गजलसँग हिंडेको जिन्दगी

बुंद रानाको संस्मरण

रेलमा चढेबाटै मेरो आँसू झर्न थाल्यो । सँगै हाँसखेल गरेका साथीहरुलाई सम्झेर । खासगरी घरीघरी साथी सुरतको अनुहार आँखा अघिल्तिर आइरह्यो ।

बुंद रानाको संस्मरण–९

रुँदै रुँदै भारत छोडें…

“सबैले जिन्दगी छर्ने गरेमा प्यारका निम्ति
अरु के खास चाहिन्थ्यो सुखी संसारका निम्ति !”

भेटाएको एअर फोर्सको जागिर बन्ने मेरा लागि खतरनाक हुने ठानेर छोडेको थिएँ । अहिले फेरि बाको रुचिमा पाएको मास्टरीको नोकरीलाई आफैले त्यागेको अवस्था थियो । थोरै समयको अन्तरालमा दुईवटा जागिर पाउनुले यो बुझिन्थ्यो त्यो बेला बेरोजगारीले त्यति चर्को रुप लिएको थिएन ।

उता, बाले असमर्थता जनाइसके पछि उच्च शिक्षा निम्ति कलेजको ढोका बन्द भैसकेको, यता मास्टरी नोकरी नरहेको, फुक्काफाल अवस्था रह्यो मेरो । दिन कसरी काट्नु, दिन काट्नै गाह्रो । त्यहीं खाली बसेको बेला केही प्यारोडी गीतहरु लेखिए । केही गजल पनि लेखिए । त्यो बेला लेखेको एउटा लोकगीत सम्झन्छुः
“फूल फुल्यो फूलैको डालीमा
माया बस्यो आफ्नै सालीमा ।
फलामै काटी पैसा बनायो कागतको रुपिया हो हो…
खोजीमा मरी पाउने छैनो म जस्तो दुखिया हो हो…
घाम जस्तो के हुन्थ्यो टुकीले
दुख्छ मुटु भन्दैन दुःखीले ।”

जसरीतसरी दिन काटिंदैछ । यसै त थोरै बोल्ने बानी थियो बाबाको । त्यो पनि घटाएजस्तो लाग्यो । मसित बोल्नै छाडेको त हैन तर भरसक बोल्न नपरे हुन्थ्यो जस्तो गर्न थाल्नुभएको थियो । बाबाको चित्त दुखेको कुरा बुझ्न सकिन्थ्यो । चित्त नदुख्ने कुरै थिएन । छोरालाई मास्टर बनाउने सपना भंग भएको थियो । छोराले बाउको वचन राखेको थिएन । पीर नपर्ने कुरै भएन । यो पीर हरण गर्न मैले पो के गर्न सक्थें । जे हुनु भैसकेथ्यो । आफुले चाहे जस्तो र भनेजस्तो नतिजा ननिस्किँदा मन खिन्न हुनु स्वाभाविक हो । एक किसिमको विरक्ति मनमा जागेरै होला बाले निधो लिनुभएछ सपरिवार नेपाल फर्किने । त्यसका लागि आवश्यक कागजी प्रक्रियामा भनौं लेखापढी अगाडि बढाउनु पर्थ्यो, बढेछ ।

जागिरबाट औपचारिक अवकाशको अवधि केही वर्ष बाँकी नै थियो । भए पनि स्वास्थ्यको कारण देखाएर बाले दिनुभएको राजीनामा बारे तब मात्र थाहा पाइयो जति बेला घरका सरसामान छरछिमेकी, इष्टमित्रहरुमा वितरण गर्न थालियो । धेरै त के थियो र तै पनि अलिअलि भएका कुर्सी, टेबल, चारपाई, गह्रुँगा भाँडाकुँडाले अब अर्केको घर धान्ने भए । धरायसी जीवनमा आवश्यक तर लामो यात्राका लागि अनावश्यक ठानिएका सरसामानहरुको ठेगान लाउँदै छुडकिलो भइयो ।

यसै क्रममा एकदिन हाम्रा घर रामबहादुर गुरुङ आइपुगे । उनी यस अघि पनि कहिलेकाहीँ आउजाउ गर्थे । उनी रोड विभागमा काम गर्ने इञ्जिनियर हुन्, थाहा थियो । ब्याजमा पैसा लगाउँदा रहेछन्, बल्ल थाहा भयो । बाले उनीसँग रिण लिनुभएको रहेछ । उनी असुल्न आएका । उनले आमाको नाकको फुलीमुन्द्री बाहेक ढुङ्ग्री, माडवारी, बाला, रैयाँ सबै पोको पारेर केही नगदी समेत लिएर गए ।

त्यतिका गरगहनासमेत बुझाउने गरी बाले कहिले कुन कामले, कस्तो ब्याजदरमा, के कति रकम रिण लिनुभएको थियो ? त्यो जे जति जेथा बुझाइयो उचित थियो वा थिएन ? म अल्लारे केटोलाई केही थाहा भएन । यत्ति हो आमाका गहना निख्रिदाँ मन कटक्क दुखेको थियो । आमालाई कस्तो भयो होला ।

बाले जागिरबाट दिनुभएको राजीनामाको स्वीकृति आइसकेको थियो । साथमा जागिर नभएपछि अब भारतमा बस्ने कुनै नातो रहेको थिएन । गुन्टा कस्ने काम भयो । रेलको टिकट, नौतनवा (नौतुना)सम्मको लिइयो । रेल चढ्दा आर्लिदाँ झन्झट नहोस् भनेर नै धेरै सामान मिलाइएको थिएन । जम्मा दुई थान सामान थिए । एउटा लुगाफाटाको गुन्टा अर्को पकाउने खाने भाँडाकँडा भरिएको बाकस थियो । सामान हाल्यौं । रेलमा चढ्यौं ।

