नवलपुर । पूर्वी नवलपरासीमा सात दलले नवलपुर जिल्लाको विकासका लागि साझा अवधारणा तयार पारेर सार्वजनिक गरेका छन् ।
बुधबार नेकपा माओवादी केन्द्र नवलपुरको पार्टी कार्यालय कावासोतीमा पत्रकार सम्मेलन गरेर उनीहरूले साझा अवधारणा सार्वजनिक गरेका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रूपमा धारणा बनाएका हुन् ।
संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि संघीय सरकारका प्रधानमन्त्रीसम्मलाई बुझाउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा बिहानीले बताए ।
७ दलले नमूना सदरमुकामको डीपीआरको अध्ययन र सम्बन्धित निकायमा काम अघि बढाउनका लागि पहल गर्ने, जिल्लास्तरीय खेलकुद रंगशाला निर्माणको लागि माग गर्नेदेखि जिल्लामा डोमेस्टिक एयर पोर्ट निर्माणको लागि माग गर्नेलगायतका १३ बँुदे अवधारणा रहेको छ ।
जसअन्तरगत नारायणी तटबन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वालनिर्माण, पिस पार्कको समग्र प्रोजेक्टको लागि माग गर्ने, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणको लागि माग गर्ने रहेका छन् ।
त्यसैगरी चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरूको तटबन्ध गर्न माग गर्ने, साथै उक्त खोलाहरूमा प्राप्त हुने नदीजन्य स्रोतहरूको व्यवस्थापन गर्न सम्बन्धित निकायहरूसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा पार्क निर्माण, त्रिवेणी –दुम्किबास–झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेशस्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन माग गर्ने साझा अवधारणा बनाएका छन् ।
त्यसैगरी भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्व विद्यालय निर्माणको लागि माग गर्नेलगायतका रहेका छन् । पत्रकार सम्मेलनमा सातै दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।