सुनील गङ्गोपाध्याय

के हत्याराहरू पनि फुटपाथमा उभेर फलफूल किन्छन् ? के तिनीहरू पनि रूपैयाँको सात गोटाको साटो आठ गोटा पाउन मोलमोलाइ गर्दछन् ?

(सुनील गङ्गोपाध्याय बंगाली भाषाका कथाकार हुन् । उनको यो कथा ‘सन्त्रास तथा अन्य कथाहरू’ बाट साभार गरिएको हो । सन् १९९४ मा प्रकाशित सुनीलको अंग्रेजी कथा संग्रह ‘फियर एण्ड अदर स्टोरिज्’ कथा संग्रहको नेपाली अनुवाद योगेश राजले गरेका हुन् । यसको प्रकाशन विसं. २०५७ वैशाखमा ‘साहित्य गुठी’ले प्रकाशन गरेको हो । कथाले उठाएको विषय वर्तमान समयमा कत्तिको मेल खान्छ भन्ने मुल्यांकनको जिम्मा पाठकलाई सुम्पिदै पाहुरमा यो अनुवाद प्रकाशन गरिएको छ ।)

आउनुस्, त्यो मान्छेलाई चिनौं !

जो दुब्लो, अग्लो र झन्डै चालीस वर्षको अधबैंसे थियो । उसको बाक्लो केशमा यताउता केही सेता धर्साहरू थिए । उसको अनुहार घोडाको अनुहार जस्तो थियो । यसको अर्थ ऊ कुरूप थियो अथवा हाँसो उठ्तो थियो भन्ने होइन । थुप्रै मानिसको अनुहार घोडाको जस्तो देखिन्छ । उसले मुन्तिर सफा भन्न सकिने धोती र मास्तिर आधी बाहुले कमीज लगाएको थियो । उसको देब्रे हातको एउटा औंलामा सुनको औंठी चम्किदै थियो ।

त्यो मान्छे जगुबाबुको बजार बाहिरको फुटपाथमा बसेका फलफूल व्यापारीसँग दिउँसो १ः३० बजे केही फल किन्दै थियो । १ः३० बजे दिउँसो ।

सडकका जनसामान्यबीच ऊ एकजना सामान्य मानिस थियो । कसैले उसलाई ऊ एउटा हत्यारा हो भनी भन्न सक्दैन होला !

के हत्याराहरू पनि फुटपाथमा उभेर फलफूल किन्छन् ? के तिनीहरू पनि रूपैयाँको सात गोटाको साटो आठ गोटा पाउन मोलमोलाइ गर्दछन् ? दुई रूपैयाँको पन्ध्र गोटामा दुवै पक्ष राजी भए । हातमा कागजको पोका लिएर त्यो मान्छे हाज्रा सडकको चौबाटोतर्फ हिँड्न थाल्यो ।

कालिका सिनेमा हलछेउको तीनतल्ले घरको ढोकाबाहिर तीनवटा लेटरबक्स थिए । त्यो मान्छेले बीचको लेटरबक्स रित्तो पायो । ऊ दोस्रो तल्लामा रहेको हावादारी एवम् उज्यालो फ्लैटमा पस्यो । त्यो पन्ध्र वर्ष अघि नै निकै सस्तो भाडामा लिइएको थियो । साल्ट लेक नजिक घडेरी हँदाहुँदै पनि त्यो मान्छेले त्यहाँ घर बनाउन चाहेन, किनभने त्यो उसको पसलबाट टाढा हुनेछ ।

उसकी श्रीमती ओछयानमा पल्टेर पत्रिका पढदै थिइन् । उनी थसुल्ली थिइन् र दिउँसो ब्रा लाउदिन थिइन् । केही बेर अघि मात्र उनले नुहाएको थिइन । यति खेर सधैं झै उनको श्रीमान् पसलको जिम्मा कामदारलाई दिएर खाना खान घर आइपुगेका थिए ।

तिनको जेठो छोरो भखरै कलेजमा भर्ना भएका थिए । तिनकी छोरी ९ वर्षकी थिई र स्कूल बसबाट केही छिन अघि मात्र घर आइपगेकी थिई ।
डोरबेल सुनेपछि, श्रीमती चाहिले पत्रिका बन्द गरिन र भनिन् “पुसि, ढोका खोलिदेऊ त । बा आएका छन् ।”

