पहिरोले पुरियो घर : अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ झन्द्रेकको भेडाबारी बस्ने जीवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारको पहिरोले पुरिएर घटना स्थलमै मृत्यु भएको छ । मंगलबार राति करिब २०० मिटर घरमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । तीन तले कच्ची घरसहित सुनारको थारो समेत पूर्णरूपमा भत्किएको छ । ६ जना सदस्य रहेको परिवारका चार जना घरमा नभएको र मृतकका दाजु तथा उनका साथी घरमा टिभी हेरिरहेको बेला घटना भएको थियो । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटना भएको आधा घण्टा भित्रै स्थानीयको बाक्लो उपस्थितिमा उद्धार गरिएका कारण थप मानवीय क्षती नभएको स्थानीय माधव बेल्वासेले बताए । इलाका प्रहरी चौकी पालिका असइ गञ्जबहादुर घमका अनुसार पीडित सुनारको घरमा पालिएको एक रागोको जिवितै उद्धार गरिएको छ भने एउटा भैंसी, ६ वटा बाख्रा तथा अन्नपात लत्ता कपडा सबै घरसँगै पुरिएर नष्ट भएको जनाइएको छ । परिवारलाई हाल उनकै दाजुको घरमा स्थानान्तरण गरिएको छ । तस्वीर : गणेश खनाल-लुम्बिनी