सुनौलीबाट बटौलीलाई दिनभरिमा दुईतीन वटा बस मात्रै गुड्थे । धुलौटे कच्ची बाटो । बाटोमा खाल्डाखुल्डी भसक्कै । कनीकनी बस हिँड्थ्यो । हिँड्दाहिँड्दै तान्ने बलले नपुगेर बस अडिन्थ्यो । बसमा भएका सबे यात्रु ओर्लिन्थे र बसलाई घचेड्थे । अनुहार र जिउभरि धुलैधुलो हुन्थ्यो । बसमा चढें भन्नुमात्र । बटौली पुग्न चारघण्टा जति लाग्थ्यो ।

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

“पलाँसमा गुराँसको लाली दिन्छ समयले
जत्तिसुकै फाटोस् मन टालिदिन्छ समयले ।”

ड्युटीको पोशाकमा हुँदा बा’को कुममा पित्तलको ब्याच टल्किन्थ्यो । त्यसमा अंग्रेजीको WW अंकित अक्षरले Watch & Ward अर्थात् ‘क्षेत्र रक्षक’ भन्ने जनाउँथ्यो । पछि त्यही कुममा RF झुण्डियो WW लाई विस्थापित गरेर । अर्थात् Railway Protection Force अर्थात् रेलवे संरक्षण दस्ता । यो पनि धेरै बेर कायम रहेन । अब कुममाथि देखिन थाल्यो— RSF अर्थात् Railway Security Force रेलवे सुरक्षा दस्ता । हालसम्म त्यहीं च्क्ँ कायम रहेको हुुनुपर्छ ।

यस खालको फरबदललले कुनै पनि संरचनाको नाम राख्दा त्यसको दूरगामी असर वा प्रभावलाई ख्याल राख्नु पर्ने जनाउँछ ।

यतिबेला बाको जागिर नै हाम्रो घर धान्ने एकमात्र माध्यम थियो । तलबले घरखर्च चलाउन ठिक्क हुन्थ्यो । बचतको सम्भावना नै थिएन । यो मैले तब मात्र थाहा पाएँ जब मेरो साइकलको माग एकवर्षपछि पूरा भयो । आठकक्षा उत्तीर्ण हुने बित्तिकै मैले साइकललको माग गरेको थिएँ । नौ कक्षा उत्तीर्ण भएर दस कक्षामा प्रवेश गरेपछि मात्र मेरो माग पूरा भएको थियो ।

रेलवेको जागिरले बर्षेनि प्रदान गर्ने निःशुल्क यात्राको सुविधालाई बाले तीर्थयात्रामा सदुपयोग गर्नुहुन्थ्यो । फ्री पास लिएर हामी बालाई मनपर्ने तीर्थस्थल जाने गथ्र्यौं । कहिले काँशी, कहिले गया त कहिले जगन्नाथपुरी ।

काशी र गयाको त्यस्तो केही संस्मरण याद रहेन । पुरीको भने सम्झन्छु । समुद्रको छाल छल्दै पानीमा डुबुल्की मारेर नुहाएको । हाँडीमाथि हाँडि खप्टाएर आठ नोतला पु¥याई त्यसमा खिचडी (प्रसाद) पकाउने गरेको । पुरीमै गएको बेला पछिल्लो पटक बा–आमाले माछालाई परित्याग गर्नुभएको रहेछ । मैले पछिमात्र चाल पाएँ माछालाई किन निषेध गरियो ।

