नरेश के.सी.
सिद्धार्थनगर
गएको असार २५ गते दिउँसो तीन बजे सैनामैना नगरपालिका वडा नम्बर १० पानबारीस्थित आफ्नै घरमा ४१ वर्षीय टपकला दगामी थापाले डोरीको पासो लगाई आत्महत्या गरिन् ।
गत वर्षको असोज २२ गते दिउँसो साढे एक बजे बुटवल उप–महानगरपालिका वडा नम्बर ११ प्रगतिनगर बस्ने १० वर्षकी बन्दना नाउ आफ्नै घरको छानोमा चुन्नीको कपडाले पासो लगाइन् र तत्कालै उनको निधन भयो । उक्त घटनाको प्रहरीको अनुसन्धानले बालिका बन्दनाले आत्महत्या गर्नुको कारण बुबा आमाले मोबाइल नकिनिदिएको देखिन्छ ।
प्रहरीकाअनुसार बालिकाले अनलाइन कक्षाकोलागि मोबाइल किनिदिन भनिरहेकी थिइन तर परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा उनको अविभावकले तत्काल मोबाइल किनिदिन सकेनन् । जसको कारण बालिकाले मृत्युवरण गर्न पुगिन् । गत वर्ष नै सियारी गाउँपालिका वडा नम्बर ७ अमवाका ८२ वर्षीय तारापति ढकालको विष सेवन गर्दा मृत्यु हुन पुग्यो । छोराछोरी सबै भारतमा रहेको र घरमा एक्लै बस्दै आएका वृद्ध ढकालले अर्गानो फस्फोरस नामक विषादी सेवन गरेका कारण मृत्यु हुन पुगेको हो ।
देवदह नगरपालिका वडा नम्बर ११ की २६ वर्षीय पूजा मल्लाहले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन् । एक छोरासहित माइतिमा बस्दै आएकी उनी मृत्युभन्दा केही दिन अगाडि घर आएकी थिइन् । ०७७ माघ १६ गते सियारीको ज्योतिनगरमा ३६ वर्षीय महिलाले झुन्डिएर आत्महत्या गरिन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवारको वर्ष १९ को एक महिलाले झुन्डिएर आत्महत्या गरिन् ।
आत्महत्याको तथ्यांक
यी प्रतिनिधि मूलक घटनाले रूपन्देहीमा आत्महत्याको घटना दिनानुदिन बढ्दै गरेको देखिन्छ । रूपन्देही प्रहरी प्रमुख डा. मनोज के.सी.का अनुसार गत पाँच वर्षको तथ्यांकअनुसार रूपन्देहीमा १ हजार ७२ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा विषादी सेवन गरेर ३ सय ३२ जना, झुन्डिएर ७ सय १५ जना, आगो लगाई ८ जना, पानीमा हाम फालेर ५ जना, औजार प्रयोग गरेर २ जना, आत्महत्या दुरूत्साहनबाट ९ जना र एकजनाको करेन्टमार्फत भएको देखिन्छ ।
आत्महत्या गर्नेहरू विवाहित ७ सय ११ जना, अविवाहित ३ सय ५५ जना र वैवाहिक अवस्था नखुलेको ६ जना रहेको छ । तथ्यांकअनुसार आत्महत्या गर्नेमा पढेलेखेका धेरै जना रहेका छन् । तथ्यांकअनुसार साक्षर ८ सय ७३ जना, आइएभन्दा माथि अध्ययन गरेका २५ जना, निरक्षर ३३ जना र शैक्षिक अवस्था नखुलेको १ सय ४१ जना रहेका छन् ।
