चेतनाले प्रष्टै भन्यो— एकदिन जाबो एकछिनको उकालो उक्लिाँदा तेरो यो हाल छ, यसरी वर्षौंवर्षसम्म उकालो उक्लिरहन्छस् ? गाह्रो छ । अर्कै विकल्प खोज !

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

“अस्ताएका जून तारा बटुल्दैछु गजलमा
मुर्दा ब्युँताउने नारा बटुल्दैछु गजलमा ।”

आइतबार जिम्वाल भाञ्जा, बा र म, हामी तीनजना तत्कालीन चुत्राबेसी (हालको सन्धीखर्कतिर लाग्यौं) । त्यहाँको स्कूलमा मैले शिक्षक पदको नियुक्ति लिनु थियो । त्यो स्कूलको नाम जनज्योति भए झैं लाग्छ । स्कूल पुगियो । त्यहाँ पुगेपछि मात्र मैले थाहा पाएँ मेरा भाञ्जा खिलध्वज थापा विद्यालय सञ्चालक समितिको अध्यक्ष रहेछन् । विद्यालयमा शिक्षकको अभाव छँदैथियो । विद्यालयका प्रधानाध्यापकसँग मेरो संक्षिप्त परिचय गराए पश्चात् अरु केही औपचारिकता निर्वाह गर्ने परेन । काम बन्न भयो । अर्थात्, मैले शिक्षक पदमा नियुक्ति पाउने भएँ, पाएँ । न नागरिकता प्रस्तुत गर्नुपर्‍यो, न सर्टिफिकेट नै । सबैसबै मौखिक रुपमै स्वीकार्य ।

नियुक्ति पनि मौखिक रुपमै टुङ्गो लगाउँदै प्रधानाध्यापकले भनेका थिए— “भोलि सोमबार कलकत्ताबाट आउँदाको थकाइ मेट्ने, मंगलबारदेखि हाजिर हुनुहोला ।” प्रधानाध्यापकबाट नियुक्तिको यो सन्देश प्रवाह हुनासाथ त्यहाँ उपस्थित शिक्षकहरूबाट ‘बधाई’ पाउन थालियो । केही शिक्षक भारत गोरखपुरका रहेछन् । उनीहरूले बधाई मात्र दिएनन् । बरु प्रशंसामा भन्न थाले— “आप पश्चिम बंगाल से मेट्रिक हो, वहाँकी पढाइ बहूत अच्छी होती है ।”
शिक्षा प्रचार प्रसारको प्राथमिकचरण थियो त्यो । एक त विद्यालय स्थापना गर्न गाह्रो । ठूलो साहस जुटाएर विद्यालय स्थापना गरिहाले पनि उपयुक्त विषय शिक्षक भेटाउन निकै गाह्रो । भारतबाट शिक्षित समुदाय नल्याइनहुने । यसरी शिक्षक ल्याउँदा भारतको पनि खासगरी दार्जिलिङ्, आसाम, मेघालयतिरका शिक्षकहरू विशेष प्राथमिकतामा पर्ने गर्दथे । सीमा क्षेत्रमा भने युपी, बिहारका शिक्षकहरू नै हुने गर्थे । यो क्रममा दशकौं पछिसम्म पनि जारी रह्यो ।
नेपाली शिक्षा क्षेत्रमा योगदान गरे वापत नै भन्नुपर्ला भारतबाट नेपालमा पढाउन आएका अधिकांश शिक्षकहरूलाई नेपाली राज्यले नेपाली नागरिकरता स–सम्मान प्रदान गरेको देखियो ।

शिक्षकको जागिर पक्का गराएर हामी तिनैजना चुत्राबेसीबाट किम्डाँडाको उकालो उक्लिँदैछौं । बा र भाञ्जालाई मैले भेटाउन सकिरहेको छैन । उकालो छिचोल्न मलाई हम्मेहम्मे परेको छ । पर पुगेर मलाई पर्खी बसेका भाञ्जाले म नजिक पुग्दा सोध्छन्— “के भो मामा सकस पर्‍यो कि क्या हो ?”
“अँ, हो !” भनेर स्वयंलाई कमजोर देखाउन मन मान्दैन । क्यै नभए झैं गरेर भन्ने गर्छु— “होइन, क्यै भा’छैन ।”

