घरको काम, अध्ययनसंगै मिस्त्री कामबाट आम्दानी पनि
किरण अधिकारी

गुल्मी
कलिलै उमेरमा मोटरसाइकल मिस्त्री बनेर गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखराका रवी खत्री उदाहरणीय बनेका छन् । घरको काम, अध्ययनसंगै मोटरसाइकल मिस्त्री बनी मनग्गे आम्दानी गरी १५ वर्षीय खत्री उदाहरणीय बनेका हुन् ।
उनी गाउँकै विद्यालय सुन्तलादेवी निम्न निमावि कक्षा ८ मा अध्ययनरत छन् । बाल्यकाल जुन उमेर खेलेर साथीहरूसँग रमाइलो गरेर दिन बिताउने बेलामा उनी आफ्नै मोटरसाइकल वर्कशप सञ्चालन गरेर सानै उमेरदेखि आफ्नै व्यवसायलाई अघि बढाउन तल्लिन छन् । पढाइमा पनि उत्तिकै अब्बल लगनशील र इमान्दार रहेको उनलाई पढाउने शिक्षिका सुन्तलादेवी निमाविकी प्रधानाध्यापक शोभा विष्टले जानकारी दिइन् । उनी उमेर समूहका साथीहरू यो लकडाउन समयमा घरमै बसेर खेल खेलेर दिन बिताउँदै गर्दा उनी भने आर्थिक उपार्जन गरी घरपरिवारलाई आर्थिक सहयोग गर्दै आएका छन् । सानै उमेरदेखि सीप सिकेर छोराले आफूहरूलाई सहयोग गर्दै आएकोले खुशी लागेको उनका बाबुले बताए । उनका बाबु पनि एउटा सफल यातायात व्यवसायीका रूपमा समाजमा स्थापित छन् ।
‘म सानै छँदा बुबाले ग्यारेज सञ्चालन गर्नु भएको थियो, ग्यारेजमा एक दाजुले काम गरेको देख्दा मलाई पनि त्यही ग्यारेजमा काम गर्ने अभिलाषा जाग्यो,’ रविले भने–‘त्यति बेलादेखि म फुर्सदको बेला ग्यारेज जान्थे साथीहरूले खेल्न जामभन्दा पनि नगएर म मिस्त्री काममै लागिरहन्थें ।’
‘थोरै समय निकाल्दै निकाल्दै सिक्दै गए र विस्तारै ग्यारेजमा हुने आधारभूत कुरादेखि सिक्दै अगाडि बढे, र कामलाई निरन्तरता दिँदै जाँदा स्वयम् आफूले नै सानो तिनो ग्यारेज सञ्चालन गरेर बस्न सक्ने लायकको भएको छु ।’– उनले भने । बुवा र आमाको प्रेरणाबाट आफूले मिस्त्री काम सिकेको उनको भनाइ छ । दृढ ईच्छा शक्ति भयो भने कुनै पनि काम वा सीप सिक्न सकिने, त्यसलाई निरन्तरता दिँदै जाँदा सफल हुन सकिने उनको भनाइ छ ।
दिनमै कम्तीमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म आम्दानी हुने उनले बताए ।