रेलमा चढेबाटै मेरो आँसू झर्न थाल्यो । सँगै हाँसखेल गरेका साथीहरुलाई सम्झेर । खासगरी घरीघरी साथी सुरतको अनुहार आँखा अघिल्तिर आइरह्यो । केही दिनका लागि छुट्टिन थालेको भए फेरि भेट हुने आश हुन्थ्यो । सधैंका लागि भनौं जिन्दगीभरिका लागि असाध्यै मिल्ने साथीसँग बिछोडेको पीर खटाइसक्नु थिएन । रेल आफ्नै गतिमा कुद्दै थियो । हामी तीन, बाउआमाछोरा आफ्नै गतिमा थियौं । बाबाआमा मौन हुनुुहुन्थ्यो । म पनि मौन नै थिएँ, बर्बर्त झरिरहेका आँसू पुछ्दै ।
पीर पर्दा शरीरको कुन तत्व वा तन्तु पग्लिएर आँसू बन्छ होला ! अचम्मैको छ यो शरीर विज्ञान । बुझिनसक्नु ।

रेलको डिब्बा भित्रको एउटा भागमा जहाँ आठोटा सिट थियो हामी तीनजना मात्र थियौं । रेलको अन्तिम गन्तव्य गोरखपुर धेरै टाढा थिएन । रेलको गति मन्द हुन थाल्यो । यहीं मन्द गतिको फाइदा उठाएर केही भुसतिघ्रे व्यक्तिहरु हामी भएको डिब्बामा उक्लिए । तीमध्ये दुईजना बा आमाको छेउछाउ र एकजना मेरो छेउमा ढ्यास्स बस्न पुगे । बाँकी दुई जना उभिएका थिए । उनीहरुको हाउभाउ बुझ्दा उनीहरु गतिलो मनसायले त्यो डिब्बामा पसेका थिएनन् । मलाई शंका लागेको छ । बाबाआमाले के अनुभव गर्नुभयो त्यो बेला थाहा भएन । उभिएका मध्ये एकजनाले त्यस्तै कुनै आपतकालमा रेल रोक्नुपर्ने भए तान्न भनी टाँगिएको चेन तान्न थाल्यो । अघि मैले गरेको शंका प्रमाणित थियो । उनीहरु हामीलाई लुट्न भनी प्रवेश गरेका डाँका रहेछन् । तानेको चेन तानियो पनि तर रेल अडिएन । रेल आफ्नै गतिमा गुडिरह्यो । चेन तान्ने मान्छे घरीघरी चेनलाई झट्का दिंदै तान्दैछ, भएन झुण्डिंदै पनि छ । गाडी नरोकिँदा ऊ घरीघरी झोंक पोख्ने गर्छ र भन्छ— “साला ड्राइवर रोकता नहीं है । अझ तान्ने बल खर्च गर्छ । रेल रोक्ने र हामीलाई नाङ्गेझार पारेर कुलेलम ठोक्ने उनीहरुको उद्देश्य पूरा हुन पाएन । रेल रोकिएन । अब त रेल गोरखपुर जक्शन पुग्नै लागेथ्यो । लाचार डाँकाहरु जसरी जुनबाटो रेलमा चढेका थिए त्यसरी त्यै बाटोबाट झरेर अलप भए पछि बल्ल मेरो सासमा सास आयो ।

त्यो घटना सम्झिँदा आज पनि आङ सिरिङ्ङ गर्छ । डाँकाले लुट्न परे हाम्रो पुराना कपडाको गुन्टा र थोत्रा भाँडाहरुको बाकस लाने थिएन । पक्कै पनि तिनले बासँग भएको नगद रकम र आमाको नाकमा भएको फुलीमुन्द्री तान्ने थिए । हाम्रो कुन दशा हुन्थ्यो होला ! रेलको ड्राइवरले अनुमान लाएको हुनुपर्छ पक्कै कुनै अनर्थ हुनेवाला छ, त्यसैले रोक्न चाहेन । मनमनै ड्राइवरलाई धन्यवाद दिइयो ।

रेलको टिकट नौतुनवा (नौतनवा) सम्मको भए पनि अर्को रेल समातेर नौतुना, त्यहाँबाट बस चढेर सुनौली बर्डर पुग्नुपर्ने झन्झटले रेलको यात्रालाई त्यहीं गोरखपुरमै टुङ्ग्याएर गोरखपुर सुनौलीको बस चढ्यौं । २०२३ सालको सुनौली अहिलेको जस्तो हुने कुरै भएन । पसलको नाममा एकाधवटा फाट्टफुट्ट देखिन्थे । सुनौली पुगेर बर्डरै बर्डरको बाटो रिक्शामा भैरहवा पुगियो । त्यतिखेरसम्म डण्डापुल बनिसकेको थिएन ।

भैरहवा त पुगियो भैरहवामा कसको सम्पर्कमा कहाँ बस्ने केही अत्तापत्तो थिएन । रिक्शाले हामीलाइै त्यतिबेलाको चौराहा र यतिबेलाको मिलनचोक पुर्याएको थियो । मिलनचोक जहाँ अहिले आदित्य स्टोर्स छ त्यहीं निर एउटा सिन्धी होटल थियो त्यहीं झर्यौं, सामान झार्यौं । होटेल मालिक थिए किशुनचन्द्र । भलाकुसारीकै प्रसंगमा हामीले सोध्यौं— “यहाँ भाडाघर कहाँ पाइएला ?”
उनले सहजभावमा भने— “खोज्दै गर्नुस् पाइन्छ, नपाउँदासम्म मेरो घर यहीँ पछाडि छ, मेरै घरमा बसे हुन्छ ।” हामीलाई उनको त्यो सहृदयताले निकै राहत दियो । उनीकहाँ बस्न मञ्जूर भयौं । उनले हाम्रो सामल आफ्ना मान्छे लगाएर घरसम्म पुर्याइदिए ।

यसरी किसुनचन्दको घरमा बास बसेको तेस्रो दिनमा बजार डुल्दै गर्दा बाले उहीँ आद्राका रिटायर्ड सहकर्मी फेला पार्नुभएछ । डुब्दै गरेकोलाई त्यान्द्रोको सहारा भनेझैँ भयो हामीलाई । बिल्कुलै अञ्जान ठाउँमा दुःखसुखको साक्षी हुने कुनै साथी त पाइयो— बाले मनमनै भनेको हुनुपर्छ । उनको प्रस्ताव अनुसार उनकै घर शान्तिनगरमा बस्ने भइयो । हामी भैरहवामा शान्तिनगर निवासी भयौं ।