आत्महत्या गर्नेमा कृषकहरू बढी देखिएका छन् । तथ्यांकअनुसार कृषि पेशा गर्ने ३ सय १५ जना, बेरोजगार २ सय १८ जना, दैनिक ज्यालादारी काम गर्ने १८० जना, गृहणी १ सय ७८ जना, विद्यार्थी १ सय ५१ जना, व्यवसाय ६ जना, सरकारी जागिरे १ र बैदेशिक रोजगारी १ जना रहेका छन् ।
उमेरको तथ्यांक विश्लेषण गर्दा १८ वर्षभन्दा कम उमेरका ६६ जना, १८ देखि २५ वर्ष उमेर समूहका ३ सय ८१ जना, २५ वर्षदेखि ४० वर्षसम्म २ सय ९१ जना, ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका २ सय ६७ जना र ६५ वर्ष माथिका ६७ जनाले आत्महत्या गरेको देखिन्छ ।
समाधानको उपाय
रूपन्देहीमा ६७ प्रतिशत झुन्डिएर र ३१ प्रतिशत विषादी सेवन गरी आत्महत्या गरेको देखिन्छ । रूपन्देहीमा रहेका १६ स्थानीय पालिकामध्ये बुटवल उप–महानगरपालिकामा सबैभन्दा बढी १४ प्रतिशत, तिलोत्तमा नगरपालिकामा १२ प्रतिशत, सैनामैना नगरपालिकामा १० प्रतिशत र गैँडहवामा ६ प्रतिशत आत्महत्या दर रहेको छ । जिल्लामा आत्महत्याको दर बढ्दै गएपछि प्रहरीले आत्महत्या न्यूनीकरणकोलागि केही उपाय पनि सुझाएको छ । प्रहरी प्रमुख डा. केसीका अनुसार वृत निर्माण गरी कार्यक्रम गर्ने बताएको छ ।
सबैभन्दा बढी रातो, पहेंलो र नीलो वृत तयार गर्ने, सम्बन्धित क्षेत्रका वडा एवं इलाका प्रहरी प्रमुखको संयोजकत्वमा एउटा समिति गठन गर्नेगरी नीति अगाडि बढाउने भएको छ । रातो वृत्तमा हरेक पालिकामा मानसिक स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञ र प्रहरीसहितको टोलिबाट मासिक परामर्श सेवा सञ्चालन गर्ने, नियमित अन्तत्र्रिmया गर्ने कार्यक्रम लिएको छ । प्रत्येक महिनाको पहिलो हप्ताको शनिबार कार्यक्रम गर्ने, मासिक कार्यक्रममा मनोबल बढाउन तथ्यांकको विवरण अद्यावधिक गर्ने, मानासिक स्वास्थ्य सामग्री प्रस्तुत गर्ने, सहभागीहरूको दुःखद् घटनाको जानकारी लिने कार्यक्रम तय भएको छ ।
पहेंलो वृतको कार्यक्रममा प्रत्येक महिनाको अन्तिम शनिबार कार्यक्रम गर्ने, लागूऔषध तथा विभिन्न रोगहरू एवं सामाजिक विकृति विषयमा प्रस्तुतीकरण गर्ने, सामाजिक विकृति विषयमा सहभागीहरूबाटै आफ्नो विचार व्यक्त गर्ने, पालिकास्तरका सामाजिक विकाससम्बन्धी कार्यक्रम गर्नेगरी कार्यक्रम तय गरिएको छ । यसरी कार्यक्रम गर्दा आत्महत्याको दर घटाउन भूमिका खेल्नेछ । यसैगरी पहेंलो र हरियो वृत्तमा पनि कार्यक्रम गर्ने र मानासिक रोग विशषज्ञसंग सहकार्य गरेर कार्यक्रम गर्ने कार्यक्रम प्रहरीले बनाएको छ ।
मनोरोग विशषज्ञको सुझाब
