सरकारले गति लिन नसक्दा प्रदेशसभा बिजनेशविहीन
बुटवल । आज बिहीबार बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ ।
गठबन्धनको नेतृत्व गर्दै माओवादी केन्द्रका कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री बने पनि सरकारले गति लिन नसक्दा प्रदेशसभा बिजनेशविहीन बनेको छ । गठबन्धनले मन्त्रिपरिषद्लाई पूर्णता दिन समेत सकेको छैन ।
१० वटा मन्त्रालयलाई १३ वटा पु¥याए पनि प्रदेश सरकारले पूर्णता पाउन भने बाँकी नै छ ।
सरकारले पूर्ण नपाएको र प्रदेशसभामा एमालेको विरोध कायमै रहेकाले नवौं अधिवेशनको पाँचौ बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मको लागि स्थगित गरिएको हो ।
कुलप्रसाद केशीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौं अधिवेसनको बैठक एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।
भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको थियो । १७ गते बोलाइएको बैठक पनि सूचना टाँस भएर ३० गतेसम्मको लागि स्थगित भएको हो ।

निर्मला बनिन् लुम्बिनी प्रदेशसभा सदस्य
बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रूपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन् ।
जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई मंगलबार पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका हुन् । साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई प्रदेशसभा सदस्य बनाउने निर्णय गरे अनुरूप आयोगको भदौ १० गते बैठकले रिक्त पदमा उनलाई निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ ।
जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । कल्पना सांसद भएको पद रिक्त भएपछि निर्मलालाई सिफारिस गरिएको थियो । उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए । उनले एक हप्ताभित्र निर्मलाले सपथ लिनेसमेत जानकारी दिए ।