अबको प्रमुख काम भनेको मैले नोकरी खोज्नु थियो । बिना नागरिकता नोकरी पाइने सम्भावना थिएन । नागरिकता निम्ति धाउन थाले । नागरिकता प्राप्त गर्न राजपत्रांकित अधिकृतको सिफारिश चाहिन्थ्यो । भैरहवासँग राम्ररी भिजिसकेको थिइनँ । मेरा लागि भनसुन गरिदिने पावरफुल मान्छेको अभाव थियो । स्थायी बासिन्दा हुँ भनेर देखाउन बस्ने घर थिएन । मसँग प्रमाणपत्रको नाउँमा मेट्रिक पास गरेको प्रमाणपत्र थियो त्यो पनि भारत, पश्चिम बंगालले दिएको । त्यसले सघाउला भन्दा उल्टो काम गर्थ्यो — यो त नेपालको होइन, बंगालबाट आएको परदेशी हो भन्न ।

सिफारिशकर्ताले प्रायःजसो सोध्ने गर्थे— घर कहाँ हो ? भन्नुपर्थ्यो— घर छैन डेरा भाडामा बस्ने गर्छु । मेरो जवाफले प्रश्नकर्ताको नाक खुम्चिने गर्थ्यो । भन्थे— सिफारिश गर्न मिल्दैन, यहाँ घरै छैन ।

नागरिकता प्राप्त गर्ने सिलसिलामा मैले पाएको सास्ती देखेर एकजनाले सल्लाह दिए— तपाईंकै पहाडघर अर्घाखाँचीका हाकिम छन् अञ्चल पंचायत कार्यालयमा तिनलाई भेट्नोस्, काम बन्छ । उनले भने अनुसार बुटवल गएँ ती अधिकारीलाई भेट्न । भेट भयो । मैले भेट्न आएको कारण बताएँ । साथै भनेंँ— “म पनि अर्घाखाँचीको हुँ, यति कृपा गरिदिनुपर्यो ।”

उनले सोधे— “अर्घाखाँची कहाँ हो ?”
मैले ‘किम्डाँडा’ भनें । उनको अर्को प्रश्न तेर्सियो— “फलानालाई चिन्छौ ।”
फलाना भनेर उनले अर्घाखाँचीका कुनै नाम चलेका व्यक्तिबारे सोधेका थिए । मैले चिन्ने कुरै थिएन । पर्यो फसाद । म अक्क न बक्क बनें । उनले आफ्नो निर्णय सुनाए— “अर्घाखाँची घर हो भन्ने अर्घाखाँचीकै नेतालाई नचिन्ने ! कसरी सिफारिश दिनू ? दिन मिल्दैन जाऊ ।”

बल्लतल्ल बसभाडा जुटाएर बुटवलसम्म धाएको कामै लागेन । आज काम नबने पनि भोलि कस्सो काम नबल्ला भन्ने उत्साह जोगाइनै राखेको थिएँ ।
………………..

बुंद रानाको संस्मरण १०

दोगहरा जाँदा हामीले देख्यौं— ससाना बालबालिकाहरू, चउर ढाकेर रमाउँदै खेलिरहेका । स्थानीय बुजुर्गसँग सोध्यौं— “यहाँ स्कुल छ कि छैन ?” उनले स्थानीय भाषमा भनें— “नाहीं बा हजूर ! अरे स्कूल के बनाइ ?”

रिक्सा चालकदेखि मुखियासम्म

“अधर तिम्रो गजल मेरो भएमा क्या मजा हुन्थ्यो
मिलनको याम यो कायम रहेमा क्या मजा हुन्थ्यो ।”

यता म नागरिकताको खोजीमा थिएँ उटा बाबाले बस्ने ओतको व्यवस्था गरिसक्नुभएको रहेछ । त्यहीं शान्तिनगरमै । त्यो बेला शान्तिनगरबाट एअरपोर्ट दोगहरा सरिसकेको अवस्था थियो । एअरपोर्टकै भरभरोसामा जीविका चलाइरहेकाहरू जता एअरपोर्ट गयो त्यतै जानु स्वाभाविक थियो । सबैले बास सारेका रहेछन् । अरु सरसामान सारेको भए पनि भौतिक संरचना सार्ने कुरा थिएन । माटाको गाह्रो खरको छानो भएका झुपडी घरहरू त्यसैत्यसै बेवारिश अवस्थामा, कच्रक्क रहेका थिए । विशेषगरी शान्ति नगरको दक्षिणपट्टीको टोल एअरपोर्ट सरेको कारणले प्रभावित भएको थियो । हुलाकी सडकले उत्तर/दक्षिणको रूपमा विभाजन गरेको शान्तिनगरको उत्तरपट्टीको टोललाई ‘क्याप्टेनटोल’ भनिन्थ्यो । त्यहाँ आर्मीबाट रिटायर्ड अफिसरहरू मेजर, क्याप्टेन र लेप्टेनहरू बस्तथे ।

शान्तिनगको दक्षिणटोलको पनि करीबकरीब माझमा रहेको एउटा झुपडी घर किन्नुभएको थियो बाबाले छ सय रुपियाँमा । झुपडीले जम्मा छ धुर जग्गा ओगटेको थियो । छ धुर भन्नाले झण्डै १०९२ वर्ग फिट जग्गामा अब हाम्रो स्वामित्व कायम हुन पुगेको थियो । अब हामी सकुम्बासी थिएनौं । जग्गा बाबाको नाममा पास भएको थियो । बाबाको नागरिकता थिएन । त्यो बेला जग्गा किन्दा नागरिकता बुझाउनु पर्ने चलन रहेनछ । बाबा, आमालाई बाँचुञ्जेल नागरिकताको खाँचो परने, बनाउनु पनि भएन ।