तिनका एकजना बूढो भान्से पनि थियो, जो तीन दिन अघि घरतिर गएका थिए । घरकी मालिकनीले नै आज खाना तताउन पर्ने र केही भन्टा तार्नु पर्ने थियो । उनको श्रीमान् खानाको साथमा केही न केही तारेको परिकार भए मात्र खान रुचाउँथे ।

खाटबाट उठेर भान्सा कोठातिर जानको साटो उनी ऐना अगाडि गएर उभिइन् । हावामा आर्द्रता उच्च थियो, उनले आफ्ना स्तनहरूमा चिलाउन थालेको चाल पाइन् । उनले हत्केलाले देब्रे स्तन समाइन् र एकपछि अर्को स्तन कन्याउन थालिन् ।

छोरी चाहिँले ढोका खोली र आफ्ना बालाई सोधी, “तपाईले मेरो लागि के ल्याइदिनुभा’ छ ?”

कागजको पोका छोरीलाई दिएर र एकपल्ट मायाले गाला मुसारेर ऊ सुत्ने कोठामा पस्यो ।

श्रीमतीलाई देखेर भन्दा ऐनामा देखिएको उनको विशाल नग्न स्तनको विम्ब देखेर ऊ मोहित भयो । ऊ मुस्करायो ।
भित्तामा देवी कालीको तस्वीर झुन्डिएको थियो र त्यसमा राता कागजको फूलमाला लगाइएको थियो । ड्रेसिङ टेबलको दुबैतिर गरेर दुई वटा बन्कुरा घोडाहरू थिए । भयालमा विदेशी रक्सीको पुरानो बोतलबाट मनिप्लान्टको बोट लत्रेको थियो ।

हत्याराको घर ।

सेलिम्पुरबाट फराकिलो बाटो हुँदै गयौं भने जोधपर पार्क पुग्नेछौं । त्यहीं अलिक भित्र सोनामोनिकी काकी बस्थिन् ।

सोनामोनिका आमा–बाबा दुवै कर्मचारी थिए र साँझ मात्रै अफिसबाट घर फर्कन्थे । त्यसैले सोनामोनि स्कलबाट फर्केर सीधै काकीको घर जान्थी । घरमा काम गर्ने आइमाईले उसलाई त्यहाँ पुर्‍याउँथिन र पछि घर फर्काउन लिन पनि जान्थिन् ।

सोनामोनि एघार वर्षकी थिई । ऊ अझै कथा–संसारबाट वास्तविक संसारमा आइसकेकी थिइन । आउन भने लागेकी थिई । ऊ गोरी थिई । उसको मुहार सुन्दर थियो । सानी छँदादेखिन नै उसलाई देख्नेहरू टिप्पणी गर्दथे : “यो केटी त पुतली जस्ती छ ।” यस्तो सुनेपछि कहिलेकाहीं ऊ रुन्थी । तिनीहरू सबै एउटै कुरा गर्दथे, तर उसलाई भने पुतली हुने कुनैे इच्छा थिएन !

केही समय यता, मानिसहरूले उसलाई परी भन्न थालेका थिए । ऊ अग्लिदै थिई र उसका केश घुँगरिएका थिए । उसका आँखा गाजल लगाएको जस्ता देखिन्थे र पढाइका कुरामा ऊ एकदम प्रतिभाशाली थिई ।

साँझको साढे छ बजेको थियो र सोनामोनि काकीकहाँबाट घर फर्कदै थिई । बिजुली थिएन र सर्वत्र अँध्यारो थियो । साँझ पानी परेको हुनाले बाटोको खाल्डाखाल्डीमा यताउता पानी जमेको थियो ।

नोकर्नी बिमला सोनामोनिको हात समाएर हिँड्दै थिइन्, तर सोनामोनि हात छुटाउन खोज्दै थिई । ऊ त्यति सानी पनि त थिइन । दुई दिन पछि उसको जन्मदिन थियो । त्यस दिन ऊ १२ वर्षकी हुन्थी र किशोर संसारमा पदार्पण गर्न लागेकी थिई ।

अँध्यारो हुुँदाहुँदै पनि सडकमा थुप्रै मानिसहरू थिए । हेड–लाइट पछयाएर कारहरू ओहोर–दोहोर गरिरहेका थिए । त्यस सडकमा रिक्साहरू पनि थिए र एउटा गाई पनि थियो ।

मूल बोटामा प्रशस्त पानी जमेको थियो । सोनामोनिले फुटपाथ छोडेर मूल बाटोमा टेक्ने बित्तिकै कसैले अकस्मात् उसलाई कतै मन्तिर ताने जस्तो भयो । उसले बिमलातर्फ हात बढाई तर भ्याइन । उसले चिच्याउन चाही तर सकिन ।

सोनामोनि सडकको पानीमा डुबी र त्यो पानी घुँडासम्म पनि पुग्दैनथ्यो !