भाञ्जालाई एकछिनका निम्ति ढाँटे पनि आफुले आफैलाई ढाँट्ने कुरा थिएन । उक्लिरहेको उकालोले मेरो कठालो राम्रैसँग अँठ्याएको थियो । अगाडि पाइला सार्न खोज्यो पछाडिबाट कसैले बलले तानेझैँ हुने । रित्तो फुकुलो नै थिएँ लाग्थ्यो पाँच पाथी नूनको भारी बोकेको छु । जसरी तसरी घर पुगियो । किम्डाँडाको उकालोलाई साह्रै उकालो भन्न मिल्ने थिएन तर मलाई भने त्यसले उच्छार दिएन । सम्ममा बसेको, खेलेको, बढेको बानी किन पो पहाडसँग मेल खान्थ्यो ! पहाडसँग घुलमिल हुने अवसर नै मिलेको थिएन । मात्र जन्मेको नाताले पहाड मेरा लागि सहज हुन सक्दैनथ्यो ।

राती अबेलासम्म निदाउन सकिनँ । अघि उक्लिँदाको उकालाले पछ्याइरह्यो । भन्ने नै हो भने त्यो उकालोले मेरो सातो लगिसकेथ्यो । अन्तर मनमा थरीथरी तर्कका हुरी चल्न थाले । चेतनाले प्रष्टै भन्यो— एकदिन जाबो एकछिनको उकालो उक्लिाँदा तेरो यो हाल छ, यसरी वर्षौंवर्षसम्म उकालो उक्लिरहन्छस् ? गाह्रो छ । अर्कै विकल्प खोज !

बालाई मेरो मनले व्यहोरिरहेको उकालोको औडाहाबारे जानकारी हुने कुरै भएन । बालाई हिजो अस्तिको भन्दा आज निकै चैनको निँद परेको हुनुपर्छ । किनकि सोंचेको कुरा पुगेको थियो, भनेजस्तै भएको थियो । छोरालाई मास्टर बनाउँछु भनेको, मास्टर भई पनि हाल्यो ।

मलाई चुत्राबेंसी स्कूलको मास्टर बनाएर बा सोमबार भारतको बाटो लाग्नुभयो । भाञ्जा खिलध्वज आफ्नो जिम्वाली सभाल्नतिर लागे । मलाई भने दिनहुँ गनुपर्ने उकालो–ओह्रालोको चिन्तनले नराम्ररी गाँज्न र चिथोर्न थाल्यो । खटाइसक्नुभएन । भनौं बस्न खान दिएन । यो व्यथाको उपयुक्त उपचारको खोजीमा लागें । समस्याको कालोनीलो बादलको घेराबन्दी भित्र उज्यालोको एउटा धर्सो भेटियो । त्यो धर्सो थियो— पकलेकी मेरी दिदी जालपादेवी सोमै ।

