स्वतन्त्र हुँ भन्दै पार्टीको कार्यक्रममा सहभागी बनेपछि आलोचना, मुख्यमन्त्री कार्यालयमा माओवादी नेता कार्यकर्ताको टिकटक ‘डान्स’
लुम्बिनी संवाददाता
बुटवल
सादगी नेताको पहिचान बनाएका अमिक शेरचन लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएको केही दिनमै विवादित बनेका छन् । प्रदेश प्रमुखको सचिवालयका विज्ञप्ति र पार्टीको औपचारिक कार्यक्रमको प्रमुख अतिथि बनेपछि उनी आलोचित बनेका हुन् ।
भर्खरै प्रतिपक्षी बनेको नेकपा एमालले प्रदेश प्रमुखको सचिवालयको आलोचना गरेको छ । प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश प्रमुखले मर्यादा बिर्सेर कार्यालयलाई पार्टी कार्यकर्ताको सेल्टर बनाएको आरोप लगाए ।
प्रदेश प्रमुखको सचिवालयले एमाले प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिको कडा टिप्पणी गरेको छ । एमाले प्रदेश अध्यक्ष एवं प्रदेश सांसद लिला गिरीको नामै किटेर ‘अब आइन्दा यस्तो नगर्नु’ भन्ने धम्कीपूर्ण शब्द विज्ञप्तिमा राखिएको प्रति एमालेले आपत्ती जनाएको छ ।
संविधान, विधि र प्रक्रिया मान्नुको साटो उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरी विज्ञप्ति जारी गर्नु निन्दनीय भएको ढकालको भनाइ छ । कुशल राजनीतिज्ञ, सरल र सादगी नेताका रूपमा मानिएका र प्रदेश प्रमुखजस्तो गरिमामय जिम्मेवारीमा पुनः नियुक्त हुँदै लुम्बिनी आएका अमिक शेरचनको कार्यालयबाट आएको जवाफी विज्ञप्तिले मर्यादा नाघेको एमालेको दाबी छ ।
आफ्ना सांसदलाई मन्त्रीको रूपमा सपथ खुवाएको भन्दै नेकपा एमाले लुम्बिनीले जारी गरेको विज्ञप्तिमा अध्यक्ष गिरीकै नाम इंगित गर्दै चेतावनीपूर्ण जस्तो भाषामा जारी गरिएको विज्ञप्तिले प्रदेश प्रमुखको सादगी, सरलता, बोलीभन्दा व्यवहार फरक देखिएको एमालेको ठहर छ ।
शुक्रबार आएको विज्ञप्तिले प्रदेश प्रमुख कार्यालय र नेकपा एमालेबीचको दुरी बढेको हो । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीहरूको विषयलाई लिएर एमाले र प्रदेश प्रमुखबीच आरोप–प्रत्यारोप चलेको छ ।
कानून विपरीत आफ्ना सांसदलाई मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाउँदै खण्डन विज्ञप्ति सार्वजनिक गरेको थियो । शुक्रबार प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लिला गिरीको नामै तोकेर प्रतिप्रश्न गरिएको छ ।
सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पु¥याउन गिरीलाई आग्रह गरिएको छ । ‘एउटा पार्टीका सदस्यलाई अर्काे पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका उदाहरणहरूप्रति पनि लीला गिरीजीको ध्यान नपुगेको हो कि ?’–विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परिवर्तन गर्ने र नगर्ने विषय निःतान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिको अन्तिममा लेखिएको छ– ‘आयन्दा यस प्रकारको तुच्छ आरोप नगर्न पनि सबैमा आग्रह गर्दछु ।’
बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजय शाहीलाई सपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेको थियो । एमालेले नवलपरासीका सांसद शाही सूर्य चिह्नबाट निर्वाचित भएकोले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको सपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो । त्यस्तै, सूर्य चिन्हबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति आपत्ति जनाएको थियो ।
प्रदेश प्रमुख स्वतन्त्र र संविधानको पालक भनिए पनि साउन २७ गते कपिलवस्तुमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रूपमा प्रदेश प्रमुख शेरचन सहभागी भएका थिए । यसले उनको पदीय मर्यादा नाघेको प्रष्ट भएको एमालेले जनाएको छ ।
यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हालको सत्तापक्षीय गठबन्धनले आलोचना गर्दै आएका थिए । यादवलाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले शेरचनलाई प्रदेश प्रमुख बनाएको हो ।
मुख्यमन्त्री कार्यालयमा नाचगान
मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएपछि मुख्यमन्त्री कार्यालयमा माओवादी केन्द्रका नेता कार्यकर्ताको मनोरञ्जन सुरु भएको छ । सामाजिक सञ्जालमा त्यहाँ भएका गतिविधि भाइरल बनेका छन् । नेता कार्यकर्ता छेउछाउमा बसेर ताली पिट्ने र महिला नेतृ बीचमा नाचेको दृश्य भाइरल भएको हो । टिकटकमा देखिएको सो भिडियोमा माओवादीका धेरै नेताहरू ताली पिटिरहेका देखिन्छन् ।

विश्वासको मत लिने तयारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने गरी सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
विशेष अधिवेशन बिहीबार मात्रै अन्त्य भएको थियो ।
प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।
राजनीतिक उतार चढाव भइरहेकाले केसी विश्वासको मत लिन हतारिएका हुन् । एमालेले दुई सांसदलाई कारबाही गर्ने तयारी गरिरहेको छ । ती सांसद पदमुक्त भए सत्तारूढका दुई मत घट्नेछ । यसले विश्वासको मत पाउन जोखिम हुने ठानिएपछि हतारमा संसद बैठक बोलाइएको हो ।