पहिले त बिमलाले केही पनि बुझ्न सकिनन् । एक छिन पछि, एउटा कारको हेड–लाइटको उज्यालोमा सोनामोनिले लाएकी सेतो फ्रक पानीमा खुम्चिदै डुब्दै गरेको उनले देखिन् ।

“खुकू, तिमी कहाँ छ्यौ ? ए खुकू ! के भयो, लौ न ? खुकू !“

लुछाचुंडीमा बिमला आफै पनि खसिन् तर उनी चाहिं डुबिनन । उनलाई आफैले धकालेर सोनामोनि भूमिगत जलभण्डारको गहिराइमा डुबेकी हुन् भन्ने पनि ज्ञान भएन ।

बिमला किन चिच्याउँदै थिइन् भन्ने कुरा बुझ्न आवतजावत गर्नेहरूलाई केही समय लाग्यो । तिनीहरूले अलिक झर्को माने । तिनलाई अरुको मामिलामा दखल दिन मन पर्दैनथ्यो ।

झन्डै साढे दुई घण्टा जति पछि सोनामोनिको लाश भेटियो । सडकमा अँध्यारो छाएकै कारणले कसैले उसको विकृत र कुरूप अनुहार देखेन ।

रातको पौने एक बजेको थियो । शहरका अधिकांश ठाउँ निद्रामा डुबेको भएता पनि केही कहीं अझै जागै थिए ।

पञ्चनन्तलाको साँघुरो फोहोर बस्तीछेउको रेलवे लिकमा करिब पाँचजना युवाहरू गफ गर्दै थिए । तीमध्ये दुईवटाको ओंठमाथि जुंघाको रेखी बस्न पाएको पनि थिएन, तर यी दुई पनि समूहमा सामेल हुन आफू सक्दो प्रयास गर्दै थिए ।

तिनीहरूको सामु लोकल रक्सीका बोतलहरू र मसलादार खीमा चाट पनि थियो । चार जना चुरोट तान्दै थिए र बाँकी चाहिँ गाँजा बटार्दै थिए ।

रातीका बेला दुईवटा मालगाडी आउँथ्यो । तर यति अबेर त ती पनि आउँदैनथे । मालगाडी आयो भने केटाहरूको भलो हुन्थ्यो । केही दिनदखि बजार मन्दी थियो र केही उपाय नलागेपछि अन्नतः तिनीहरू स–साना चोरीमा व्यस्त रहन बाध्य भएका थिए ।

अनायास ती मध्ये एउटा चिच्यायो, “भू…त !”

अर्कोले त्यसको तिघ्रामा हान्यो र भन्यो, “चुप ! लागिसक्यो । यत्तिकैमा”
तैपनि, पहिलोले भन्यो, “ऊ, त्यहाँ हेर ……. त ! भू…त !”
त्यस बेला ती पाँचैजनाले उसलाई देखे । उसले सेतो सफा फ्रक लगाएकी थिई र ऊ निकै गोरी थिई । तिनीहरूको सामुन्ने ११, १२ वर्षकी एउटी परी हावामा लट्किरहेकी थिई ।

पाँचैजना अवाक भए । त्यो त प्रेत थियो ।

परीले सोधी, “मलाई तिमीहरूले किन मारेको ? मैले के बिगार गरेको थिएँ ?”

पाँचैजना केटाहरू काम्न थाले, मानौं तिनलाई पुलिसले भेट्टाएको होस् र एकपछि अर्को झुट्टा आरोपहरू लगाएर झुन्ड्याउन लागेको होस् । तिनीहरू चक्कु अथवा पेस्तोलसँग कुनै मतलब राख्दैनथे । त्यस्तो काम गर्ने अर्को कुनै समूह थियो । ती केटाहरू त बल्ल स–साना चीजहरू चोर्ने विद्या सिक्दै थिए ।
तिनको नाइके गणले सोध्यो, “तिमीलाई कसले मारेको हो? हामी आइमाई जातलाई छुदैनौं । तिमी गलत ठाउँमा आइपुग्यौ !”