दिदी सम्वत् १९८७ सालकी म २००३ सालको दिदीसँगको एउटा रोमाञ्चक प्रसंग छ । आमाबाट थाहा पाएअनुसार दिदीमुनिका र म माथिका सातभाइ खेर गएका रहेछन् । कोही बर्सदिन मै कोही दुईवर्ष नपुग्दै बाटो लागेछन् । आमाको पेट निखार्दै अन्तिम सन्तानको रुपमा म जन्मेको रहेछु । म पनि आफ्ना दाजुहरूकै नियति भोग्ने अर्थात् अल्पायुमै सिध्दिने अवस्था परेछ । सिकिसत बिरामी भएछु—त्यस्तै डेढ वर्षको उमेरमा । शरीर भरि शिरदेखि पाउसम्मका छाला विकृत भएछन् । च्याल्च्याल्त पानी रसाउने । लुगा लगाउन नमिल्ने । केराको पातमा बेर्नुपर्ने । लक्षण अनुसार मलाई लागेको त्यो रोग ‘सोरासिस’ भनिने चर्मरोग थियो । तर, आमाले भन्नुहुन्थ्यो धामीहरूको हवाला दिँदै मलाई त्यो अवस्थामा पुर्याउने गाउँकै नाम चलेकी बोक्सी हो । भनाइ अनुसार बाले ल्याएका पाहुरपात ती तथाकथित बोक्सीको भागमा पुगेनछ, त्यसैको रिस पोखेकी हो । झारफुक गर्न बोलाएका लामा धामीलाई समेत चुनौती दिंदै भन्थिन् रे— “रनेनी काँ जान थालेको ? सक्छौ र त्यस्का छोरालाई सन्चो पार्न ?” धामी लामाहरूले पनि आमालाई सम्झाउँथे रे ती कथित बोक्सीसँग सम्झौता गर्न । उनीहरूले पनि आशा मारिसकेका रहेछन् । मलाई सन्चो पार्ने आँट उनीहरूमा हराउँदै गएको रहेछ ।

आमा भने बेलाबेलामा भन्नुहुँदोरहेछ— “त्यतिका स–सात जना सन्तान गुमाइसकेकी छु, गए यो पनि जान्छ । म त्यो बोक्सीसँग निहुरिन जान्न । एकातिर त्यसखालको अठोट, अर्कातिर झारफुक गर्न आउने गरेका थरीथरी लामाहरूले व्यक्त गर्ने गरेका लाचारी । थप मलाई च्याँप्दै गरेको रोगले दिदी जालापालाई ठूलो पीर पारेछ । उनी म बाँचेको देख्न चाहन्थिन् । रोएर हुन्छ कि के गरेर हुन्छ हरप्रकारले दिदीले आमालाई सम्झाउन फकाउन थालिछन् । सम्झाएर राजी गराएर अलिकति पाहुरपात (जीरा, धनियाँ, मसलादि) लिएर आमाछोरी ती बोक्सी भनिने महिलाको घरआँगनमा पुगेछन् । मलाई काखमा बोकेर । हामीलाई देख्ने बित्तिकै ती महिलाले भनिछिन्— “आहो आज कताबाट बाटो बिराएछन् यी आमाछोरीले, बाबुलाई कस्तो छ हँ ?” आमाको पालो, लगेको पाुहर दिँदै भन्नुभएछ— “बाबुलाई कस्तो हुने हो, उँधो न उँभो ! लाग्ने भागोले हो भने पनि झट्ट लगिहाले हुन्थ्यो, चित्त बुझाइन्थ्यो ।” आमाका कुरा सुनेर ती महिलाले मेरो शिरदेखि पाउसम्म हातले मुसार्दै भनिन् रे— “साह्रै दुःख पाएछ यो केटोले । केही हुँदैन, सन्चो हुन्छ ।”

ती महिलासँगको त्यो असाधारण भेटघाट पश्चात मेरो शरीरका घाउहरू ओभाउन थाल्यो रे । केही दिन मै म सन्चो भएँछु । रोग सन्चो भएको प्रमाणका रुपमा मेरो शरीरको विभिन्न भागमा विशेषगरी छातीमा घाउका खाटा आज पनि देख्न सकिन्छ ।

