चर्तुभुज आत्रेय
यस पटकको असाधारण वर्षाले देशका विभिन्न गाउँहरुमा अभूतपूर्व क्षति पु¥याएका दृश्यहरु हामीले आम सञ्चारका माध्यमहरुबाट प्रत्यक्षै देख्यौं । हुन त बाढी पहिरोको विनासलीला बितेका वर्षहरुमा पनि डरलाग्दो रुपमा आउने गथ्र्याे भन्ने हामी सबैलाई थाहा भएको कुरा हो तर अहिले जस्तो विनासकारी रुप पहिले पहिले हुँदैनथ्यो । यस पटकको असाधारण वर्षाले निम्त्याएको अपूरणीय क्षतिले यही बताउँछ ।
यद्यपि बर्खायाम सुरुभएपछि कतै बाढी आउने त कतै पहिरो जाने क्रम विगत पञ्चायतकालमा पनि चलिरहन्थ्यो तर बहुदलकालमा र त्यसपछि यो संघीय लोकतान्त्रिक गणतन्त्र सुरु भएदेखि यताको कालखण्डमा जुन किसिमको विनासकारी भुर्तालो देशले सामना गर्नु परेको
छ । त्यसले यसको मूूल कारणको खोजीमा हरेक क्षेत्रका हरेक ठाउँमा बस्ने नेपालीहरु सततः प्रयत्नशील भएर लाग्नु पर्ने र त्यसको उपचारका लागि राष्ट्रव्यापी आन्दोलनकै रुपमा आन्दोलित हुनुपर्ने पाठको शिक्षा दिएको छ । गलत भू उपयोगलाई रोक्नै परेको छ ।
नेपाली आमाहरुका कपुत केही ठेकेदारहरु नेपाली आमाका कपुत केही नेताहरु अनि नेपाली आमाहरुका कुसन्तान केही मन्त्रीहरु केही ज्यूँदै मरेका मूर्दा इञ्जिनियरहरु दलाल कर्मचारी एवं गुलाम कार्यकर्ता र कुम्भकर्ण बन्ने गरेको प्रतिपक्ष अनि उदासीन जनता र नागरिक समाज भनाउँदा निकम्बा र लाछीपनका लाचार छायाँहरु यी सबैको कतै देखेर पनि नदेखेझैं गर्ने बानी त कतै मिली भगत लाचार छायाँको प्रतिफल वर्षेनी अझ बढ्दै र झन पछि झन बढ्दै जान थालेको मनपरी तन्त्रको परिणाम हो । बाढी पहिरो प्राकृतिक प्रकोपको विनाशकारी लिलाको उच्चतर उत्तम रुपको भयानक अवस्था हो । जब देशमा भ्रष्टाचारको साम्राज्य फैलिन्छ र लोभी पापी निकम्मा नालायक र लाछीहरुको दबदबा कायमै रहन्छ । अनि उनीहरुमाथि उचित कारबाही गरेर ‘बानिछोड’ बनाउन सक्ने तहमा बसेकाहरुको पनि नैतिकताको स्तर ह्रासोन्मुख बन्दै जान्छ देशले सदासर्वदा नित्य अनरवत र निरन्तर यस्तै स्थिति व्यहोर्नुपर्ने हुन्छ र जनताले यस्तै महाविपत खेप्दै जानु पर्ने अवस्थाले निरन्तरता पाइरहनु पर्ने हुन्छ ।
कुनै ठाउँमा करोडौंको लागत लाग्ने रकमको इस्टिमेट गरेर एउटा पूल १–२ वर्ष भित्रमा तयार पारी सरकारलाई हस्तान्तरण गर्ने सम्झौता एउटा ठेकेदार कम्पनीलाई ठेक्का दिइन्छ, त्यस ठेकेदार कम्पनीले अर्काे कम्पनीसित दुई चार करोड लिएर अर्काे कम्पनीलाई बेच्दछ, पुनः दोस्रो कम्पनीलाई एकाध करोडमा बेचेर काम गर्ने जिम्मा तेस्रोलाई दिन्छ । यति गर्दागर्दै निर्माण सम्पन्न गर्नुपर्ने र सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने समय बितिसक्दा पनि कामको सुरुवातै भएको हुन्न ।