परीले जोड दिदै भनी, “हो, तिमीहरूले नै मलाई मारेका हौ । किन यस्तो गरेको ? मैले के बिराएकी थिएँ ? मेरा आमाबाबले तिमीहरूको केही बिगार पो गरेको थियो कि ?”

गण चिल्लायो, “कस्तो वाहियात कुरा ! म साँचो बोल्दैछु । हामी यस्तो काम गर्दैनौं । हामीले तिमीलाई मारेका होइनौं !”

केटीले भनी, “मेरो जन्मदिन पर्सि हो । अब त्यो दिन कहिल्यै आउने छैन । म स्कूल पनि अब कहिल्यै जान पाउन्न ! आमाबाले मलाई कहिल्यै देख्न पाउने भएनन् । तिमीहरूले मलाई यसरी किन सजाय दियौ जोधपुर पार्कअगाडिको सडकमा रहेको तीनवटा मङ्गालको ढक्कन तिमीहरूले नै निकालेका हौ ….”

गणले आँखा चिम्लियो । मानौ पुलिसले बरामद गरेको चोरीको सामान तिनको आँखा सामु फैलाएर देखाएको होस् । हो, त्यो काम तिनीहरूले नै गरेका थिए ।
यति बेरसम्ममा समूहका अका नेता नेबुले केही आँट समेटिसकेको थियो ।

उसले भन्यो, “हो, हामीले त्यो ढक्कन लिएका हौं । पेट भर्नका लागि । तिमीहरू जोधपुरमा बस्छौ । तिमीहरू धनी छौ । मङ्गालमा तिम्रो पाइला कसरी पर्न गयो ? तिमीहरू त कार चढ्नेहरू !”

सोनामोनिले भनी, “हामीसित कार छैन । म विमलासँग हिंडिरहेकी थिएँ र खला मङगालमा खसें र डुबेर मरें । बिमलाको पनि एउटा खटा भाँच्चियो । तिमीहरूलाई दया भनेकै लाग्दैन ?”

गणले जवाफ दियो, “त्यो साँझ पानी पनि जोडले परेको थियो ।”
नेबुले भन्यो, “पानी पर्नु र सडकमा भेल आउनु भनेको त देउताको पो दोष हो ।”
गणले स्पष्ट पार्‍यो, “तिमी दयाको कुरा गर्दछ्यौ, तर हामीसित खानलाई केही नहुँदा हामीमाथि दया गर्ने चाहिँ को थियो त ? तिम्रा आमाबाले हामीलाई खाना देलान् ? कसैले पनि दिंदैन । हामीले केही माग्यौं भने पनि, तिनीहरू हामीलाई खेद्छन् मात्रै !”

“तिमीहरू कुनै अर्कै काम गर्न सक्दैनौ ? जसरी अरू मानिस अफिसमा काम गर्दछन् …”

“तिमी कहाँबाट आएकी परी हौ ? तिमीलाई केही थाहा छैन ? तिमी त हामीलाई आरोप लगाउन पो यहाँ आएकी रहिछ्यौ । अर्के काम ? बेहालाको एउटा फैक्टरीमा हाम्रो एकजना साथी काम गर्‍यो । अब उसको काम छैन । अब, ऊ पनि हाम्रै समूहमा सामेल भएको छ ।”

“यसको अर्थ मानिसहरू मरोस् भनेर दुष्ट काम गर्ने हो त ?”

“फेरि तिमी त्यस्तै कुरा गर्दैछ्यौ । तिम्रो मृत्युको दोषी यदि कोही हो भने त्यो जगुबाबुको बजारको शिबुबाबु हो !”

“ऊ को हो ?”