आमा, बाले मलाई बाबु ! भनेर सम्बोधन गर्नुहुन्थ्यो । खाना खाएर राती सुत्ने बेलामा बाले सँधै जसो सम्झाउनुहुन्थ्यो, “बाबु ! जागिर खोज्दैछस् हैन ?” कुरा बुझ्न गाह्रो थिएन । बासँग भएको ढुकुटी रित्तिँदै थियो । भारतबाट आउँदा ल्याएको जम्मा पन्ध्रसय रुपियाँ, त्यतिबेला सटही दर सराबरी भएको हुँदा कायम हुन आएको नेपाली रुपियाँ पन्ध्रसय कति दिन टिकोस् ! एकमुष्ट छ सय रुपियाँ अलपत्र परेको झुपडीघरमा हालिसकेको, त्यसलाई मर्मतसम्भार गरेर बस्ने लायक बनउँदा पक्कै पनि दुइतीनसय जति खर्च भएकै होला । तै त्यति बेला बेसाहा सस्तो थियो । एक रुपियाँको तीन किलो चामल आउँथ्यो । एकसय रुपियाँले महिनाभरिको घरखर्च चल्थ्यो । जनसंख्या धेरै थिएन । उत्पादन राम्रो हुन्थ्यो । भनिन्थ्यो त्यो बेलाको नेपालको जनसंख्या साठी लाखको हाराहारीमा थियो ।

म व्यवहारिक जीवनसँग परिचित भैसकेको थिइनँ । भर्खर विद्यार्थी जीवनबाट बाहिर निस्केको थिएँ । बाटोमा पर्ने जग्गाको मूल्य धेरै हुन्छ भन्ने थाहा पाए पछि एकपटक बालाई सोधेको थिएँ— “बाटाको छेउमा पनि त्यति पैसाले जग्गा पाइन्थ्यो किन यो टालको माझमा घर किन्नु भएको ?” बाले सहज ढंगले मेरो प्रश्नको उत्तर दिनुभएको थियो— “बाटोमा मोटर, बैल, गाडाहरू हिंड्छन्, बाटोको जम्मै धूलोमैलो घरभित्र भान्सासम्म पस्छ, त्यैभएर यहाँ किनेको हो ।” सोझो मान्छेको सोझो भनाइ ।

घरमा आर्थिक संकट आउन थालेको संकेत पाइसकेको थिएँ । अब मैले नै केही उपाय खोज्नु पर्थ्यो । हामी बसेको टोलमै बाटाको मोहडामा एउटा रिक्सा कम्पनी थियो । तिर्थ गुरुङ्गले त्यो कम्पनी चलाउँथे । उनी तीसवटा जति रिक्साका धनी थिए । जीविकोपार्जनको त्यान्द्रो समात्ने उद्देश्यले रिक्सा कम्पनीमा गएँ । रिक्सा खालीरहेछ । कुराकानी भयो । दैनिक रु ५ बुझाउने शर्तमा मैले रिक्सा पाउनेभएँ । भनौं न मैले काम पाएँ । कामका बारेमा भारतका ठूला विद्वान ईश्वरचन्द्र विद्यासागरको जीवनी पढेको थिएँ— “उनले रेलवे प्लेट फार्ममा सामान बोक्ने मान्छे नपाएर अलपत्र परेका यात्रुको सामान कुलीले झैं शिरमा बोकेर उद्धार गरेका थिए । त्यहाँबाट कामलाई सानो ठूलो भन्न हुँदैन आइसागेको काम ढुक्कै गर्नुपर्छ भन्ने एक किसिमको पाठ पढेको थिएँ । मलाई रिक्सा चलाउने काम गर्न गाह्रो भएन । रिक्सा चलाउन थालियो । परिस्थितिजन्य यो यौटा मोड थियो, जीवनको । यो यात्र स्थायी होइन थाहा थियो ।

नागरिकताको खोजी रोकिने कुरै थिएन । रिक्सा चलाउँदै गर्दा पनि जारीरह्यो । यात्रु नभएको मौका छोपेर बाटोमा पर्ने सरकारी अफिस भित्र छिरिहाल्थें भरिराखेको नागरिकताको फाराम लिएर । मनमा हुन्थ्यो— यो अफिसका हाकिमको मन पग्लिहाल्छ कि, सिफारिश दिइहाल्छन् कि । यही क््रmममा एकदिन भूमिसुधार कार्यालयमा पस्न पुगेछु । त्यो कार्यालय नयाँ स्थापित रहेछ । दोस्रो तल्लामा गएँ । एउटा कोठाको द्वारमा शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठको नेमप्लेट झुण्डिएको थियो । नमस्कार सर ! भन्दै कोठामा छिरें । अधिकृतले सोधे— “के कामले आउनुभयो ?” मैल आफुसँग भएको फाराम उनको टेबलमा राख्दै भनें— “सर, नागरिकताका लागि ।” उनले सोधे— “किन चाहियो नागरिकता ?” उत्तर सजिलो थियो मैले झट्ट भनें— “जागरि खान ।” मेरो जवाफले पूर्णविराम लगाएछ । अधिकृतले दोस्रो बाहेक तेस्रो प्रश्न सोधेनन् । खुरुक्क सिफारिश गरिदिए । अब भने मैले नगारिकता पाउने भएँ ।

महिनौं धाएर पनि नपाइरहेको नागरिकता सिफारिश एकछिन मै पाउँदाको खुसी बयान गरिसाध्य भएन । भित्र मनमा ठूलै चिठ्ठा परेझैं भएको थियो । मलाई यो खुशी भूमिसुधार कार्यालयका शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठले दिएका थिए । मनमनै आभार प्रकट गरें । समयको केही अन्तराल पछि थाहा लाग्यो ती अधिकृत दुर्गाप्रसाद श्रेष्ठ त नेपाली साहित्यकी चर्चित विदुषी उपन्यासकार भागिरथी श्रेष्ठका श्रीमान् रहेछन् । हाल दुर्गा यस संसारमा छैनन् । उनको असामयिक धिन भैसकेको छ । छिनभरिमै मप्रति त्यो सद्भाव दर्शाउने उनीप्रति मेरो अगाध श्रद्धा रहेकै छ । हार्दिक श्रद्धाञ्जली भन्छु ।

