दुई प्रदेशसभा सदस्यको कारबाहीको विषयले प्रदेशसभा अवरुद्ध
बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सदस्यको कारबाहीको विषयमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति नजुट्दा प्रदेशसभाको कामकारबाही अघि बढ्न सकेको छैन । सहमति नजुटेपछि प्रतिपक्ष नेकपा एमालेले प्रदेशसभाको बैठक बुधबार पनि अवरुद्ध गरेको छ ।
बैठक सुरु भएलगत्तै नाराबाजी गरेका प्रदेशसभा सदस्यहरू हरि रिजाल, तुल्सी चौधरीले रोष्टमबाटै सभामुख पूर्णबहादुर घर्तीसँग सवाल जवाफ गरेका थिए ।
सभामुख घर्तीले यसलाई प्रक्रियामा लैजान प्रतिबद्ध भएको भनेर आश्वस्त पारेका थिए ।
एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बैठक आज बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
एमालेले आफूले कारबाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ । एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् । उनले संसद्को नियमानुसार नै कारबाही अघि बढ्ने बताएका थिए ।
एमालेले आफ्ना सांसदलाई गरेको कारबाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरू अवरुद्ध गरेको हो ।
एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरू अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारबाही गरेको पत्र सभामुखलाई बुझाइ सकेको छ । उक्त पत्र सभामुखले प्रदेशसभामा पढेर नसुनाउँदासम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।
बुधबारको बैठकमा प्रतिपक्षका सांसदहरूको नाराबाजीका बीच सभामुख घर्तीले कारबाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारबाहीका लागि थप आवश्यक काजगपत्रहरू समेत पेश गर्न आग्रह गरेको बताए । तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गरेका छन् । रोष्ट्रम घेराउ गर्दै उनीहरूले संसदीय सर्वोच्चतालाई कायम राख्न सभामूख निष्पक्ष हुनुपर्ने माग राख्दै तत्काल कारबाहीको पत्र पढेर सुनाउन माग राखेका छन् ।
प्रतिपक्षी दल एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका २ सांसदलाई पदमुक्त नगरेको भन्दै सदन चल्न नदिने अडान राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले बैठक डाकेका थिए । पदमुक्त नहुन्जेलसम्म संसद चल्न नदिने भनेपछि नियमित रूपमा संसद चलाउने प्रयासस्वरूप मुख्यमन्त्री केसीले प्रतिपक्षी दल एमालेसँग छलफल गरेका थिए ।
सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक फखरूद्दिन खानले प्रतिपक्षी दल एमालेसँग भएको छलफल जारी रहने बताए । उनले २ सांसदहरूको पदमुक्त गर्ने विषयमा एमालेले अडान राखेको र छलफल सहमतिमा नपुगेको बताए ।
बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं. ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८÷०७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काबाट पेस भई निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम थियो ।