“उसको हार्डवेयरको पसल छ । ऊ हामीसँग सामान किन्छ । पार्क वरिपरिका टुटेका रेलिङ लग्यौं भने ऊ हामीलाई थोरै मात्र पैसा दिन्छ । मङ्गालको ढक्कन लग्यौं भने बढी पैसा दिन्छ । एउटा लग्यौं भने ऊ अर्को पनि छ कि भनेर सोध्छ ।”

“हो, परी । तिम्रो मृत्युको जिम्मेवार शिबुबाबु हो ! उसले हामीबाट त्यस्तो सामान नकिन्ने भएको भए हामी बिनसित्तिमा त्यस्तो ढक्कन किन उठाउँथ्यौं । त्यै शिबुबाबु कालीका अनन्य भक्त हुन् । उसको पसलमा कालीको विशाल तस्वीर पनि छ !”

सोनामोनिको आत्मा अन्तर्धान भयो ।

कालिका सिनेमा हलछेउको दोस्रो तल्लाको फ्लैटभित्र सुतिरहेको शिबुबाबु निद्राबाट ब्यूझियो ।

ऊ र उसकी स्वास्नी ठूलो खाटमासँगै सुत्दथे र छोराछोरी भने अलग अलग कोठामा । छोरी चाहिँ बाबुकी प्यारी थिई, त्यसैले ऊ प्रायः आमा र बाबुको बीचमा घुस्न आउँथी ।

आँखा खोल्दाखोल्दै शिबुबाब तीन छक्क परिसकेका थिए ।

झ्यालबाट धूवाँ जस्तो केही भित्र आउदै थियो । विस्तारैे त्यो धुवां एउटा आकृतिमा बदलियो । सेतो फ्रक लगाएकी एउटी अत्यन्त राम्री केटी हावामा तैरिरहेकी थिई ।

शिबुबाबुलाई लाग्यो, कुनै देवी दर्शन दिन आएकी थिइन् । के देवी लक्ष्मी हुन् ? उसले एउटा चिट्ठा किनेको थियो र दुई करोड दुई लाख रूपैयाँको पहिलो पुरस्कार आफूलाई पर्ने कुरो कल्पदै थियो ।

हावामा तैरिरहेकी परीले उदास स्वरमा भनी, “तिमीले मलाई किन मार्न लगाएको ? मैले के बिराएकी थिएँ ?”

“के !”

शिबुबाबलाई करेन्टको झट्का झै लाग्यो । ऊ जुरुक्क उठ्यो र तुरुन्ते उसको जीउबाट पसिना टप्कन थाल्यो । यो केटी मारिएकी थिई । कस्तो भयानक कुरा । यति बिघ्न चिटिक्क परेकी केटी मार्नेहरू मानिस हुन् कि शैतान ?
तर यो केटी उसकहाँ किन आइपुगी । उसमाथि किन दोष दिई ?

“मलाई किन मारेको ? मेरो जन्मदिन दुईदिन पछि त हो ।”

“के भनेकी यस्तो ….. तिमीलाई म किन मारुँला ? मेरो आफ्नै जहान छोराछोरीसहितको घरपरिवार छ । बिनसित्तिमा म कोहीसँग लड्दिन, पर्दिन । मेरी एउटी छोरी त तिम्रै उमेरकी होली…”

“तर रेलवे लाइनका केटाहरूले त तिमी नै जिम्मेवार हौ भनेर भने”

“रेलवे लाइनका केटाहरू ? को केटाहरू ? म तिनीहरूलाई चिन्दिनँ । सविस्तार भन त, के भएको थियो ।”

“म जोधपुर पार्क भएर हिँड्दै थिएँ । साँझको समय थियो र त्यतिखेर त्यस भेगमा लोडसेडिङ थियो । सडकमा प्रशस्त पानी जमेको थियो ।”

“अँ, हो । त्यो दिन राती मैले रेडियोमा एउटी केटी दुर्घटनामा मरी भन्ने सुनेको थिएँ । अहिले सम्झे । कस्तो दुःखलाग्दो कुरा ! यति भर्खरकी ! च च ! के कारले तिमीलाई किचेको थियो ?”

“सडकमुन्तिर नर्क थियो र म त्यसैमा डुबेर मरें । मङ्गालमा कुने ढक्कन थिएन ।”

“नर्क भनेर भनेकी…”

“ती ढक्कनहरू तिमी किन्छौ भनेर मलाई रेलवे लाइनका केटाहरूले बताए । त्यसैले तिनीहरू ती ढक्कन तिमीकहाँ ल्याउँछन । तिमीले नकिन्ने भएको भए तिनले चोर्ने पनि थिएनन !”

