सभामुख दलीय स्वार्थ अनुरूप चलेको एमालेको आरोप
लुम्बिनी संवाददाता
बुटवल
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती पदीय मर्यादा भुलेर दलीय स्वार्थका आधारमा अघि बढेको भन्दै नेकपा एमालेले पदीय मर्यादा नाघेर पदमा नबस्न चेतावनी दिएको छ ।
एमालेले आफ्नो दलमा आबद्ध सांसदलाई कारबाही गरेपछि सभामुखले पदमुक्त गर्नुपर्नेमा दलीय स्वार्थका आधारमा निर्णय गरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने समेत चेतावनी दिएको छ । नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको हो । एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखले पदीय मर्यादाभन्दा बाहिर गएर न्यायाधीशजसरी भूमिका निर्वाह गर्न खोजेकोले पदीय मर्यादाभित्र रहन सचेत गराए । नेता चौधरीले सभामुखको भूमिकाअनुसार पदमा बसिरहन नमिल्ने तर्क गरे ।
‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’–एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिदैन ।’
एमालेले सभामुखविरुद्ध पदअनुकुल आचरण नगरेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ– ‘लुम्बिनी प्रदेशसभाका माननीय सभामुख श्री पूर्णबहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक–पटक पद अनुकूलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेशसभा नियमावली, २०७४ को नियम १८० बमोजिम निजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’
उपनेता चौधरी भन्छन्– ‘सभामुखले एमाले छाड्ने सांसदलाई उतिखेरै पदमुक्त गर्ने, जसपाका ४ जना सांसदलाई उतिखेरै पदमुक्त गर्ने र अहिले माओवादी सरकारलाई समर्थन गरेका एमालेका सांसदलाई एमालेले कारबाही गरेपछि पदमुक्त गर्न ढिलासुस्ती गर्ने, यो कुन कानूनले दिन्छ, कुन नैतिकताले दिन्छ, उहाँ सभामुख हो कि न्यायाधीश ?’
एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री भएका छन् । त्यस्तै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी छिन् ।
तर एमालेले भने दुबै जना सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका र नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका सदस्य रहेको भन्दै पार्टीको निर्देशन नमानेकाले निष्कासनको कारबाही गरी प्रदेशसभामा जानकारी गराएको थियो ।

सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : देशसभा सचिवालय
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यद्वय सांसद अजय शाही र विमलाकुमारी खत्री वलीको कारबाहीको विषयलाई लिएर लुम्बिनी प्रदेशमा सत्तापक्ष र विपक्षबीच विवाद झनै पेचिलो बनेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद शाही र खत्रीलाई पदमुक्त गर्न नमिल्ने बताएपछि विवाद झन् बढेको हो ।
ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।
उनका अनुसार एमालेले प्रदेशसभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरूको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।
प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आबद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएको उनले बताए ।
शाही प्रदेशसभा निर्वाचन २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् । त्यस्तै वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपाबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् । र उनले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।