भएको के थियो भने, एकवर्ष अघि खाना खाइरहँदा मेरो घाँटीमा माछाको काँडा अड्केको थियो । घाँटीमा नराम्ररी अड्किन पुगेको त्यो काँडा घरायसी प्रयासबाट ननिस्किँदा डाक्टरको सहयोग लिनुपरेको त्यसबेलाको त्यो पीडादायी क्षण सम्झेर नै पुरीको तीर्थ यात्रीले आफुले प्रयोग गरिआएको खाद्यवस्तुमध्ये कुनै एउटा त्याग गर्नुपर्ने चलन अनुसार घरमा माछा बहिष्कार गरिएको रहेछ ।
माछामासु मलाई मन पर्ने अहिले पनि माछा र मासु मेरा अघि टक्रिएको छ भने सबभन्दा पहिले माछा भएतिर मेरो हात लम्किन्छ । घरमा माछा पाक्न छाड्यो । माछा खानु परे छिमेकीलाई गुहार्नु पर्ने । तै एउटा संयोग जुरिहाल्यो । छिमेकमै थापा थरका एकजना रेलवेकै सिपाहीका दम्पत्ति थिए । मैले काका–काकी भन्थें । काकालाई टी.बी.रोग लागेछ । उति बेलाको टी.बी. साह्रै डरलाग्दा रोग मानिन्थ्यो । टी.बी.लाई खबटे पनि भनिन्थ्यो, बोलीचालीको भाषामा । सल्लाह दिनेले काकालाई सल्लाह दिएछन्— सिङ्गो माछा उसिनेर त्यसको आन्द्राभुँडी खाने । काकाकोमा माछा पाक्न थाल्यो दिनहुँजस्तो । काकाले आन्द्राभुँडी खान्थे र बाँकी मलाई दिन्थे । बा–आमाले माछा खानु त के सम्झनुसम्म भएन बाह्र वर्षसम्म । मलाई भने माछा मिच्छिउन्जेल पुग्ने भयो । बाह्र वर्षको व्रत पूरा गरे पछि एकजना पण्डितजीले सल्लाह दिएछन्, “बाह्रवर्षसम्म बाचा पालन गरिसकेपछि फुकाएमा दोष लाग्दैन । माछा खान थाले हुन्छ ।” बल्ल भान्सामा माछाले प्रवेश पाउन थाल्यो ।

दस कक्षाको पश्चिम बंगाल बोर्ड परीक्षा, जसलाई SF (School Final) भनिन्थ्यो, उत्र्तीण गरिसकेको थिएँ । चलनचल्तीमा त्यो परीक्षा पास गर्नुलाई मेट्रिक पास गरेको भनिन्थ्यो । यतिबेलासम्म कुन बेला बचपनले बिदा मागिसकेछ, थाहै भएन । मेट्रीक पास भएपछि मानसिक र शारीरिक दुवै अवस्थामा परिवर्तन आएको अनुभव गर्न थालिसकेथेँ, हिजोको केटौलेपनि अब थिएन । थोरै भए पनि जिम्मेवारी बोध हुन थालेको जस्तो लाग्थ्यो । बाले मनमनै मेरो भविष्यको योजना बनाइसक्नु भएको रहेछ । बेला बेलामा मलाई सुनाउँदै भन्नुहुन्थ्यो— “अब पहाड जाने हो, त्यहीँ माष्टरी गर्ने हो ।” बाको कल्पनाको माष्टर म बनिसकेथेँ । बाको भनाइले ममाथि मनोवैज्ञानिक प्रभाव पारिसकेको थियो । म त हुनेवाला माष्टर हुँ । अन्तरचेतनाले भन्थ्यो गम्भीर हुन । अनुशासित बन्न । विद्यार्थी जीवनकालमा शिक्षकहरूको शिष्टता र शालीन स्वभावलाई निकै नजिकबाट नियाली सकेको थिएँ । त्यसले पनि मलाई गम्भीर स्वभावको हुन घच्घच्याइरहन्थ्यो । निकट भविष्यमै म शिक्षक हुँदै थिएँ ।

बाले आफ्नो योजनालाई मूर्त रूप दिने तैयारी गरिसक्नुभएको रहेछ । बाले पहाड घर जानका लागि रेलको टिकट लिनुभयो । मैले स्कूलबाट ट्रान्सफर सर्टिफिकेट लिएँ ।

पहाड घर जान कस्सियौं । झोला बोक्यौं । बाटो लाग्यौं । किम्डाँडा जान दुईवटा सीमानाको प्रयोग गर्ने गरिन्थ्यो । एउटा सुनौलीको अर्को सोहरतगढको । सोहरतगढको भन्दा सुनोलीको नाका अलि फेरो पथ्र्यो । यो नाका हुँदै सानो १०/१२ वर्षको हुँदा यात्रा गरेको दुःख सम्झन्छु ।