वर्णन गरिसकें मलाई नागरिकता प्राप्त गर्न महिनौंको समय लाग्यो । नागरिकतालाई सहजै प्राप्त गर्न सकिने नूनतेल जस्तो ठानेको रहेनछ तत्कालीन सरकारले । अहिलेको जस्तो नागरिकता दिलाइदिन्छु भन्ने र दिलाई पनि दिने दलालहरूको पनि उपस्थिति देखिनँ । दलालहरू भएको भए पक्कै पनि मेरा पछि लाग्ने नै थिए । यति रकम खर्च गरे नागरिकता पाइन्छ भन्ने प्रस्ताव लिएर आउने थिए ।

भन्ने नै हो भने नागरिकता कुनै पनि देशका लागि त्यसको श्वासप्रणाली हो । श्वासप्रणालीको शुद्धता नै देशको अस्तित्व कायम रहन्छ । यो कुरा गम्भीर रूपमा मनन गरिनुपर्ने हो, तर त्यो गरे जस्तो व्यवहारमा देखिँदैन । यता आएर नागरिकता निकै खुकुलो जस्तो बनाइएको छ । बनाइँदै पनि छ । यसले राम्रो गर्ने छैन, मेरो विवेकले भन्छ ।

रिक्सा चलाइरहँदाका केही तीता मीठा कुराहरू यस्ता छन्ः— जाम चल्छ भनेर सबैले रिजेक्ट (अस्वीकार) गरेको रिक्सा मलाई दिइएको रहेछ । सललल बग्ने कुरै थिएन । बाटोमा पछाडिको रिक्साले मेरो रिक्सालाई उछिन्ने गर्थे । मेरा यात्रु कराउँथे— “पछाडिकोले उछिनिसक्यो के गरी चलाएको हो यस्तो ? खाना खा’को छैनौ कि क्या हो ? हेर्दाखेरि जवान छ मान्छे, साठीवर्षको बूढाले झैं रिक्सा चलाउने के हो ?” म भने केही नबोली घोप्टो मुन्टो लगाई रिक्सा तानिरहन्थेँँ । भन्नु पनि के नै थियो र भन्नु । मनकारी दयालु यात्रु नभेटिएका होइनन् भेटिए । तीमध्ये कसैले जाउँ विराटनगर मेरो कारखानामा काम गर्नू भने । एकजना बौद्धभिक्षु भेटिए उनले पोखरामा मेरो गुम्बालाई एकजना मान्छे चाहिएको छ जाने भए हिँड पनि भनेका हुन् । भन्नेले भनीहाले पनि हिंडिहाल्ने अवस्था थिएन । गइएन । यसै क्रममा स्थानीय एकजना वकिल मेरो रिक्साका यात्रु बन्न पुगेछन् । उनले कुराकानीको सिलसिलामा मेरो शैक्षिक योग्यतादेखि पारिवारीक अवस्था बारे जानकारी लिए । रिक्साबाट ओर्लेर घर छिर्नु अघि मलाई भने— “हेर भाइ तिमीलाई केही अप्ठ्यारो परिहाले सरासर मेरो घरमा आउनु । सानोतिनो कामको व्यवस्था मैले मिलाउँछु ।” उनको यो आश्वासन छिट्टै काम लाग्यो ।

सधैंझैँ बिहान चियारोटी खाएर रिक्सा लिन कम्पनीमा गएँ । राख्ने गरेको ठाउँमा रिक्सा थिएन । कम्पनीका मालिक तिर्थ गुरुङ्गसँग सोधें— “खै मेरो रिक्सा ?” उनले झर्किदैं भने— “दुईदिन पछि बल्ल रिक्सा खोज्ने ? तिम्रो रिक्सा त हिजै लग्यो अर्कैले । ड्राइवर बिनाको रिक्सा राखेर मैले माखा मार्ने ?” यसरी जीविकोपार्जनको त्यान्द्रो पनि चुँडियो । म सोझै अघि आश्वासन दिने वकिल कहाँ गएँ । बिना उद्यम बस्ने अवस्था थिएन ।

वकिलले निके मायालु भावले मलाई घरमै काम दिए । अब मेरो काम थियो वकिलले खेस्रा गरेका निवेदन, वादी, प्रतिवादी, उजुरी आदिलाई राम्रा अक्षरले सफा कागतमा सार्नु । अर्थात्, एकप्रकारको लेखनदास हुन पुगें । हप्ता दस दिनमा सय पचास रुपियाँ हात लाग्थ्यो । वकिल सुरेन्द्रसिंह सिलवालको परिवारमा निकै घुलमिल गरी बसियो । उनको त्यो परिवार मेरा लागि अझै पनि अविस्मरणीय छ । सम्झिरहन्छु ।

नागरिकताको प्रक्रिया चल्दै थियो । अञ्चलाधीश तेजबहादुर प्रसाइँद्वारा हस्ताक्षरित नागरिकता प्रमाणपत्र उपलब्ध भयो । ठीक त्यहीं बेला घरेलु तथा ग्रामिण उद्योग कार्यालय, भैरहवाको कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन स्थानीय पत्रिका दैनिक निर्णयमा पढ्न पुगेँ । विज्ञापन अनुसार चाहिएको थियो मुखिया एकजना, योग्यता एस.एल.सी. वा सो सरह ।

अब त मैले नोकरी प्राप्त गर्ने हैसियत प्राप्त गरिसकेको थिएँ । मेट्रिकको सर्टिफिकेट र नेपाली नागरिकता छँदै थियो । निवेदन हालिहालें घरेलु उद्योगमा । तोकिएको दिन अन्तर्वार्तामा गएँ । अन्तर्वार्ता दिएँ, उत्तीर्ण भएछु ।
घरेलु उद्योगमा हामी कर्मचारीहरू जम्माजम्मी पाँचजना थियौं । नासु स्तरका हाकिम दुर्गाबहादुर केसी, खरदार (सहायक लेखापाल) स्तरका मुक्तिप्रसाद श्रेष्ठ, मुखिया म भैहालें । दुईजना पियन आजको सम्बोधनमा कार्यालय सहायकहरू, महेन्द्र शर्मा र चुर्णप्रसाद ।

