बुटवल । एमालेले कारबाहीको माग गर्दै सभामुखलाई पत्र दिए पनि दुई प्रदेशसभा सदस्यको बारेमा सभामुखको निर्णय नआएपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध बनेको छ । प्रदेश सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे बस्ने कार्यसूची रहे पनि बैठक सञ्चालनको अवस्था नरहेपछि भदौ ७ गतेसम्मको लागि स्थगित भएको हो ।
सभामुखको निर्णय नआए बिहीबार पनि प्रदेशसभा बैठक अवरुद्ध गर्ने एमालेले जनाएको थियो । एमालेको अडान कायमै रहेकाले प्रदेशसभा अघि बढ्ने अवस्था नभएपछि बैठक स्थगित भएको सूचना जारी गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गरेको सूचना नआउँदासम्म सदन रोक्ने अडानबाट पछि नहट्दा लुम्बिनी प्रदेशसभा ७ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयले बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारित नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएको सूचना टाँस गरेको थियो ।
आगामी बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र महिनाको ७ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी तय भएको सूचनामा उल्लेख छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम बिहीबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । भदौ १ गतेदेखि सुरु भएको अधिवेशन एमालेको निरन्तर अवरोधका कारण अगाडि बढ्न सकेको छैन । एमालेले सूर्य चुनाव लिएर निर्वाचित नवलपरासीका अजय शाही र दाङका विमला वली खत्री पार्टी हितविपरीत गएकाले कारबाही गरी सांसद पदमुक्त गर्न प्रदेशसभामा निवेदन दिए पनि कारबाही अगाडि नबढाइएको भन्दै एमालेले विरोध गर्दै आएको छ ।
बिगतमा सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिव दुर्लभकुमार पुनले निवेदन आउँदासाथ पदमुक्त गर्ने गरे पनि अहिले एमालेले दिएको निवेदनलाई बेवास्ता गरिएको एमालेले जनाएको छ । सभामुख घर्तीले भने निर्णयको लागि थप कागजपत्र आवश्यक देखिएकाले निर्णयमा ढिलो भएको जनाएका छन् । अजय शाही र विमला खत्री वली दुवै सूर्य चिन्ह लिएर चुनावमा विजयी भए पनि शाही हृदयेश त्रिपाठी समूहको भई स्वतन्त्र सांसदको रूपमा रहेका र विमलाले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद रहँदै आएको छ ।