मनोरोग विशषज्ञ डा. मनोज ढुंगानाले आत्महत्याको मूल कारण मानासिक रोगको उपज भएको बताउँछन् । डा. ढुंगानाका अनुसार घरेलु हिंसा, विभिन्न नशालु पदार्थको सेवनले पनि आत्महत्या गर्न गराउन उद्धित गराएको देखिन्छ । ढुंगानाले भने–‘विगतमा मानासिक रोगीहरू खुलेर आउँदैनथे, आजकल खुलेर चिकित्सकसँग परामर्श एवं उपचार गराउन आउँछन् तर मानसिक रोगीहरूको औषधि उपचारमा हामीले अन्य रोगीलाई झै प्रोत्साहन गर्दैनौं । जसको कारण उनीहरू रोग लुकाइरहेका पनि हुन्छन् ।’ मानसिक रोग अन्य रोग जस्तै सामन्य रोग हो भनि मान्छेहरूमा सोंच परिवर्तन गराउनुपर्ने मनोरोग विशषज्ञहरूको धारणा छ । चिकित्सकहरूका अनुसार मानसिक रोगको औषधि सेवन गरिरहेको मान्छेले डाक्टरको सल्लाहबिनै छाडेमा पनि त्यसले मानिसहरूमा पुनः रोग बल्झीने खतरा सृजना हुन गई जीवनमा निराशा सृजना हुने गर्दछ । निराशा, वितृष्णा र चौतर्फी अन्धकार देख्दा मानिसहरू छिनभरमै आत्महत्याको निर्णय गर्न पुग्ने गरेको मनोरोग विशषज्ञको तर्क छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विभागका प्रमुख समेत रहेका मनोरोग विशेषज्ञ सन्दीप सुवेदीले आत्महत्या गर्नेहरूमा पेशागत रूपमा कृषि पेशा गर्नेहरू बढी हुनुको कारण विषादी सहजै पाउनु रहेको बताए । उनले भने–‘जतिपनि आत्महत्या प्रयास गरेर औषधि उपचारकोलागि अस्पतालमा ल्याइएकाहरूको तथ्यांक हेर्ने हो भने बजारमा सहजै पाउने अर्गानो फस्परोस र सल्फासको प्रयोग बढी भएको देखिन्छ ।’
कृषि उपजमा प्रयोग हुने अर्गानो फस्परोस र सल्फासलाई बजारमा सहजै किन्न पाउने र कृषकहरूले घरमा राख्ने गर्दा सामन्य घरझगडा, निराशा तथा तनाब हुँदा उक्त विषादी प्रयोग गर्ने गरिएको देखिन्छ । विज्ञहरूले ती विषादी बजारमा किनबेचमा निषेध लगाउन माग समेत गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले आत्महत्याको संख्या बढ्नुमा कोभिडको कारण एकान्तबास बस्नुपर्दा र आम्दानीका स्रोतहरू बन्द भई आवश्यक्ता पूरा नहँुदा पनि भएको बताउँछन् ।
समाजशास्त्रका जानकार थानेश्वर पान्डेले समाजमा बढ्दै गएको पश्चिमीकरणको प्रभाव र नेपाली समाजले सहजै त्यसलाई ग्रहण गर्न नसक्दा किशोर किशोरीमा अलगावको सृजना हुने गरेको बताए । उनले भने–‘किशोरवास्था त्यसै पनि धेरै चञ्चल स्वभाव हुन्छ, अनि त्यो उमेर समूहकाले धेरै सपना देख्छन्, छिमेकी आफ्नो उमेर समूहले खाएको, लाएको घुमेको, फिल्मी दुनियाँको अनुकरण गर्न थाल्छन् । अविभावकले त्यो सबै खर्च व्यवस्थापन गर्न सक्दैनन् अनि उनीहरूलाई तनाब हुन्छ, तनाब थेग्न नसकि आत्महत्याको बाटो रोज्न पुग्छन् ।’
समाजशास्त्रीहरू समाजमा देखासीकिको कारण धेरै समस्या सृजना भएको बताउँछन् । मान्छेहरूमा बढ्दै गएको अत्याधिक महत्वकांक्षा नै डिप्रेशनको कारण हुने गरेको देखिन्छ ।