घरेलुमा लुगा बुन्ने तानको ठूलो महत्त्व थियो । त्यसकै प्रचार प्रसार र बिक्री वितरणलाई प्राथमिकता दिइन्थ्यो । हामी कर्मचारीहरू पाँच जना एकाघर परिवार जस्तै निकै हार्दिक र अन्तरंग समेत थियौं । हार्दिकता प्रदर्शन गर्ने क्रममा एक दिन हाकिम दुर्गाकेसीबाट थाहा पाएको थिएँ । मुखिया पदका प्रत्याशीहरू हामी अठाह्रजना थियौं । सबैका निवेदन एकएक गरी पढिएछ, हेरिएछ । अरुहरूको भन्दा मेरो निवेदनको हस्तलिपि राम्रो ठहाराएछ निर्णायक समितिले । हाकिमलाई भनेछन्— “तपाईंको कार्यालयलाई अब टाइपराइटरको खाँचो पर्दैन ।” यसरी मैले मुखिया पदमा नियुक्ति पाएको रहेछु ।

हुन पनि तिनताका बहुतै कम कार्यालयले टाइपराइटरको सुविधा प्राप्त गर्थे । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बाहेक अन्यत्र विरलै टाइपराइटर हुने गर्थ्यो । टाइप राइटरको सुविधा दिने बित्तिकै टाइपिस्टको दरबन्दी दिनुपर्थ्यो । खर्च बढ्थ्यो ।

अफिसमा एउटा थोत्रो मोटर साइकल थियो । त्यो हाकिमको नीजि थियो वा कार्यालयको भन्न सकिनँ । बेलामौका हामी, हाकिम र म, त्यसमै उद्यमीहरूको उद्यम निरीक्षण गर्न निस्किन्थ्यौं । मैले माथि नै भनिसकेको छु, उद्योगमा विशेषगरी लुगा बुन्ने तानहरू नै हुन्थे ।

त्यहीं निरीक्षणको क्रममा दोगहरा जाँदा हामीले देख्यौं— ससाना बालबालिकाहरू, चउर ढाकेर रमाउँदै खेलिरहेका । स्थानीय बुजुर्गसँग सोध्यौं— “यहाँ स्कुल छ कि छैन ?” उनले स्थानीय भाषमा भनें— “नाहीं बा हजूर ! अरे स्कूल के बनाइ ?”

उनको कुरा सुनेपछि हामी दुवैजनालाई लाग्यो— “यहाँ स्कूल स्थापना गर्नैपर्छ ।”

………………

बुंद रानाको संस्मरण– ११

‘जागीरबाट राजीनामा’

उनी जनप्रिय उद्योगपति हुन पुगे । उद्योगपति मात्र भएनन् उनी तानसेन नगरपालिकाको नगरपिता बने । उनको घरेलुमा उत्पादित ‘पाल्पाली ढाका टोपी’ ब्राण्डेड टोपीमा गनिन थाल्यो जसको साख, प्रसिद्धि आज पनि कायम नै छ ।

“सुन झैं हजारचोटी खारे पो जिन्दगी हो
कुन बेहोशीले भन्छ हारे पो जिन्दगी हो ।”

कार्यालय फर्केर हाकिम दुर्गा र म बीच विद्यालयबारे विमर्श भयो । उनले प्रस्ताव गरे विद्यालयको नाम “दुर्गा प्राथमिक पाठशाला” राख्ने । पहल उनकै थियो त्यसैले उनी आफ्नो नामको स्कूल खुलोस् भन्ने चाहन्थे । बुझियो । तर मलाई त्यो नाम प्रति त्यति आपत्ति नभए पनि कता–कता के–के नमिलेझैं लागेको थियो । हुनसक्छ— ‘नामको भोका !’ भन्ने अवगालको छाप परेको थियो मेरो मस्तिष्कमा । मैले संशोधन प्रस्ताव राख्दै भनें— दुर्गाको अगाडि ‘नव’ थपौं सर । उनले प्रतिवाद गरेनन् । पाठशालाको नाम हुने भयो— “नवदुर्गा प्राथमिक पाठशाला” । त्यो बेला साइनबोर्ड लेखकको अभाव नै थियो । साइनबोर्ड लेख्न टीनको पाता चाहिन्थ्यो । मसँग थोत्रो बसको बडीको टुटेफुटेको पाता थियो, कुनै बेला जोगाड गरिराखेको । म बडो जोगाडी छु, यो भन्दा मलाई कति पनि हिनताबोध हुँदैन । जोगाड गरीगरी जीविका चलाउने बानी नै भइसकेको छ ।
जोगाडको टीनको पातामा मैले नै कुची चलाएँ । कामचलाउ साइनबोर्ड तयार भइहाल्यो । स्थानीयहरूसँग सल्ला भएकै थियो । उनीहरू आफ्ना बालबालिका पढाउन तत्पर नै थिए । उनीहरूको उज्यालो अनुहार साक्षी थियो, त्यत्रो पाठशाला खुल्न लागेकोमा उनीहरू खुसी थिए ।

बाँसको खाँबो चउरमा गाडियो । गाडिएको खाँबोमा “नवदुर्गा प्राथमिक पाठशाला”को साइनेबार्ड झुण्डियो । १०/१२ जना जति विद्यार्थी तत्काल उपलब्ध भइहाले । पढाउने जिम्मा गाउँकै युवालाई दिइयो । पढाउने भन्दा पनि अक्षर ज्ञान गराउने अभियान थियो— क, ख, ग, घ— अ, आ, इ, इ…। यसरी एउटा स्कूलको जग हालियो । त्यहाँ माध्यामिक विद्यालय सञ्चालित छ ।

घरेलु उद्योगको चर्चा हुँदा पाल्पाको नाम अगाडि आउँथ्यो । पाल्पाको घरेलुको लुगाको साथसाथै लुगा बुन्ने उपकरण तानको पनि उत्पादन गर्ने गर्थ्यो । पाल्पा घरेलुका हाकिम गणेशमान थिए । अत्यन्त परिश्रमी र मिलनसार व्यक्तित्वका धनी ।

तान किन्ने कामले तानसेन पाल्पा जाँदा आउँदा गणेशमानजीसँग राम्रो घुलमिल भएको थियो मेरो । कहिलेकाहींँ उनकै घरमा बास बसिन्थ्यो । हामी एकअर्काका तीतामीठा अनुभवहरू साटासाट गथ्र्यौं । यसैक्रममा उनले भनेको थिएः—