एकातिर बयेना बापत भनी सुरुको कम्पनीले केही करोड कामको सुरु नै नहुँदै हात पारिसक्छ र त्यो रकम सरकारी पक्षका सरोकारवाला मन्त्री र नेता, सांसद एवंं प्रतिपक्षको त्यस क्षेत्रका सांसद एवं केही नेता, इञ्जिनियर सत्तापक्ष र प्रतिपक्षका टाठाबाठा कार्यकर्ता अनि विभिन्न रुपका डन, गुण्डा, नाइके आदिमा भागवण्डा लगाएर बनाए बापतको रकम बाँडचुँड गरिन्छ । यसबीच निर्माण कार्यमा ढिला भयो भनी स्थानीय जनताले जति गुनासो गरे पनि जनताको गुनासोलाई एक कानले सुनेर अर्काे कानले उडाइदिने काम हुन्छ । पहिलो कम्पनीसित करार गरेर लिएको दोस्रो कम्पनीले पनि पहिलो कम्पनीकै पदचापमा हिंड्छ र उही प्रक्रियालाई निरतरता दिइन्छ ।
अन्त्यमा तेस्रो कम्पनीबाट जब काम सुरु हुन्छ त्यसमा न त गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग हुन्छ, न पाको तरिकाबाट काम गरिन्छ । बाहिर–बाहिर राम्रो देखाएर भित्र कामै नलाग्ने सामग्रीहरु प्रयोग गरी ढाकछोप गर्दैै हतार–हतारमा काम सकेर सरकारलाई बुझाउने काम हुन्छ र बाँकी पाउनु पर्ने रकम र निर्माण कार्य सुरु हुँदाका वर्षको बजार मूल्य र सम्पन्न हुँदाको बजार मूल्यमा हुने फरकलाई जोडेर पछिल्लो वर्षको मूल्य अनुसार थप रकम मात्रै गर्ने काम हुन्छ । यसो गर्दा पहिलेको इष्टिमेटभन्दा डबल रकम तान्न के के नगर्ने विषयमा सबै मिलेर चार पाँच तारे होटलमा सुरा सुन्दरीको आनन्द लिँदै नक्कली बील भौचरहरु खडा गरेर सरकारी कोषबाट रकम तानिन्छ र सबैका बीच त्यो रकम भाग लगाएर बाँड्ने काम हुन्छ । र, राम्रो काम गरेको भनी ठेकेदारलाई सरोकारवाला मन्त्रीले माला र खादा भिराई स्याबासी दिन्छन् तर त्यसको १–२ महिना नबित्दै पुल भत्किसकेको हुन्छ । अरु क्षेत्रमा पनि यस्तै हो । अरबौं रुपैयाँको लागतमा निर्माण हुने सिंचाई विद्युत्लगायतका परियोजनामा पनि यही प्रपंचले जरा गाडेको छ । पञ्चायती कालमा निर्माण कार्यको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही हुन्थ्यो । क्षतिपूर्ति दिने प्रचलन थिएन ।
यसरी तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिमानासहित जेल हालेको यस पंक्तिकारले प्रष्टै देखेको छ । पंक्तिकार राजकाज मुद्दामा भद्रगोल जेलमा छँदा जनमत संग्रहको घोषणापछि राजबन्दीहरुको रिहाइका क्रममा हाम्रो मुद्दा खारेज भएर हामी जेलबाट छुट्दा ती ठेकेदारहरुले जेलको हावा खाइरहेको हामीले प्रष्टै जान्यौं तर बहुदल आएपछि र अझै गणतन्त्रमय देश बनेपछि सबै साँडा भएका छन् । त्यसैले देशमा भ्रष्टाचारको साम्राज्य छाएको हो । अब पनि जनता जुर्मुराएर नउठेसम्म यो क्रम चलिरहनेछ । चाहे बाढी पहिरोको कारण होस् चाहे अरु अब जनताले कारबाहीको तहमा नउत्रे देशले यही दुर्दशा भोगिरहने छ ।