“तिनीहरूले झुट बोले । मैले किनिनँ भने पनि ती ढक्कन कोही अरुले किनिहाल्लान् । मेरो एउटा पसल छ, जहाँ म जो सुकैले पुरानो फलाम ल्याए भने पनि किन्छु । त्यस्तो पुरानो फलाम कहाँ कहाबाट आउँछन् कहाँ कहाँबाट, मलाई के थाहा । त्यस्तो थाहा पाउन मेरो दायित्व हो र ?”

“के तिमीलाई मङ्गालमा ढक्कन नभएपछि मान्छेहरू मर्न सक्छ भन्ने थाहा छैन । जसरी म मरे त्यसरी नै ?”

“तिमी मलाई त्यसे दोषारोपण गरिरहेकीछ्यौ । मबाट पनि ती ढक्कन कोही अरु किन्छन् । तिमीलाई थाहा छ, को ? नगरपालिकाका हाकिमहरू । तिनीहरू मसँग ढक्कन किन्छन् र गएर फिट गरिदिन्छन् । गण र नेबुजस्ता केटाहरू फेरि फेरि मकहाँ तिनै ढक्कन लिएर आउँछन् र नगरपालिकाका उनै हाकिमहरू मकहाँ आउँछन् ढक्कन किन्न । यो घोटालामा मेरो भूमिका के छ र ? म त कोही होइन । नगरपालिकाको श्रीमान् दासकहाँ जाऊ ! ऊ पनि यो तिकडममा सामेल छ ।”

“तर तिमीलाई सबैकुरा थाहा त छ ?”

“म त्यति बिचार गर्दिनँ । म त सामान किन्छ, अनि बेच्छु । सडकहरू सुरक्षित छन् छैनन हेर्नु मेरो काम होइन । पुलिसले यस्तो चोरी रोक्न सक्दैनथ्यो र ? पुलिस स्टेशनमा जाऊ र त्यहाँको हाकिमलाई भन कि उसले तिमीलाई मारेको हो । र प्रत्येक साँझ बत्ती निभाउनेहरूकहाँ पनि जाऊ ! के तिनलाई थाहा छैन, सडकमा गड्डाहरू र खुला मङ्गालहरू छन् भनेर ? बेलुकीभरि बत्ती नहुँदा कति मानिसहरू दुर्घटनामा पर्छन् ! दुर्घटनाहरू प्रत्येक दिन जहाँतहीं घट्दैछन् । के त्यसमा तिनीहरू कहिल्यै आफ्नो कुनै गल्ती महसुस गर्छन् ? तिमी यहाँ आएर मलाई मात्र किन आरोप लगाउँदैछयौ ? बरु यो करुणालाग्दो को हो कि तिमी जस्ती एउटी केटी…”

सोनामोनि फेरि एक पल्ट धूवाँमा रूपान्तरित भई र भयालबाट निस्केर बेपत्ता भई ।

शिबुबाबु लगलग काम्दै थियो । उसले धन्यवाद दिदै देवीलाई प्रणाम गर्‍यो ।
त्यसपछि उसलेसँगै निदाएकी छोरीलाई मायाले अँगालो हाल्यो ।

साँझ अबेर पुसिलाई घरबाहिर कहिल्यै जान नदिने शपथ उसले मनमनै खायो ।

सोनामोनिको आत्मा प्रातःकालीन आकाशमा भड्किन थाल्यो ।

शिवबाबु भन्ने मानिसले यति धेरै मानिसहरूको नाम लिएको थियो कि अब ऊ कहाँ कहाँ मात्र जान सक्थी ? कहाँ गएर ऊ आफ्नो उदास कथा सनाउन सक्थी र आफ्नो जन्मदिन अब उसले कहिल्ये मनाउन नपाउने भई । किशोर संसारमा उसले पर्दापण गर्न कहिल्यै नपाउने भई ।

त्यत्रो ठलो शहरको बारेमा सोनामोनिलाई केही थाहा थिएन । शिवबाबुले नाउँ लिएका सबै मानिसहरूलाई ऊ कहाँ कहाँ भेट्टाउन सक्तथी ?

दुःखका लहरहरूले उसलाई प्रहार गर्न थाले । उसका आँसु शीतका थोपा जस्तै खस्न थाले ।