दश वर्षको सानै उमेरमा उनी तानसेन बजारकै व्यापारीकहाँ काम गर्न जाँदा रहेछन् । काम गरे बापतको पैसा आज पाइएला, भोलि पाइएला भन्दाभन्दै दुई वर्ष बितेछ । एकमनले उनले सोचेछन् पैसा बा’ले बुझ्न गर्नुभएको होला । फेर मनले नै मानेनछ र बा’सँग सोधेछन्— ‘मैले काम गरेको पैसा साहुले किन दिँदैन ? आजसम्म एकसुका पनि मलाई दिएको छैन ।’ बल्ल उनका बाले भेद खोलेछन्— गाह्रो पर्दा ऋण लिएको, ऋण तिर्न नसकेर ब्याज चुलिएको । त्यहीं ब्याजको साटो काम गर्न त्यहाँ पठाएको रहेछन् उनलाई ।

बाका कुराले दुईवर्षसम्म फोकटमा अर्काको कमार्तन गरिबसेका गणेशमानलाई ठूलै पीर पारेछ । मन भत्भती पोलेछ । कहिलेसम्म अर्काको कमारो भई बस्तु । यो हिसाबले छुटकारा पाइँदैन । मनले भनेछ— छुटकारा लिनै पर्छ । अनि उनी लागेछन् बम्मईको बाटो । बाह्र वर्षको उमेरमा उनी भारतको अन्य शहरमा नगएर बम्बई नै किन गए ? बम्बई उनी एक्लै गए कि उनलाई त्यहाँ पुर्याउने कोही अन्य व्यक्ति पनि थियो ? मैले नसोधेको हुनाले त्यो त्यत्तिकै भयो ।
बम्बईको कुनै कपडा कारखानामा उनी बाल मजदूर हुन पुगेछन् । उनले काम पाएछन् धागो रंगाउने । कुन धागोमा कुन रंग कति मिसाउने त्यसमा अरु के–के कति मात्रामा मिलाउने ? धागो र रंग सम्बन्धी काम चारवर्षसम्म सिकेको अनुभवका साथ उनी १६ वर्षको उमेरमा तानसेन फर्किएछन् ।

उनले बम्बईमा सिकेको धागो रंगाउने सीपको कदर पाल्पा घरेलु उद्योगबाट तत्काल भइहाल्यो । उनी जत्तिको जान्ने सिपालु मान्छे त्यो विषयको कोही भेटिएको थिएन । पद बहिदारको भए पनि उनको मुख्य काम धागो रंगाउने भयो । साँच्चै भन्नु पर्दा रंगसितको संगतले उनको जिन्दगी नै रंगीन तुल्यायो । उनले कालान्तरमा आफ्नै उद्योग स्थापना गरें । सयौंको संख्यामा बेरोजगारलाई रोजगारी दिए । उनी जनप्रिय उद्योगपति हुन पुगे । उद्योगपति मात्र भएनन् उनी तानसेन नगरपालिकाको नगरपिता बने । उनको घरेलुमा उत्पादित ‘पाल्पाली ढाका टोपी’ ब्राण्डेड टोपीमा गनिन थाल्यो जसको साख, प्रसिद्धि आज पनि कायम नै छ ।

अहिले गणेशमान श्रेष्ठको भौतिक शरीर हामीमाझ छैन तथापी इमानदारीपूर्ण उद्यमशीलता अविस्मरणीय रहेको छ । हार्दिक श्रद्धाञ्जली ।

देशमा विशुद्ध राजतन्त्र थियो । राजकाज चलाउने संयन्त्रलाई पञ्चायती व्यवस्था भनिन्थ्यो । विविध विचार र सिद्धान्तहरूको प्रतिनिधित्व गर्ने दलहरू थिएनन् । दलहरू निषेधित थिए । दलको अस्तित्व नभएको हुँदा पञ्चायती व्यवस्थालाई निर्दलीय सम्बोधन गरिन्थ्यो ।

ममा राजनीतिक चेतना पटक्कै थिएन । राजतन्त्र राम्रो लाग्थ्यो । तुलना गर्नलाई अरु कुनै तन्त्रको ज्ञान हुनुपथ्र्यो, थिएन । लुम्बिनी सन्देशमा रानी रत्नको जन्म दिन पारेर २०२४ सालमा एउटा कविता “स्वर्ग नै सरेछ भूमा” शीर्षकको कविता छापिसकेको थिएँ । कवितामा जन्मोत्सवलाई लक्ष्य गरी यो बेला सारा प्राणी जगतले खुसीयाली मनाइरहेको उल्लेख गर्दै अन्तिम हरफमा लेखेको थिएँः—
“…स्वर्ग नै सरेछ भूमा,
गाऔं लौ जयगान !
आजको दिन अति महान् !!”

यहीं कविता मेरो प्रथम प्रकाशित रचना थियो । यहीँबाट औपचारिक रूपमा मेरो साहित्यिक यात्रा आरम्भ भएको भन्नुपर्छ ।

राजा महेन्द्रको जन्मोत्सव आउनै लागेको थियो । व्यापार संगठन, बटौलीले व्यापार मेला लगाउने तैयारी गरिसकेथ्यो । राजाको सवारी हुँदा वा यस्तै खाले ठूला मेलाहरू आयोजना गर्दा बुटवल कलेजको मैदानलाई उपयुक्त ठानिन्थ्यो ।
विदेशिएका प्रजालाई आफ्नै घर गाउँ फर्किन तथा गाउँ गाउँमा गएर काम गर्न ‘गाउँ फर्क’ भनेर आह्वान गर्ने राष्ट्रप्रेम जगाउन— ‘मर्यो ज्यूँदै त्यो, जसले बिर्स्यो देशको माटो !’ प्रजालाई हेला होंचो नगर्ने संकल्प— ‘सक्तिन देख्न भन्छिन् सन्तान थरीथरीका’, युवामनहरूको ढुकढुकीमा रमाउन— ‘गाजलु ती ठूलाठूला आँखा’ लेखिआएका राजा महेन्द्र उर्फ मबीबी शाह कवितलाई चिनेको थिएँ । चिनेको मात्र होइन मनमनै मनपराउँथें, कविता सिर्जनाको हिसाबले एउटै फाँटका कर्मी भएकोले पनि हो कि उनी अलि नजिक भएजस्तो लाग्थ्यो । त्यो भाव आज पनि उस्तै छ ।

