चतुर्भुज आत्रेय
हामीले जनपक्षीय राजनीति र प्रगतिशील अर्थ व्यवस्था यसलाई अर्काे शब्दमा भन्दा लोकतन्त्र र समाजवादको आशा गरेर र भर परेर हरेक राजनीतिक आन्दोलन तथा क्रान्तिमा नेताहरुलाई साथ दियौ । हाम्रो साथ पाएर अर्थात् क्रान्ति र आन्दोलनमा हामीले नेताहरुप्रति विश्वस्त भई उनीहरुलाई साथ दिँदा भूमिगत कालमा नेताहरुलाई पाल्दा र पार्टीलाई चन्दा तथा लेभी दिँदा रिनै काढेर भए पनि आफ्नो दायित्वलाई पूरा गरेर पार्टीप्रति आस्था, श्रद्धा र विश्वासभाव जनाएका छौं । हामीले जनाएको त्यो विश्वास अर्थपूर्ण थियो । मूल्य, आदर्श र नैतिक लक्ष्यप्रति समर्पित थियो । नेताहरुले पार्टीलाई आजको जस्तो व्यक्तिवादी रछ्यानमा पु¥याउलान् भन्ने हामीले कल्पना पनि गरेका थिएनौं । तर आज यसरी निर्णायक तहमा पुगेका नेताहरुको गैरजिम्मेवारीपना र अनैतिक प्रशासनिक क्रियाकलाप, भ्रष्टाचार, ढिलासुस्ती, कमिशनतन्त्र र लापरबाहीको साम्राज्यले राज गरिरहेको र त्यसलाई आफूले टुलुटुलु हेरेर बस्नु पर्दा हिजोको एउटा इमान्दार कार्यकर्ताको नाताले यो मन छियाँछियाँ हुन्छ । निष्ठाको राजनीतिमा लागेर नेताहरुप्रति आस्था राखी पार्टीप्रति समर्पित जुनसुकै कार्यकर्ताको निम्ति यो दुर्भाग्य हो ।
यस्तो दुर्भाग्यका चिन्तनीय परिणामहरुले पार्टी र पार्टीका इमान्दार कार्यकर्तालाई मात्र हैन आम जनतालाई नै खौलोमा लगेर जकाउने काम हुन्छ । आज हामी यस्तै खौलोमा परेका छौं । नेताहरुले धोका दिएर हामीलाई खौलोमा जकाएका छन् । दुःखका साथ भन्नुु परेको छ कि आज सरकारको सञ्चालनका पदमा बस्ने अधिकार पाएका व्यक्तिहरु केवल आफ्नो वर्तमान तथा भविष्य कसरी बलियो हुन्छ यसैका लागि चिन्तित छन् । उनीहरुलाई अरु कुनै पनि कुराको केही मतलब छैन । हरेक प्रधानमन्त्रीको रवैया र क्रियाकलापले यस आरोपलाई पुष्टि गरिरहेका छन् । साथै देशको लागि आवश्यक पर्ने नीति निर्माण गर्ने तहमा पुगेका सांसदहरु पनि आफ्नो वर्तमान र भविष्य कसरी बलियो हुन्छ भन्ने कुरामा मात्र सीमित छन्, त्यो बाहेक उनीहरुलाई देशमा के भइरहेको छ, जनता कुन अवस्थामा छन्, देशको प्रमुख आवश्यकता के हो यी सबै कुराहरु उनीहरुको चिन्ता, चासो र मतलबभित्र पर्दैनन् । साथै सरकारको नीतिलाई सही तरिकाबाट कार्यान्वयन गरी जनताको आर्थिकस्तरमा वृद्धि र शान्ति सुरक्षा एवं अमनचैन कायम गर्ने गराउने अधिकार प्राप्त निकाय (मन्त्रीहरु) लाई पनि केवल आफ्नो वर्तमान र भविष्य कसरी बलियो हुन्छ, आफ्नो कुर्सी कसरी जोगाइराख्न सकिन्छ र अर्काे पटक पनि कुुर्सी कसरी हात पार्न सकिन्छ, पाएको बेलामा कसरी मोजमस्ती गर्न सकिन्छ योभन्दा अरु सोच उनीहरुको मथिंगलमा घुस्नै छाडेको छ । आज हाम्रो देश यस्तै परिस्थितिबाट गुज्र्रिरहेको छ, भन्नु पर्दा अपशोच लाग्छ । दुःख र ग्लानी महसुस हुन्छ । तरक यथार्थ यही नै हो यस भनाइमा कति पनि अतिरञ्जना छैन ।