म त्यसरी बिसन्चो हुनु र पछि सन्चो हुनुको मुख्य कारण बोक्सीले गर्दा हो भनियो । के साँच्चिकै बोक्सी हुने गर्छन् ? के उनीहरूमा त्यत्रो सामर्थ्य हुन्छ ? विश्वास लाग्दैन । विश्वास लाग्दैन भने आमा र दिदीले दिएका घटना विवरण के हो त ? के त्यो कपोलकल्पित विवरण हो ? हो भने कनि त्यस्तो कथा रच्नु भएको होला आमा र दिदीले ? कुन स्वार्थले ? यी केही प्रश्नहरू छन् जसको समुचित उत्तर मैले आजसम्म पाउन सकेको छैन । हाललाई यही भनेर चित्त बुझाउने त होला— प्रकृतिमा हुने कतिपय घटनाहरूको रहस्योद्घाटन हुन बाँकी नै छ ।
भनिसकेको छु, म उकालोबाट उन्मुक्ति चाहन्थें । पहाडमा टिक्न सक्ने मेरो मनस्थिति नै थिएन । मलाई भारत फर्किनु थियो । भर्खरै हात लागेको मास्टरी जागिरले मलाई छेक्न सक्तैनथ्यो । त्यो जागिरल मेरा लागि कुनै अर्थ राखेको थिएन, त्यो बेला । मैले मनमनै कडा प्रण गरिसकेको थिएँ— म यहाँ एक बस्दिनँ, दुई बस्दिनँ, तीन बस्दिनँ ।

भारत फर्किन बाटो खर्च चाहिन्थ्यो । भान्जा खिलध्वजसँग त्यो विषयमा कुरा गर्न मिल्थेन । म सोझै गएँ दिदीका घर पकले । दिदीका सामु आफ्नो मनका सबै कुरा मज्जाले पोखें । दिदीले आफुले सक्दो सम्झाउने प्रयत्न गर्नुभयो मलाई । पाएको जागिर किन छोड्छस् । बाले चित्त दुखाउनु होला । दिदीका यस्ता तर्कले मलाई छोएकै थिएन । मेरो मन एकोहोरिसकेको थियो । दिदीलाई मैले मेरो अन्तिम निष्कर्ष सुनाएँ— “म यहाँ बस्दै बस्दिनँ, म बाआमा काँ फर्किन्छु मलाई बाटो खर्च हाल्दिनुस् ।”

मैले आफ्नो माग राखें । माग पुरा हुन्छ भन्ने विश्वास थियो । यो विश्वासको बलियो आधार थियो— दिदीभाइबिचको अगाध प्रेम । यो माग र आपूर्तिमा मजदूरु र मालिक बिचको जस्तो अन्तर्संघर्ष थिएन ।

दिदीको पनि भित्री इच्छा थियो, भाइ पहाडमै बसोस् । माइती छन् नि साथमै, भनेझैं हुने । सबै सिध्एि बाँकी एकजना मात्र रहेको जीलो माइती ।

दिदीले रकमको जोहो गर्नुभएछ । मलाई दिंदै भन्नुभयो— “बस्न मानेनस् के रे, ला ! यतिले पुग्ला, राम्ररी जानू !”

सोमबार म पकेलेतिरै भुलें । किम्डाँडा जाने हिम्मत भएन । भान्जा खिलध्वजलाई मेरो अनुपस्थितिले कति चिन्ता पर्न गयो होला अनुमान मात्र गर्न सक्छु । मामा कहाँ गए ? कस्कहाँ गए ? कसरी पत्ता लगाउनु त्यो बेला । हिजोआजजस्तो सञ्चार सुविधा थिएन । मैले बाटो लाग्नु अघि दिदीलाई भनेँ— “खिलध्वज भान्जाले मेरो पीर गरे होलान् । भए गरेको कुरा सबै भन्दिनू ।”
मंगलबार एकाबिहानै दिदीसँग बिदा लिएँ । पकलेबाट पत्थरकोट पुग्दा साँझ पर्न आँटेथ्यो । मन फुरुङ्ग थियो । मन फुरुङ्ग भए पछि शरीर पनि हलुङ्गो हुँदोरहेछ । एकछिनको उकालोले तर्साएको थियो हिजो कतिबेला उकालो आयो पत्तै लागेन ।

बा आद्रा पुग्नुभएको भोलिपल्टै म पनि त्यहीं पुगेँ । मलाई देखेर बाले मलाई एकछिन हेरेको हेर्‍यै गर्नुभयो । शायद मनमनै भन्दै हुनुुहुन्थ्यो— “यो केटोले मैले भनेको मानेन । अरु के के गर्ने हो, के हुने हो !”