सुनौबाट बटौलीलाई दिनभरिमा दुईतीन वटा बस मात्रै गुड्थे । धुलौटे कच्ची बाटो । बाटोमा खाल्डाखुल्डी भसक्कै । कनीकनी बस हिँड्थ्यो । हिँड्दाहिँड्दै तान्ने बलले नपुगेर बस अडिन्थ्यो । बसमा भएका सबे यात्रु ओर्लिन्थे र बसलाई घचेड्थे । अनुहार र जिउभरि धुलैधुलो हुन्थ्यो । बसमा चढें भन्नुमात्र । बटौली पुग्न चारघण्टा जति लाग्थ्यो । हिँड्ने आँट गर्ने मान्छे त्यतिसमयमा पैदलै बटौली पुगिसक्थे । बस जेनतेन गुडाउन हिउँदमा मात्र सम्भव थियो । बर्खामा बस चढ्ने कल्पना नगरे पनि हुन्थ्यो ।

यसपालिको यात्रामा बाले सोहरतढको नाका रोज्नुभएको रहेछ । सोहरतगढ पुगियो । त्यहाँबाट सुरु हुन्थ्यो पैदल यात्रा । शुरु भयो । साथमा खासै गरुँगो सामान थिएन । एकसरो लुगा थोरै पाहुरको मरमसला जीरा धनियाँ आदि थिए । एउटै झोलामा अटाएका ।

यसरी हिँड्दा बास बस्ने ठाउँको चिन्ता हुँदोरहेछ । कहाँ बास बस्ने ? हाम्रो लक्ष्य थियो पत्थरकोट पुग्ने । साँझपख पत्थरकोट पुगियो । त्यहीँको एउटा भट्टीपसलमा पस्यौं । रात त्यहीँ काटियो । भोलिपल्टबाट पहाडको उकालो बाटो छिचोल्नु थियो । हिँड्न थाल्यौं । उकालो उक्लिँदै गर्दाको खुइय सुस्केरा, निधारबाट बग्ने पसिना सारा थकान नेटोनिर पुग्दा छुमन्तर हुने । दायाँबायाँ अगाडि पछाडि जता हे¥यो हरियाली । कतै सल्लाघारीले सुसेल्ने । कतै पँधेरामा मूलको पानी रसाउने । थरीथरीका चराचुरुङ्गीका कलरवले मनै लोभ्याउने ।

उकालो उक्लिन गाह्रो लागे पनि छिनछिनमा देखिने गरेका मनोरम दृश्यहरूले मलाई रमाउन मद्दत गरिरहेका थिए । बाबा आफ्नै धुनमा हुनुहुन्थ्यो । हामी बीचमा खासै संवाद हुने नगरे पनि । उतिउतिमा बाले सोध्नु हुन्थ्यो— “ए कान्छा भोक त लागे छैन ?”

त्यो माया थियो पोखिने गरेको । ‘अँ भोक लागेको छ ।’ भनिहाले पनि त्यहाँ कहाँ पसल हुन्थ्यो र केही किन्न खान । भन्थें— “लागे छैन” बाको सजिलोका लागि । बाटोमा खान हुन्छ भनेर उतै आद्राबाट बन्दोबस्त गरिल्याएको बिस्कुट चपाउने गर्थे । भोक नलाग्ने त कुरै थिएन ।
शुक्रबार हामी साँझपख किम्डाँडाका जिम्मवालका घर आँगनमा पुग्यौं । जिम्वाल— खिलध्वज थापा । बाका नाति, मेरा भान्जा हुन् उनी । जेठाबाकी ठूली छोरीका छोरा ।

हामी किम्डाँडा पुग्दा स्थानीय पञ्चायतको चुनावको बेला रहेछ । चुनावको बेला गाउँका जिम्वालको घरमा भीड जम्मा नहुने कुरै भएन । आँगनमा थुप्रिएका मानिसहरूको माझमा थिए भान्जा खिलध्वज । भीडमा कुराकानीमा व्यस्त हुँदाहुँदै पनि हामीलाई देख्नासाथ हाम्रो स्वागतमा हाजिर भईहाले । फटाफट शिष्टाचार निर्वाह गरेर कामदारलाई बोलाएर आदेश गरिहाले— “मेरो हजूर्बा र मामालाई बस्ने व्यवस्था राम्ररी मिलाओ त !” उनी फेरि भीडमा हाजिर हुन पुगिहाले । चुनावी छलफलका लागि । कुरो बुझ्दा भोलि शनिबार नै चुनाव हुँदै रहेछ ।