मानव जातिका सबैभन्दा आधारभूत आवश्यकताहरु गास, बास र कपास हुन् । मानव जाति घाँस खाएर बाँच्न सक्दैन । उसको आहारा अन्न नै हो । त्यसैले अन्न खान नपाए बरु भूखमरीमा परेर मान्छे भोकै मर्छ तर घाँस निल्न सक्दैन । यसैगरी मानव जातिलाई आफ्नो टाउको ओत्ने बास चाहिन्छ । धनीमानीहरु बहुतले ठूला भवनमा बस्छन् । गरिब गुरुवाहरु कटेरा, बुकुरा र छाप्राहरुमा । प्राकृतिक एवं दैवी प्रकोप हावाहुरी, झटेलो, असिना, वर्षा एवं हिउँ र शीतलहर तथा तुसारोबाट जोगिन र आफ्ना लालाबालाहरुलाई जोगाउन जस्तै गरिबलाई पनि एउटा छाप्रो (बास) चाहिन्छ । यसैगरी मानव जातिलाई चाहिने अर्काे अनिवार्य वस्तु हो कपास अथवा कपडा । हुने खानेहरु राम्रा चिटिक्क परेका महंगा कपडा लगाउँछन्, महंगा मोजा र टल्किने जुत्ता लगाउँछन्, राम्रा राम्रा सुटहरुमा सजिएर हिंड्छन् तर गरिब गुरुवाहरुलाई त्यो सम्भव हुँदैन, उनीहरुलाई त लाज ढाक्ने कट्टु, लगौंटी र आङ ढाक्ने टालोसम्म भए पनि त्यसैमा गुजारा गर्नु पर्ने बाध्यता छ । नेपाली जनताले यी प्राथमिक आवश्यकताका वस्तुहरु त राणाकाल र पञ्चायतीकालमा पनि भोग गर्न पाएकै थिए । तर यति ठूला आन्दोलन र क्रान्तिपछि आएका सरकारहरुले त जनताका प्राथमिक आवश्यकता (गास, बास, कपास) बाहेक अरु आवश्यकताहरु शिक्षा स्वास्थ्य र रोजगारीका कुराहरु जो थिए तिनीहरु अहिलेसम्म किन पूरा हुन सकेका छैनन् ? जनपक्षीय राजनीति र प्रगतिशील अर्थ व्यवस्थाको स्वरुप यस्तै हो ? जनताले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य र स्वदेशमै रोजगार पाउने छन् भनेर हामीलाई भुल भुलैयामा पारी महंगो शिक्षा, महंगो स्वास्थ्य र बेरोजगार या वैैदेशिक रोजगारीमा हेलिनु पर्ने बाध्यता के यही हो सुशासन ?
आज देश र देशबासीहरुलाई प्रतिदिन एउटा न एउटा समस्याले पिरोलिनु परिरहेको अवस्था छ । कसैका नाबालक छोरी बलात्कारमा परेर मारिएको वर्षांै बितिसक्दा पनि बलात्कारी र हत्यारा पत्ता लाग्दैन । कसैको वर्षौंदेखि भोगचलन गर्दै आएको, सरकारलाई तिरो तिरेको रसिद र लालपूर्जा भएको जग्गा जग्गावालाले थाहै नपाउने गरी मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा जग्गाको खरिद बिक्री हुन्छ र वास्तविक जग्गावालालाई सुकुम्बासी बनाइन्छ । वकिल राखेर अदालतमा मुद्दा गर्न जाने क्षमता उसको हुँदैन, प्रशासनले कुरै सुन्दैन । यस्ता समस्याहरु पनि देशमा जताततै छन् । भारतले सीमा मिचेर जबर्जस्ती गर्दा आफूले पुस्तौदेखि भोगचलन गरी आएको खेत लहलहाउँदो बालीको अवस्थामा छोडेर रुँदै लालाबाला लिएर मजदूरी खोज्न हिंड्नु परेका पीडादायी घटनाहरु पनि प्रशस्तै छन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग प्रकृतिकको दोहनबाट उत्पन्न भएका प्राकृतिक प्रकोपहरु र जनतामा आइपरेको उठिबासका स्थितिहरु मेलम्ची र रसुवामा मात्र होइन देशका हरेक ठाउँमा यत्रतत्र सर्वत्र छन् । के यही हो त हाम्रो लोकतन्त्रले हामीलाई दिएको खुसी ?
राजनीतिको नाममा व्यापक धाँधली, समस्यै समस्यामा पिरोलिएका जनता, जिम्मेवारीविहीन सरकार, चेलीबेटीलाई आफ्नो जीउ धन जोगाउनै गाह्रो, भ्रष्टाचारकोे व्यापकता, सरकारी कामकाजमा व्यापक अनियमितता अनि रमिते र तमासे प्रतिपक्षीहरु यी हुन् हाम्रो नेपालका जल्दाबल्दा समस्याहरु । हामीलाई सरकार बनाउने मौका दिलाउनुस् हामीले हाम्रो नेपाललाई राम्रो बनाउँछौं, भन्नेहरुको यो छलछाम । यो अवस्थाबाट पार पाउने उपाय के हो ? हामी सबैले सोच्नु जरुरी छ ।