मेलामा आ–आफ्नो कार्यक्षेत्रमा भएका गतिविधि वा भनौं प्रगति प्रदर्शन गर्ने चल थियो, त्यसमा सबै कार्यालयहरू, औद्योगिक प्रतिष्ठानहरू सहभागी हुने गर्थे । यो चलन अहिले पनि विद्यमान छँदैछ । घरेलु तथा ग्रामिण उद्योग, भैरहवाले पनि त्यो मेलामा प्रदर्शन कक्ष राख्ने भएको थियो ।

बुटवल कलेजको अघिपछि फुटवल प्रतियोगिता आयोजना गर्ने गरिएको विशाल चउरमरा टिनका टहरा टनाटन हुँदै थिए । तिनै टहराहरू मध्ये एउटा सानो कक्ष, हामीले पनि हाम्रा तानहरू समेत प्रदर्शन गर्ने उद्देश्यले छेकेका थियौं । रित्तो तानमात्र राखेर प्रदर्शनको उद्देश्य पूर्ति हुँदैनथ्यो । कपडा तैयार हुँदै गरेको तान राख्नु जरुरी थियो । म त्यो ल्याउन भनी पाल्पा, तानसेन काजमा खटिएको थिएँ । २७जेठमा जाने २८ जेठमा फर्किने, २९ जेठमा प्रर्दशनी कक्षको तैयारी पूरा गर्ने, भन्ने सहज अनुमान थियो । म २९ गते साँझ मात्र काजबाट फर्किएँ । सीडिओले प्रदर्शन स्थलको निरीक्षण गरिसकेका रहेछन् । तबसम्म हाम्रो कक्षको तयारी अधूरो नै थियो । हाकिम दुर्गा केसीसँग स्पष्टीकरण मागिएको हुनुपर्छ अधूरो तैयारीका बारेमा । जेहोस् रातसाँझ गरी हाम्रो कक्षमा कपडा बुन्दै गरेको तान सजाइयो । २०२५ साल जेठ ३० गते अञ्चलाधीसबाट त्यो प्रदर्शनीको समुद्घाटन भयो । रमाइलो मेला लाग्यो— राजा महेन्द्रको जन्मदिनको साइत पारेर ।

जन्मोत्सवको विदा सकिएपछि नियमित रूपमा कार्यालय गएँ । हाकिम दुर्गाको अनुहार अरु दिनको भन्दा अलि बेग्लै खालको देखियो । उनी दुर्गाबाट चण्डी हुनपुगेका रहेछन् । कुर्सीमा बस्नै आँटेको थिएँ उनले बोलाइहाले— “ए लोकबहादुर जी यता आउनोस् !” उनको सोरले जनाएको थियो उनी आक्रोशमा थिए । म उनका सामु भएँ । त्यसपछि उनको र मेरो बीचको संवाद पछिको परिणाम यस्तो रह्योः

“तपाईंलाई काज खटाएको तान ल्याउन हो कि मस्ती गर्न ?”
“मैले कहाँ मस्ती गरें सर ? भनेजस्तो तान भेटिएन, त्यसको व्यवस्था गर्न थालें ।”
“तपाईं २८ गते फर्किनु पथ्र्यो एकदिन ढिलो गर्नुभो ! त्यो मस्ती गर्न भनेर नभै के हो त ?”
“तेसो होइन सर, जति तान थिए सबै खाली खाली थिए । कसैमा बुनिराखेको कपडा थिएन । कपडा बुन्ने कारिगर खोज्दा, तान लगाउँदा, कपडा बुन्दा, समय लाग्यो मैले के गर्नू ?”
“कुरा नबनाउनोस्, आफ्नो गल्तीलाई ढाकछोप गर्न अनेक बहाना नगर्नोस् । तपाईं लापरवाहा मान्छे हो । तपाईंले गर्दा मैले सीडीओको खप्की खप्नुपर्यो ।”
“सर, मैले जानीजानी कुनै गल्ती गरेकै छैन । परिस्थिति त्यस्तै पर्यो । आखिर उद्घाटन अघि हाम्रो स्टल तैयार भै पनि हाल्यो, मलाई किन दोष दिनुहुन्छ ?”
“सरासर तपाईंको गल्ती हो । लापरवाही हो । जागिर खाने मन छैन भने राजीनामा दिनुस् ।”

मैले बचाउमा प्रस्तुत गरेका सारा दलिलहरू काम नलाग्ने भैसकेका थिए । उनी अझ चर्को गरी आफ्नो आरोप ममाथि थोपर्न छोडेका थिएनन् ।

मभित्र कुन्नि कताको स्वाभिमान जाग्न पुगेछ । फनक्क फर्केर दराज खोलें, फुलस्केप साइजको सादा कागज झिकें र त्यसमा हाकिमलाई सम्बोधन गर्दै विषयमा धस्काइदिएँ— राजीनामा !

त्यस दिन मैले आफूले नगरेको गल्ती स्वीकार गरेर— “सर, मबाट भुल भयो मलाई माफ गर्नोस् ।” यत्ति मात्र भनेको भए खाइपाइ आएको जागिर छोड्नुपर्ने थिएन । त्यसो गर्न मलाई मेरो अन्तरआत्माले दिएन । अहिले सम्झन्छु, मैले माफी माग्नु पनि जरुरी के थियो र ? हाकिमका कुरा अथवा उनले लगाएको अभियोगालाई सुनेको नसुन्यै गरेको भए, एक कानले सुन्ने अर्कोले उडाउने गरेको भए पनि हुन्थ्यो । राजीनामा नै किन धस्काइ हाल्नु पथ्र्यो । उनले मेरो जागिर खोस्न पक्कै सक्ने थिएनन् ।

जागीरबाट राजीनामा दिँदा मैले जागिर पछिको घर, बाबा, आमालाई सम्झेकै रहेनछु । प्रमाणित हुन्छ ममा त्यतिबेलासम्म दुरदर्शिता थिएन । म परिपक्व भैसकेको थिइनँ ।