सहयोगी बन्यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

सन्तोष गहतराज
पाल्पा
जोखिम मोलेर वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशी माटोमा कर्म गर्न सके कर्मअनुसारको फल प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तानसेन नगरपालिका वडा नं. ७ काजी पौवाका डिलबहादुर थापा । उमेरले ३० वर्ष पुगेका युवा कृषक थापा हिजोआज टमाटर खेतीमा व्यस्त छन् ।
थापाले अमृता कृषि तथा पशु फर्म दर्ता गरी व्यवसायिक टमाटर खेती गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई (जोन)पाल्पाबाट अनुदान प्राप्त गरेसँगै उनले विगत ५ वर्षदेखि व्यवसायिक टमाटर खेती गरेका हुन् । कुनै पनि कृषि कार्य गर्नअघि उक्त खेतीसम्बन्धी तालिम तथा तरिकाबारे जानकारी लिन सकेमा कृषि कर्मबाट धेरै आम्दानी गर्न सकिने कृषक थापाले बताए । आफूले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट टमाटर खेतीको लागि अनुदान तथा टमाटर खेतीसम्बन्धी तालिम प्राप्त गरेकोले कृषि कर्मबाट फाइदा लिन सफल भएको उनी बताउँछन् ।
विगत केही वर्ष अगाडि पाल्पाको तानसेन बहुमुखी क्यापसमा जागिर गरेका थापा अहिले भने कृषि कर्मलाई प्राथमिकतामा राखी कृषि कर्ममा नै व्यस्त छन् । करिब १० रोपनी क्षेत्रफल जग्गामा टमाटर खेती गरेका थापाले टमाटर खेतीसँगै भैंसी पालन तथा बाख्रा पालन पनि गरेका छन् । बारीमा टमाटर खेतीसँगै पशुपालन व्यवसाय पनि अगाडि बढाउँदा भैंसीबाट दूध बिक्री गर्नुका साथै कृषि उपजका लागि प्राङ्गारिक मल उपयोग गर्न सकिने भएकोले बाख्रा पालन तथा भैंसी पालनको कार्यलाई अगाडि बढाएको उनी बताउँछन् । थापाको भैंसी फर्ममा अहिले ६ वटा भैंसी र करिब १५ वटा बाख्रा रहेका छन् । भैंसीबाट उत्पादन हुने दूध दैनिक तानसेन बजारमा पु¥याउने गरेको उनले बताए । थापाको ५ जनाको परिवार छ । परिवारका सबै जना कृषि फर्ममा खटिने गरेको थापाले बताए । परम्परागत मौसमी तरकारी खेती गर्दै आएका थापा परिवारले अहिले परियोजना सञ्चालन भए सँगै कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गरी टनेलमा बेमौसमी टमाटर खेती गरेका छन् । टमाटर खेतीमा समय–समयमा विभिन्न रोगहरू देखा पर्ने भएकोले प्राविधिकहरूको सहयोगमा रोगहरूको उपचार गर्ने गरेको उनले बताए । थापाले करिब २१ वटा टनेलको निर्माण गरी करिब १० रोपनी क्षेत्रफलमा व्यवसायिक टमाटर खेती गर्दै आएका छन् ।
विगत ५ वर्षदेखि टमाटर खेती गर्दै आएको बताउने थापाले वार्षिक १० लाखसम्म आम्दानी गर्ने गरेको बताए । पाल्पाको तानसेन बजारलगाएत बुटवलसम्म टमाटर निर्यात गर्ने गरेको उनले बताए । आफ्नो घर परिवारका सदस्यहरूसँग बसेर मासिक ८ देखि १० लाखसम्म आम्दानी गर्न विदेश जान नपर्ने थापाले बताए ।
आगामी दिनमा व्यवसायलाई थप विस्तार गरी कृषि उपजमा वृद्धि गर्नका लागि बेमौसमी तरकारीलाई बढवा दिन तथा टनेलहरूको संख्यामा वृद्धि गर्ने योजना रहेको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाइ पाल्पाका वरिष्ठ कृषि अधिकृत दिपक भट्टराईका अनुसार तरकारी खेतीलाई प्रवद्र्धनको लागि विशेष जोड दिएको बताए । जोन स्थापना भएदेखि नै व्यवसायिक तरकारी खेतीलाई बढवा दिनका लागि विशेष गरी टमाटर खेती र त्यसका लागि अस्थाई प्लास्टिक टनेल निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए । यो वर्ष जोन पाल्पाले कृषकहरूको सहभागितामा स्थाई प्रकृतिको फलामे टनेलको निर्माण कार्यलाई अगाडि बढाउने उनले बताए । फलामको टनेल निर्माण गर्दा लागत धेरै पर्ने भएकोले जोनले कम मूल्यमा फलामको टनेल निर्माण योजना बनाइ टनेल निर्माण गरी कृषकहरूलाई कम मूल्यमा फलामको अस्थाई टनेल निर्माण गर्ने कार्य सञ्चालन गरेको उनले बताए ।
हालसम्म जोन पाल्पाले ५२ वटा अस्थाई फलामका टनेल, १ सय ६८ वटा बासको अस्थाई प्लास्टिक टनेल निर्माण गरेको उनले बताए । यो कार्यक्रमले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेश फर्किएका युवाहरूलाई उत्पादनमूलक कार्यक्रममा जोडी उद्यमशिल बनाउनका लागि सहयोग पुगेको उनले बताए ।