राती भोजन पश्चात् हजुर्बा र नातिका बिच वार्ता आरम्भ भयो । बाले आफ्नो यात्राको उद्देश्य प्रष्ट पार्दै भन्नुभयो— “बाबु ! तिम्रो मामालाई माष्टर बनाइदेऊ । म यत्ति कामले आएको हुँ ।” निकै सहजभावमा खिलध्वजले उत्तर दिए— “भैहाल्छ नि हजुर्बा भोलि शनिबार चुनाव नै भइहाल्यो । पर्सि आइतबार स्कुल जाउँला ।” आज जस्तो शिक्षित बेरोजगारी थिएन । बरु शिक्षितहरूको अभाव थियो ।

जिम्वालको घरबाट पञ्चायतको टहरो टाढा थिएन ।
ढुङ्गा माटोको गारोमा कर्कटपाताले छाएको सानो कोठा भएको त्यहीं थियो तत्कालीन पञ्चायत कार्यालय । त्यसैलाई निर्वाचन केन्द्र बनाइएको रहेछ । चुनाउको रमाइलो हेर्न पाइने भो भनेर मन रमाएको थियो । कार्यालय परिसरको एउटा कुनामा आसन जमाएर रमाइलो हेर्न थालें । विस्तारै विस्तारै मतदाताहरूको लर्को लाग्न थाल्यो । निर्दलीय व्यवस्था थियो । पार्टीहरू थिएनन् । त्यसैले पार्टीको पहिचान सहितका झण्डा हुने कुरै थिएन । एकाध ठाउँमा चन्द्रसूर्य अंकित झण्डा देख्न सकिन्थ्यो।

मतदानको समय नजिकिन लागेको रहेछ । एकजना व्यक्ति आफ्नो अगाडि पछाडि १०÷१५ जना जतिको हुल साथमा लिएर निर्वाचन क्षेत्र भित्र आए । कुनै उम्मेदवार हुन कि जस्तो लाग्यो । निधो गर्न एउटालाई साधें— यिनी को हुन् ? थाहा भयो उनी निर्वाचन अधिकृत रहेछन् खरदार पदका । उनी आउनासाथ चुनावको चहलपहल ह्वात्तै बढ्यो । मतदान गर्न मतदाताहरू पंक्तिबद्ध भईहाले । काठको चाक्लो फलेकमाथि कनस्तरका हुनुपर्छ चारवटा डिब्बा थिए । डिब्बाहरूमा रंगीन कागज टाँसिएको थियो । रातो, हरियो, नीलो, पहेंलो रंगका देखिन्थे ती डिब्बा । डिब्बा ती मतपेटीका थिए । रंगले उम्मेदवार छुट्याउँथ्यो । चारजना उम्मेदवारको चारथरी रंग । रंग रोजेर भोट हाल्नुपर्ने । जिन्दगी साँच्चिकै संगीन थिएन अपितु रंगीन भएझैं लाग्यो । म यतिबेला भारतका राष्ट्रकवि मैथिलीशरण गुप्तले गाउँले जीवनको चित्रण गरेको कविताको यो अंश— “थोडे में निर्वाह यहाँ है ! ऐसी सुविधा और कहाँ है ?” सम्झिरहेथें । जनसंख्या धेरै थिएन । मतदाता धेरै हुने कुरै भएन । चुनाउ सजिलै, छिटै भ्याइयो ।

शनिवार रमाइलोसँग बित्यो । भोलि स्कूल जानु पर्ने । माष्टर बन्न । जिम्वाल भान्जाको पछि लागेर । मलाई कताकता यो सबै जे भइरहेछ, अस्वाभाविक जस्तो लागिरहेथ्यो । म भित्र कुनै उत्साह थिएन । उमंग हुने त कुरै भएन । एउटा सुपरिचित, आत्मघुलिन परिस्थिति र परिवेशबाट बिल्कुलै भिन्न अवस्थासँग शान्ति सम्झौता गर्नुपर्ने वातावरण मेरा सामु थियो । मनले भन्दैथियो— “लौ हेरिहालौं ।”