ।
छत्रकोट गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य १८ सहित २० जना रहेका छन् । मदाने गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य ३० सहित ३२ जना रहेका छन् ।
मालिका गाउँपालिकामा पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसहित ३२ जना रहेका छन् । मुसिकोट नगरपालिकामा पनि दुबै प्रमुख पदसहित ४२ जना जनप्रतिनिधी नेकपा एमालेबाट विजयी भएका हुन् ।
रूरूक्षेत्र गाउँपालिकामा पनि दुबै प्रमुख पदसहित ४२ जना जनप्रतिनिधिहरू नेकपा एमालेका छन् । रेसुङ्गा नगरपालिकामा पनि दुबै प्रमुख पदसहित २७ जना रहेका छन् ।
सत्यवती गाउँपालिकामा उपप्रमुखसहित एमालेका ३१ जना जनप्रतिनिधिहरू नेकपा एमालेबाट विजयी भएका छन् । प्रतिनिधि सभामा पनि दुबै क्षेत्रबाट क्रमशः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्ट नेकपा एमालेबाटै विजयी भएका हुन् । क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशबाट एमाले नेता कमलराज श्रेष्ठ र क्षेत्र नम्बर २ को ‘क’ पदेशबाट पनि एमाले कै खड्क केसी प्रदेशसभामा विजयी भएका थिए ।
क्षेत्र नम्बर १ को ‘क’ प्रदेशबाट सुदर्शन बराल र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशबाट माओवादीबाटै दिनेश पन्थी विजयी भए पनि एमालेमा प्रवेश गरेका पन्थीको पद माओवादी केन्द्रले कार्बाही गरेर खोसिएको थियो । जिल्ला समन्व्य समितिमा पनि प्रमुख लक्ष्मण पराजुलीसहितको पुरै समिति नेकपा एमाले कै रहेको छ ।
पश्चिम नवलपरासीमा एक जनाबाहेक सबै एमालेमै
पश्चिम नवलपरासीमा एक जना जनप्रतिनिधि बाहेक सबै जनप्रतिनिधि नेकपा एमाले पार्टीमै छन् । नेकपा एमालेबाट एक जना जनप्रतिनिधि मात्र नेकपा एकिकृत समाजवादीको पक्षमा सनखत गरेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ । निर्वाचन कार्यालयअनुसार दुई जना नेकपा एकिकृत समाजवादीको अहिलेसम्म सनखत गरेको मध्ये एक जनाले मंगलबार सनखत फिर्ता लिएको बताइएको छ
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीमा बर्दघाट नगरपालिकामा वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागार्इं मात्र जिल्लाबाट उक्त पार्टीमा गएको नेकपा एमालेका जिल्ला कमिटी सचिव राजन अचार्यले जानकारी दिए ।
उनको अनुसार नेकपा एमालेबाट पश्चिम नवलपरासीमा नगरपालिका र गाउँपालिकामा १२५ जना जनप्रतिनिधिमा रहेको बताए । जिल्लामा सात वटा स्थानीय तह रहेको जसमध्ये ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ ।
नेकपा एमालेबाट बर्दघाट नगरपालिकामा ५३ जना, सुनवल नगरपालिकामा ४६, रामग्राम नगरपालिकामा ८, सुस्तागाउँपालिका १७, सरावल गाउँपालिका १ जना गरी कुल १२५ जना जनप्रतिनिधिमा निर्वाचित भएको सचिव अर्चायले बताए । नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा सदस्य कृष्ण पाण्डेले सनाखत फिर्ता लिएका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका पाण्डे मंगलबार निर्वाचन कार्यालय पुगेर सनाखत फिर्ता लिएका हुन् । उनले सनखत फिर्ता लिँदै एमालेमै रहेको बताए । पाण्डे सोमबार बर्दघाट वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागार्इंसंगै निर्वाचन कार्यालय पुगेका थिए ।